+
+
Shares

गृहमन्त्रीको राजीनामाबारे एमाले- आरोपले मात्रै सबै कुरा निर्धारण गर्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताए।
  • उनले सामाजिक सञ्जाल र आम सञ्चार माध्यममा टिप्पणीले निर्णय नहुने र पार्टीले कुनै विशेष निर्देशन नदिएको बताए।
  • पोखरेलले एमालेलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको पार्टी भएको दाबी गरे।

११ जेठ, काठमाडौं । नेकपा एमालेले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपबारे सम्बन्धित निकायले अनुसन्धान गर्ने बताएको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले यसबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताएका हुन् ।

गृहमन्त्री लेखकको राजीनामा बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘आरोपको मात्रै विषयले सबैकुरा निर्धारण गर्दैन । के भएको छ भन्ने कुरा त सम्बन्धित निकायको ध्यान पुगेकै होला नि ? होइन र ?’

पोखरेलले कुनै पनि विषयमा अनुसन्धान र अभियोजन गर्ने निकायहरू रहेकाले ती निकायहरूलाई अनुसन्धान गर्न दिनुपर्ने तर्क गरे । ‘हामी आमसञ्चार माध्यम वा सामाजिक सञ्जालका माध्यमबाट अनुसन्धान अभियोजन गर्ने हक राख्दैनौं,’ उनले भने, ‘राजनीतिक दलहरूले सुशासनका पक्षमा पैरवी गर्दछन् । अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्दछन् । दोषी देखिएहरूका कारबाहीमा पर्दछन् ।’
उनले थपे, ‘सामाजिक सञ्जाल र आम सञ्चार माध्यममा के टिप्पणी भयो भन्ने आधारमा फैसला हुँदैन ।’

उनले सचिवालय बैठकमा पार्टीकै विषयमा मात्र छलफल भएको जिकिर गरे । ‘अहिले हामीले पार्टीकै विषयमा कुरा गरेका छौं । सरकारले गर्ने काम त सरकारले गरिहाल्छ । त्यो विषयमा पार्टीले कुनै विशेष निर्देशन दिएको छैन,’ उनले भने ।

उनले एमालेलाई सुशासन र पारदर्शिताको नमूना पार्टी भएको बताए । ‘म तपाईंहरूलाई सुनाउन चाहन्छु निर्वाचन आयोगमा पार्टीका तर्फबाट प्रस्तुतभित्र हेर्नुभयो भने सबैभन्दा ज्यादा पारदर्शी पार्टी कुन छ आर्थिक रूपमा- नेकपा एमाले,’ उनले भने, ‘सुशासनको प्रश्नमा सबैभन्दा कम आरोप लागेको, प्रमाणित भएको पार्टी र नेतृत्व कसको छ नेकपा एमाले ।’

उनले थपे, ‘कुनै प्रश्न उठ्दा त्यसलाई गम्भीरतापूर्वक लिने पार्टी को छ नेकपा एमाले । त्यसअर्थमा यो नेकपा एमाले सन्दर्भमा यसप्रकारको प्रश्नहरू आवश्यक छ भन्ने लाग्दैन ।’

एमाले भ्रष्टाचारका विरुद्ध र सुशासन, पारदर्शिताको पक्षमा नेपालका राजनीतिक दलहरूमा सबैभन्दा अग्रणी रहेको उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?