+
+
Shares

राजावादी प्रदर्शनलाई ठाउँ नदिने सरकारको तयारी, थपियो सुरक्षा चुनौती

तीनकुने घटनाबाट झस्केको प्रहरी एकैदिन दुई पक्षको प्रदर्शन र प्रधानमन्त्रीबाट भड्काउ किसिमको अभिव्यक्ति आएपछि रनभुल्लमा परेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ जेठ १३ गते २१:३३
१५ जेठमा राजावादीहरूले गर्ने प्रदर्शन लक्षित सुरक्षा तयारीबारे जानकारी गराउन ९ जेठमा आयोजित पत्रकार सम्मेलन ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा अनिश्चितकालीन प्रदर्शन गर्ने तयारी गरेका छन् ।
  • काठमाडौंमा प्रदर्शन गर्ने भनिए पनि उनीहरूले अहिलेसम्म प्रशासनसँग अनुमति माग गरेका छैनन् ।

१३ जेठ, काठमाडौं । राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा अनिश्नितकालीन प्रदर्शन गर्ने बताउँदै आएका छन् । काठमाडौंमा प्रदर्शन गर्ने भनिए पनि उनीहरूले अहिलेसम्म प्रशासनसँग अनुमति माग गरेका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्दनेले त १५ जेठदेखिको कार्यक्रम कुनै सभा नभई विद्रोह भएको र विद्रोहका लागि ठाउँ लिनु आवश्यक नै नरहेको बताएका छन् ।

तर, उच्च सरकारी स्रोतबाट प्राप्त सूचनाअनुसार राजावादीहरूलाई प्रदर्शन गर्न ठाउँ नै नतोक्ने सरकारी तयारी छ । ‘उहाँहरू यो व्यवस्था उल्ट्याउन प्रदर्शन गर्ने भन्दै हुनुहुन्छ । यो ठाउँमा प्रदर्शन गरेर व्यवस्था उल्ट्याऊ भनेर ठाउँ दिनु ठिक होइन,’ एक उच्च सरकारी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यहीअनुसार व्यवस्था उल्ट्याउने किसिमका कुनै पनि प्रदर्शन गर्न ठाउँ नतोक्न भनेका छौं ।’

सरकारको यो तयारीबारे पूर्वसूचना पाएरै राजावादीहरूले अहिलेसम्म प्रदर्शनका लागि  प्रशासनसँग ठाउँ मागेका छैनन् । प्रदर्शनका लागि ठाउँ नै नदिएको वा नतोकिएको अवस्थामा गरिएका भड्काउ प्रदर्शनमा भने सुरक्षा निकाय कडा रूपमा प्रस्तुत हुने बताइएको छ । प्रदर्शनका लागि अनुमति समेत नलिएको र व्यवस्था नै उल्टाउने भनेर अराजक प्रदर्शन भएको अवस्थामा स्थिति मुठभेडसम्म जानसक्ने खतरा रहेको सुरक्षाका जानकारहरूको बुझाइ छ ।

एकातर्फ यो अवस्था छ भने अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण समेत १५ जेठको सुरक्षा चुनौती थपिएको छ ।

‘राजावादीहरूले १५ जेठमा गर्ने प्रदर्शन लक्षित सुरक्षा तयारी चुस्त बनाइएको छ । कुनै जनधनको क्षति हुन दिँदैनौं,’ ९ जेठमा प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले भनेका थिए ।

प्रदर्शनमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी चनाखो भएको र सोहीअनुसार सुरक्षा रणनीति समेत बनाएर काम सुरु गरिएको उनको भनाइ थियो ।

उनले राजावादीहरूले १५ जेठबाट काठमाडौं केन्द्रित गर्ने भनिएको आन्दोलन लक्षित ‘सुरक्षा थ्रेट’ विश्लेषण गरेर काम गरिएको बताएका थिए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका एसएसपी रमेश थापाले भने आवश्यकता अनुसार सुरक्षा तयारी गरिएको त्यतिबेला बताएका थिए ।

करिब एक साताअघि नै सुरक्षा तयारी पूरा गरिएको र सोहीअनुसार रणनीति बनाइएको बताएको प्रहरी अहिले भने अन्योलमा परेको छ । १५ जेठको सुरक्षाले सुरक्षा निकायलाई थप चिन्ता थपेको छ ।

सशस्त्र प्रहरी बलका पूर्वडीआईजी माधव थापा भन्छन्- दुई पक्षको एकै समयमा, एकै क्षेत्रमा प्रदर्शन हुने भएपछि सुरक्षा संवेदनशीलता स्वाभाविक रूपमा बढ्छ । उच्छृङ्‍खल गतिविधि गर्ने व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ । नत्र स्थिति मुठभेडमा जान सक्छ ।

प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी, कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ, त्यसलाई छाडिदिनुस्’ भन्ने अभिव्यक्ति दिएपछि सुरक्षा निकायहरू अहिले रनभुल्लमा परेका छन् ।

ओलीले एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका थिए ।

ओलीको यो बोलीलाई राजावादी मात्रै नभएर मानव अधिकार आयोग र सत्तारुढ दलकै नेताहरूले समेत विरोध गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीले स्थिति भड्काउन खोजेको अभिव्यक्ति दिएका छन् ।

मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले भने, ‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दैछन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो ।’

