+

को बन्दैछन् महिला फुटबल टिमको नयाँ प्रशिक्षक ? तामाङ सहायक प्रशिक्षक हुने

२०८२ जेठ  १४ गते २१:२१ २०८२ जेठ १४ गते २१:२१

नेपालले एएफसी महिला एसियन कप विदेशी प्रशिक्षककै प्रशिक्षणमा खेल्नेछ भने त्यो समयमा हालका प्रशिक्षक राजेन्द्र तामाङ महिला टोलीको सहायक प्रशिक्षकको रुपमा रहने छन् ।

को बन्दैछन् महिला फुटबल टिमको नयाँ प्रशिक्षक ? तामाङ सहायक प्रशिक्षक हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबल टिमले छिट्टै नयाँ विदेशी प्रशिक्षक पाउनेछ।
  • एन्फाले अन्तिम दुई प्रशिक्षकको नाम सर्टलिस्ट गरेको छ, जसमा एक पुरुष र एक महिला छन्।
  • नेपालले २०२६ का महिला एसियन कपको लागि छनोट प्रतियोगिता तयारी गरिरहेको छ।

१४ जेठ, काठमाडौं । नेपाली महिला फुटबल टिमले केही दिनपछि नयाँ विदेशी प्रशिक्षक पाउँदैछ । र ती प्रशिक्षक नेपाली महिला टिमको पहिलो प्रो लाइसेन्स प्राप्त विदेशी प्रशिक्षक हुनेछन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टिम थाइल्याण्डसँग मैत्रीपुर्ण खेल खेल्न बुधबार थाइल्याण्डतर्फ प्रस्थान गरिसकेको छ र यस टिमको मुख्य प्रशिक्षकमा नेपालकै राजेन्द्र तामाङ छन् । उनी पछिल्लो समय एक वर्ष भन्दा बढी समय महिला टिमको प्रशिक्षकको रुपमा छन् ।

तर एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टोली थाइल्याण्डबाट टिम फर्कँदा भने नयाँ विदेशी प्रशिक्षक पाउनेछ ।

एन्फा प्रवक्ता सुरेश शाहले नेपाली महिला टोलीले छिटै नयाँ विदेशी प्रशिक्षक पाउने अनलाइनखबरलाई बताए । ‘महिला टिमले छिट्टै विदेशी प्रशिक्षक पाउनेछ । चाँडै घोषणा हुनेछ’ शाहले भने ।

शाहका अनुसार नेपालले एएफसी महिला एसियन कप विदेशी प्रशिक्षककै प्रशिक्षणमा खेल्नेछ । त्यो समयमा राजेन्द्र तामाङ महिला टोलीको सहायक प्रशिक्षकको रुपमा रहने शाहले बताए ।

यसअघि पुरुष टिममा पनि प्रवेश कटुवाल अन्तरिम मुख्य प्रशिक्षक बनेर विदेशी प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको आगमनपछि राष्ट्रिय टिमको सहायक प्रशिक्षक बनेका थिए ।

को को छन् दाबेदार ?

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वैशाख ८ गते महिला टिमका लागि नयाँ प्रशिक्षकको आवेदन खुलाएको थियो । जहाँ महिला टिमको प्रशिक्षक बन्न प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्ने योग्यता तोकिएको थियो ।

यस्तै ती प्रशिक्षकलले सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टिम सम्हालिसकेको हुनुपर्ने पनि एन्फाले जनाएको थियो । साथै कम्तिमा दुई वर्षको अनुभव भएको र ट्याक रेकर्ड पनि राम्रो भएको प्रशिक्षक हुनुपर्ने एन्फाले जनाएको थियो ।

त्यसमा नेपाली महिला टिमको मुख्य प्रशिक्षक बन्नका लागि २१ जनाले आवेदन हालेका थिए । त्यसमा नेपाली मुलका अमेरिकन प्रो लाइसेन्स प्रशिक्षक प्रदिप हुमागाईँले पनि आवेदन दिएको घोषणा गरेका थिए ।

