+
+
Shares

‘ऊनको स्वीटर’ हेरेपछि एरिक भ्याली : हिमाली संस्कृतिको चित्रण गजब

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सेली निर्देशक एरिक भ्यालीले नेपाली फिल्म ‘ऊनको स्वीटर’को प्रशंसा गरे।
  • उहाँले फिल्मको प्रस्तुतिकरण, पटकथा, छायांकन र अभिनयको सराहना गर्नुभयो।
  • भ्यालीले नेपाली परम्परा र मानवीय प्रेमकथालाई संवेदनशील ढंगले चित्रण गरिएको बताए।

काठमाडौं । अस्कर मनोनित फिल्म ‘क्याराभान’का फ्रान्सेली निर्देशक एरिक भ्यालीले प्रदर्शनरत नेपाली फिल्म ‘ऊनको स्वीटर’को प्रशंसा गरेका छन् । उनले यो फिल्मको प्रस्तुतिकरण, पटकथा, छायांकन र अभिनयको प्रशंसा गरेका छन् ।

आइतबार बेलुका भ्यालीले केही नेपाली सहयोगीसहित न्युरोडको रञ्जना हलमा फिल्म हेरेका थिए । अभिनेता विपिन कार्कीले आफ्नो सामाजिक संजालमार्फत भ्यालीको फिल्म समीक्षाबारेको भिडियो पोस्ट गरेका छन् ।

भिडियोमा निर्देशक भ्यालीले भनेका छन्, ‘यति राम्रो नेपाली फिल्म हेर्न पाउँदा खुसी छु । यो परिवारको कथा हो । नेपाली परम्परा र रितिरिवाजको कथामा बनेको छ । मानवीय स्पर्श गर्ने प्रेमकथा र ड्रामा यसमा छ । सबै कुरालाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ ।’

उनले विशेषगरि, यो फिल्मको पटकथाको प्रशंसा गरेका छन् । उनले पटक-पटक फिल्मलाई ‘मानवीय’ भन्दै प्रशंसा गरेका छन् ।

‘प्रायः नेपाली फिल्ममा राम्रोसँग पटकथा लेखिएको हुँदैन । राम्रो छायांकन र अभिनय यसमा छ’ उनी भन्छन्, ‘संवेदना र मर्मलाई गजबले चित्रण गरिएको छ ।’ उनले हिमालय र संस्कृतिको चित्रणलाई रुचाएका छन् ।

फिल्म हेर्न जान उनले दर्शकलाई आग्रह समेत गरेका छन् । केही दिनअघि अभिनेता विपिनसँग निर्देशक भ्यालीसको भेट भएको थियो । भेटमा पनि यी दुईबीच फिल्मको कुराकानी भएको थियो । उक्त भेटपछि अनलाइनखबरसँग कुरा गर्दै विपिनले भविष्यमा सहकार्य हुनसक्ने सम्भावना औंल्याएका थिए ।

नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । सरकारको अधिकारिक बक्सअफिस अनुसार फिल्मले १५ दिनसम्म ७ करोड १० लाख रुपैयाँ कमाइ गरेको देखिएको छ ।

निर्देशक भ्यालीले पनि हिमाली कथावस्तुमै बनाएको फिल्म ‘हिमालय’ (क्याराभान) अस्करको तत्कालिन विदेशी भाषी विधामा मनोनित भएको थियो । एक फिचर फिल्मको तयारीमा जुटेका भ्याली यसैसाता पेरिसबाट काठमाडौंमा आइपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?