
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बजेटले अर्थतन्त्रमा सुधार ल्याउन नसक्ने बताए।
- उनीहरूले आम्दानीको स्रोत कम र घाटाको बजेटले अर्थतन्त्रको अप्ठ्यारो फुकाउन नसक्ने बताएका हुन्।
- पाण्डेले बजेट अलिअलि पपुलिस्ट र सुधारको अभाव भएको टिप्पणी गरे।
१५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारको बजेटले अर्थतन्त्रमा सुधार ल्याउन नसक्ने बताएका छन् ।
आकार बढाएर ल्याइए पनि आम्दानीको स्रोत कम भएकाले यो बजेटले अहिलेको अर्थतन्त्रमा सुधार आउन नसक्ने पाण्डेले बताएका हुन् ।
‘आम्दानीको स्रोत कम छ । झण्डै–झण्डै ५ खर्ब घाटाको बजेट आयो’, उनले अनलाइनखबरसँग भने, ‘अहिले नै राजश्व राम्रोसँग उठिरहेको छैन । उठिरहेको राजस्वले धान्न सक्ने स्थिति छैन ।’
महँगी भत्ता बढाउने निर्णयकै भार समेत थेग्न मुस्किल पर्नेगरी आएको बजेटले अर्थतन्त्रको अप्ठ्यारो फुकाउन नसक्ने उनी बताउँछन् । ‘बजेटले अर्थतन्त्रमा रहेको अप्ठ्यारो फुकाउने देखिएन । सुधार ल्याउनेगरी बजेट आउनुपर्थ्यो । जस्तो कयौं संस्थानमा छन्, घाटामा चलिरहेका छन् । त्यस्तालाई बन्दै गर्ने निर्णय गर्नुपर्थ्यो’, पाण्डे भन्छन् ।
पूर्वमुख्यमन्त्री पाण्डेले बजेटबारे अनलाइनखबरसँग दिएको प्रतिक्रियाः
यो बजेट अलिअलि पपुलिस्ट हिसाबको पनि छ । जे–जे कुरा गरिएको छ, त्यस अनुसार आम्दानीको स्रोत छैन । जनता झुक्याउनलाई मात्रै भनिएको छ । मुख्यकुरो आम्दानीको श्रोत कम छ । झण्डै झण्डै ५ खर्ब घाटाको बजेट आयो ।
अहिले नै राजश्व राम्रोसँग उठिरहेको छैन । उठिरहेकोे राजश्वले धान्न सक्ने स्थिति छैन । राष्ट्र सेवकहरुलाई मँहगी भत्ता भनिएको छ । त्यो पनि सरकारलाई भारी हुन्छ । किनकि महँगी भत्ता पाउे सेना, प्रहरी, निजामति लगायतले पाउने रकम ठूलो हुन्छ, त्यसले भार थप्छ ।
खर्च बचाउन भनेर जेष्ठ नागरिकको उमेर सीम ६८ वर्षबाट बढाएर ७० मा लगियो, यसले केही लाख मान्छे घट्ने भयो । यो शीर्षकबाट अलिकति खर्च बच्नेछ ।
बजेटले अर्थतन्त्रमा रहेको अप्ठ्यारो फुकाउने देखिएन । सुधार ल्याउनेगरी बजेट आउनुपर्थ्यो । जस्तो कयौं त्यस्ता संस्थानमा छन्, जो घाटामा चलिरहेका छन् । त्यस्तालाई बन्दै गर्ने निर्णय गर्नुपथ्र्यो ।
प्राथमिकताका हिसाबले राष्ट्रिय महत्वका परियोजनालाई पनि छान्न सकेको देखिएन । बहुउद्देश्य बूढी गण्डकी परियोजनामा राज्यको एक खर्ब जति सकिएको छ । तर यो परियोजनामा बजेटको सुनिश्चतता गरिएन, बजेट विनियोजन गरिएन । फास्ट ट्याकलाई २१ अर्ब राखिएको छ, त्यो ठीकै हो ।
समग्रमा लिरिङखरिङ बजेट आयो, वर्तमान परिस्थितिलाई सम्बोधन गर्न सक्ने देख्दिनँ ।
प्रतिक्रिया 4