+
+
Shares

गीतकार दुर्गालाल श्रेष्ठको नाममा ‘डिजिटल फन्ट’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आनी छोइङ डोल्माको स्वरमा सजिएको ‘फूलको आँखामा फुलै संसार’ गीतलाई लेखेका साहित्यकार तथा गीतकार दुर्गालाल श्रेष्ठको नाममा डिजिटल फन्ट निर्माण गरिएको छ।
  • आनन्द महर्जनले श्रेष्ठको हस्तलिखित अक्षरबाट चार फरक शैलीमा डिजिटल फन्ट तयार पारेका छन्, जुन केही महिना पछि सर्वसाधारण प्रयोग गर्न मिल्नेछ।
  • श्रेष्ठ नेपाली र नेवारी भाषाका सशक्त साहित्यकार हुन् र उनलाई ‘जनकवि’ उपाधि समेत दिइएको थियो।

काठमाडौं । ‘फूलको आँखामा फुलै संसार’ । आनी छोइङ डोल्माको स्वरमा सजिएको यो गीत नसुन्ने सायदै कोही होलान् । यो गीत कालजयी गीतको मिठास आजपर्यन्त छ ।

यो गीतलाई दुर्गालाल श्रेष्ठले लेखेका हुन् । ८९ वर्षिय साहित्यकार तथा गीतकारको नामसँग अब साहित्य र गीत सिर्जना मात्र होइन, ‘डिजिटल फन्ट’समेत जोडिएको छ ।

७० जति बलिउड फिल्म र प्रशस्तै नेपाली फिल्ममा फन्ट र पोस्टर डिजाइन गरिसकेका आनन्द महर्जनले ‘दुर्गालाल श्रेष्ठ’को नाममा आकर्षक र मौलिक डिजिटल फन्ट नै तयार पारेका छन् ।

श्रेष्ठकै हस्तलिखित अक्षरबाट महर्जनसहितको टोलीले अहिले फन्ट निर्माण गरिरहेको छ । श्रेष्ठ र काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलको आग्रहपछि आफूले फन्ट निर्माण थालेको महर्जनले बताए ।

राजधानीमा शनिबार आयोजित समारोहमा फन्ट (लिपि) सार्वजनिक गरियो । पूर्वशिक्षक समेत रहेका दुर्गालाल आफ्ना सुन्दर हस्तलिखित अक्षरले पनि प्रशंसित छन् । उनले आफ्ना गीत र कविता हस्तलिखित अक्षरमै प्रयोग गर्थे ।

श्रेष्ठका हस्तलिखित कविता, पुराना कापी र ब्ल्याकबोर्डमा लेखिएका अक्षरको गहिरो अध्ययनपछि, केही अक्षर फरक-फरक तरिकाले लेखिएको पाइएपछि उनले अक्षरहरूको मौलिकता जोगाउँदै आनन्दले चारवटा फरक संस्करण तयार पारेका छन् । अर्थात, एउटै अक्षरलाई चार शैलीमा डिजाइन गरिएको छ ।

एडोब इलुस्ट्रेटर र ग्ल्प्सि सफ्टवेयरमार्फत महर्जनले यी फन्ट तयार पारेका हुन् । यो फन्ट भने सर्वसाधारणले प्रयोगको लागि केही महिना प्रतीक्षा गर्नुपर्नेछ ।

सन् १९३५ मा जन्मिएका श्रेष्ठ नेपाली र नेपाल भाषा दुवै भाषाका सशक्त साहित्यकार हुन् । २०५९ सालमा नेपाल भाषा परिषदले उनलाई ‘जनकवि’को उपाधि दिएको थियो । उनको साहित्यिक योगदान बालसाहित्य, गीत, कविता र सांस्कृतिक चेतनासम्म फैलिएको छ ।

ग्राफिक डिजाइनर महर्जनले तयार पारेको टाइपोलाई हालै आमिर खानको फिल्म ‘सितारे जमीन पर’ले पनि प्रयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?