ओलीको यो बोलीको प्रत्यक्ष असर भने सुरक्षासँग जोडिएको छ । नेपाल प्रहरीका एक उच्च अधिकृत प्रधानमन्त्रीबाटै यो तहको अभिव्यक्ति आउनु सुरक्षाका हिसाबले संवेदनशील रहेको बताउँछन् । ‘उहाँ जुन हिसाबले बोल्नुभयो, सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील विषय हो । यस्ता विषयमा बोल्दा विचार गरेको भए राम्रो हुन्थ्यो,’ ती अधिकृत भन्छन् ।

पहिला राजावादीहरूले मात्रै प्रदर्शन गर्ने भएपछि सोही अनुसारको सुरक्षा तयारी प्रहरीले गरेको थियो । तर अहिले एमालेले पनि प्रदर्शन गर्ने बताएपछि अर्को हिसाबले सुरक्षा रणनीति बनाउनुपर्ने अवस्था आएको प्रहरी अधिकृतहरू बताउँछन् ।

तर, अहिलेसम्म दुवै पक्षबाट प्रदर्शन गर्नेबारे कुनै औपचारिक पत्र वा जानकारी भने नआएको प्रशासनले बताएको छ । जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहरा औपचारिक रूपमा दुवै पक्षबाट १५ जेठमा प्रदर्शन गर्ने भन्ने जानकारी अहिलेसम्म नआएको बताउँछन् ।

‘अहिले हामी आफ्नो ढंगले सुरक्षा विश्लेषण गरिरहेका छौं । निगरानी बढाएका छौं । सोही अनुसारको आन्तरिक तयारी गरेका छौं । प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर काम गरिरहेका छौं,’ एसपी बोहराले अनलाइनखबरसँग भने ।

दुई पक्षको एकै समयमा, एकै क्षेत्रमा प्रदर्शन हुने भएपछि सुरक्षा संवेदनशीलता स्वाभाविक रूपमा बढ्ने जानकारहरू बताउँछन् । भिड नियन्त्रणबारे राम्रो जानकारी भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी माधव थापा दुई पक्षले एकै पटक प्रदर्शन गर्दा सुरक्षा चुनौती बढ्ने भएकाले सोही अनुसारको तयारी गर्नुपर्ने बताउँछन् ।

लामो समय भिड नियन्त्रणमा खटिएका थापा भन्छन्, ‘सुरक्षा निकायले यो सरकार पक्षको प्रदर्शन, त्यो विपक्षको प्रदर्शन नभनी समान व्यवहार गरेर काम गर्नुपर्छ । जताबाट भए पनि उच्छृङ्‍खल गतिविधि गर्ने व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ । होइन भने स्थिति मुठभेडमा पनि जान सक्छ ।

एमाले नेता मनमोहन अधिकारीको ९ महिने सरकारका पालामा पनि कांग्रेस र एमालेले एकै पटक प्रदर्शन गरेको सम्झँदै थापा थप्छन्, ‘त्यतिबेला म आफैं फिल्डमा खटिएको थिएँ ।

एक समूहलाई रत्नपार्कबाट पूर्व र अर्को समूहलाई पश्चिमतर्फ प्रदर्शन गर्न दियौं । हामीले पूरै बेरा लागेर सुरक्षा दिएका थियौं । दुई समूहलाई भेटै हुन नदिएपछि दुर्घटना हुन पाएन । त्यतिबेला ठूलो संख्यामा प्रदर्शनकारीको उपस्थिति थियो ।’

अहिले पनि प्रदर्शन गर्ने दुई समूहलाई भेट हुन नदिने रणनीति सुरक्षा निकायले बनाउनुपर्ने उनको सुझाव छ । अब भने कमान्ड पोस्ट खडा गरेर त्यहाँ सुरक्षा निकाय मात्रै होइन, सीडीओलाई समेत सँगै राखेर काम गर्नुपर्ने सुझाव जानकारहरू दिन्छन् ।

१५ जेठमा तीनकुनेमा भएको राजावादी प्रदर्शनबाट सुरक्षा निकाय सशंकित बनेको छ ।

‘कमान्ड पोस्ट खडा गरेर त्यहाँ प्रहरी मात्रै होइन, सीडीओलाई पनि राख्नुपर्छ । भिडको भर हुँदैन, जतिबेला, जे-सुकै हुनसक्ने भएकाले गोली चलाइहाल्नुपर्‍यो भने कमान्ड पोस्टमै भएका सीडीओले तत्काल निर्देशन दिन सकुन्,’ पूर्वडीआईजी थापा भन्छन् ।

१५ जेठमा तीनकुनेमा भएको राजावादी प्रदर्शनबाट सुरक्षा निकाय सशंकित बनेको छ । तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा व्यक्तिको घर जलाउने तोडफोड, आगजनी गर्नेसम्मका घटना भएका थिए । एक पत्रकार र एक प्रदर्शनकारीको ज्यान समेत गएको थियो । सुरक्षा निकायको गोली लागेर २० जना प्रदर्शनकारी घाइते भएका थिए ।

त्यो घटनामा सुरक्षा निकायबीच नै तादम्य मिलेको देखिएको थिएन । प्रमुख जिल्ला अधिकारी (सीडीओ)सँगको समन्वयमा समेत अभाव खड्किँदा गम्भीर सुरक्षा चुक भएको थियो ।

तीनकुने घटनाबाट झस्केको प्रहरी अहिले फेरि एकै दिन दुई पक्षले प्रदर्शन गर्ने र त्यसमाथि प्रधानमन्त्रीबाट भड्काउ किसिमको अभिव्यक्ति आएपछि रनभुल्लमा परेको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?