तर एन्फाको प्रशिक्षक छनोट समितिले भने अन्तिम दुई जनाको नाम सर्टलिस्ट गर्दा हुमागाईँको नाम समावेश गरेको छैन । अनलाइनखबरलाई प्राप्त सूचना अनुसार एन्फाले दुवै विदेशी प्रशिक्षकलाई अन्तिम दुई जनाको सूचीमा छनोट गरेको छ । त्यसमा एक पुरुष र एक महिला छन् ।

दुवै प्रशिक्षकसँग नेपालमा भएको कुने प्रतियोगिताको खेलमा टिमलाई प्रशिक्षण दिएको अनुभव भने छ । एन्फा प्रवक्ता सुरेश शाहले पनि अन्तिम सर्टलिस्टमा दुई विदेशी प्रशिक्षको नाम रहेको जानकारी दिए । उनले प्रशिक्षकको नाम छिटै घोषणा हुने बताए ।

दोस्रो विदेशी प्रशिक्षक

अब नियुक्त प्रशिक्षक नेपाली महिला टिम सम्हाल्ने दोस्रो विदेशी प्रशिक्षक हुनेछन् । यसअघि एन्फाले सन् २०२१ मा पहिलो पटक महिला राष्ट्रिय टिममा विदेशी प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यतिबला नेपालको टेक्निकल डिरेक्टर समेत रहेका अष्ट्रेलियन ग्यारी फिलिप्स नेपाली महिला टिमको प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा त्यो बेला नेपाली महिला टिमले महिला एसियन कप छनोट खेलेको थियो ।

तर नेपाली टोली छनोटको समूह चरणबाटै बाहिरिँदा सन् २०२२ मा भरातमा भएको महिला एसियन कपमा छनोट हुन सकेन ।

यस पटक नेपाली महिला टिमले एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्य राखेको छ । त्यही अनुसार एन्फाले प्रो लाइसेन्स प्राप्त विदेशी प्रशिक्षक नियुक्त गर्न लागेको हो ।

सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपको लागि आगामी जुन-जुलाईमा छनोट प्रतियोगिता हुँदैछ ।

त्यसमा नेपाल समूह एफमा छ । यस समूहमा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । यस समूहको खेलहरु उज्वेकिस्तानमा हुनेछ ।

नेपालले पहिलो खेल लाओससँग जुन २९ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल श्रीलंका जुलाई २ मा खेल्नेछ भने समूहको अन्तिम खेल घरेलु टोली उज्वेकिस्तानसँग जुलाई ५ मा खेल्नेछ ।

नेपालको लागि उज्वेकिस्तान सबैभन्दा बलियो प्रतिद्वन्दी हुनेछ । फिफा वरियतामा उज्वेकिस्तान ५०औं स्थानमा छ भने नेपाल ९९औं स्थानमा छ । लाओस (१०७) र श्रीलंका (१३२) नेपाल भन्दा पछि छन् ।

यस समूहको शीर्ष स्थानमा रहने टोली महिला एसियन कपमा छनोट हुनेछ । समूह विजेता मात्र एसियन कप पुग्ने भएकोले नेपालका लागि घरेलु टोली उज्वेकिस्तानको चुनौती पार गर्नु मुख्य चुनौती हुनेछ ।

थाइल्याण्ड जानुअघि प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्डसँगको दुई खेलले महिला एसियन कप छनोटका लागि सहयोग पुग्ने अनलाइनखबरसँगको कुराकानीमा बताएका थिए ।

उनले थाइल्याण्ड विश्वकप खेलिसकेको अनुभवी टिम भएकोले यस टिमसँग खेल्दा नेपालले आफ्नो बलियो र कमजोरी पक्ष थाहा पाउने अवसर मिल्ले बताएका थिए ।

नेपाली महिला फुटबल टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय