
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री वर्षा शिवाकोटीले धनकुटाको भेडेटारस्थित स्काइवाक अवलोकन गरेकी छन् ।
- स्काइवाकको अनुभव लिन प्रति व्यक्तिको रु ५०० शुल्क तोकिएको छ र यसले करिब १०० जनालाई रोजगारी दिएको छ।
चर्चित अभिनेत्री वर्षा सिवाकोटी धनकुटाको भेडेटारमा रहेको स्काइवाकमा पुगेकी छिन् । उनले स्काइवाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको प्रतिक्रिया दिइन् ।
चलचित्र सुटिङको सिलसिलामा पूर्वको पर्यटकीय गन्तव्य मध्येको भेडेटारमा पुगेका बेला वन्डर्स ग्रुपले सञ्चालन गरेको स्काइवाकमा शिवाकोटी पुगेर मनोरञ्जन लिएकी हुन् ।
वन्डर्स एम्युजमेन्ट पार्कस एण्ड अट्रयाक्सन्स प्रालिले निर्माण एवंम सञ्चालन गरेको स्काइवाक अवलोकन गर्दै सिवाकोटीले खुसी व्यक्त गरिन् । ‘पर्यटनको अथक सम्भावना रहेको मुलुकमा यस्ता खालका संरचनाहरू बन्नु आफैँमा राम्रो हो, ’स्काइवाक अवलोकनपछि शिवाकोटीले भनिन् ‘डाँडामा स्काइवाक बनाएर नयाँ गन्तव्यको रुपमा विस्तार गर्नु आफैँमा सुखद पक्ष हो, सबैले साथ दिनुपर्छ।’
धनकुटाको साँगुरीगढी गाउँपालिका-४ र धरान उपमहानगरपालिका-६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा २० करोड रुपैयाँमा स्काइवाक निर्माण गरिएको हो। स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशन सुनिल भुसालले बताए ।
स्काइवाकबाट भेडेटार बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य तथा चारकोसे झाडी, सानोपाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ। स्काइवाकको अनुभव लिनका लागि प्रतिव्यक्ति रु ५०० शुल्क तोकिएको छ।
स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ भने परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १०० जनाले रोजगारी पाएको सञ्चालकले जानकारी दिएका छन् । यहाँ स्वदेशीसँगै भारतीय र बंगलादेशी पर्यटक पनि आउने गरेको स्काइ वाक भेडेटारका प्रबन्ध निर्देशक सञ्जीव रोक्काले बताए ।
प्रतिक्रिया 4