+
+
Shares

राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद पुगेपछि…

राष्ट्रियसभाको बैठक चलिरहँदा प्रतिनिधिसभा सदस्यहरू सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई, प्रभु हजारा र सराज अहमद फारूकीले दर्शकदीर्घामा उपस्थित भई त्यहाँको काम कारबाहीको प्रत्यक्ष अवलोकन गरेका हुन् ।

रासस रासस
२०८२ जेठ १४ गते १६:०९
राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाका सांसद सुहाङ नेम्वाङ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक विरोधका कारण अवरोध भएपछि स्थगित भयो।
  • सांसदहरूले राष्ट्रियसभाको बैठक अवलोकन गर्न गए र काम कारबाहीको जानकारी लिइन्।
  • राष्ट्रियसभा र प्रतिनिधिसभाको काम कारबाही नियमित र उस्तै भए पनि माथिल्लो सदन थप व्यवस्थित मानिन्छ।

१४ जेठ, काठमाडौँ। ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाए ।

बिहान ११:०० बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरू भयो । सभामुख देवराज घिमिरेले बैठक सुरू भए लगत्तै विपक्षी दलले पुनः विरोध जनाए ।

बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भयो । बैठक स्थगन भएपछि सांसदहरूले फुर्सद पाए । केही सांसद सञ्चारकर्मीलाई प्रतिक्रिया दिन थाले भने कोही आपसमा छलफल गर्न थाले ।

कोही सांसद चमेनागृहमा चिया पिउन गए भने केही नियमित काम भन्दै सिंहदरबारतर्फ लागे । प्रतिनिधिसभाको बैठक अवरोधपछि स्थगित भएसँगै प्रतिनिधिसभाका केही सांसद भने राष्ट्रियसभाको बैठक अवलोकन गर्न पुगे ।

राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे नै सुरू भएको थियो । तल्लो सदनमा अवरोध भए पनि माथिल्लो सदन नियमित चल्यो । फुर्सदको सदुपयोग गर्दै प्रतिनिधिसभाका केही सदस्यहरू माथिल्लो सदनमा उपस्थित भएको दृश्य प्रत्यक्ष प्रसारणमा पनि देखियो ।

प्रतिनिधिसभा सदस्यहरू राष्ट्रियसभाको नियमित बैठक कक्षमा नभई दर्शकदीर्घामा उपस्थित भएका थिए । प्रतिनिधिसभा सदस्यहरू राष्ट्रियसभाको दर्शकदीर्घामा उपस्थित भई त्यहाँको काम कारबाहीको प्रत्यक्ष अवलोकन गरेका हुन् ।

राष्ट्रियसभाको बैठक चलिरहँदा सांसदहरू सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई, प्रभु हजारा र सराज अहमद फारूकीको दर्शकदीर्घामा उपस्थित थियो । यो दृश्य देखेपछि सांसद नेम्वाङलाई सञ्चारकर्मीहरूले सोधे -राष्ट्रियसभामा तपाईहरू किन जानुभएको ? उनले संक्षिप्त जवाफ दिँदै भने, ‘माथिल्लो सदनमा के कसो हुँदो रहेछ भनेर जानकारी लिन गएका हौं।’ उनले माथिल्लो सदनको नियमित काम कारबाही र गतिविधिका बारेमा जानकारी लिने उद्देश्यका साथ गएको प्रतिक्रिया दिए ।

माथिल्लो सदनमा के कसो हुँदो रहेछ भनेर जानकारी लिन गएका हौं।- प्रतिनिधि सभा सांसद, सुहाङ नेम्वाङ 

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा छन् । राष्ट्रियसभा स्थायी सदन हो भने प्रतिनिधिसभाको कार्यकाल भने पाँच वर्षको रहन्छ । संविधानतः दुवै सदन एक अर्काका परिपूरक पनि हुन् । सरकारको नीति तथा कार्यक्रम र बजेट भने संयुक्त सदनमा प्रस्तुत हुन्छ ।

यस्तै, अर्का सांसद सराज अहमद फारूकीले पनि नियमित काम कारबाहीको बारेमा जानकारी लिने उद्देश्यले राष्ट्रियसभामा गएको बताए । ‘हामीले धेरै पहिलेदेखि नै माथिल्लो सदनको काम कारबाहीको बारेमा जानकारी लिने इच्छा राखेका थियौँ । त्यो आज पूरा भयो’, उनले भने ।

फुर्सदको समयलाई सदुपयोग गरेर दर्शकदीर्घामा नै बसेर राष्ट्रियसभाको बैठकका बारेमा जानकारी लिएको उनले जानकारी दिए । उनले राष्ट्रियसभाको बैठक र सञ्चालन तरिका भने प्रतिनिधिसभाको जस्तै भए पनि रमाइलो लागेको बताए ।

प्रतिनिधिसभाका चार जना सांसद दर्शकका रूपमा उपस्थित हुँदा राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राख्दै थिए । सांसद फारूकीले आफूहरू केही समय राष्ट्रियसभा बैठकको प्रत्यक्ष जानकारी लिई बाहिरिएको बताए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको काम कारबाही नियमित र उस्तै रहने गर्छ । यद्यपि बहस छलफलका हिसाबले तल्लो सदनभन्दा माथिल्लो सदन थप व्यवस्थित मानिन्छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?