
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले २०८२/८३ को बजेटमा कोशी प्रदेशको पूर्वाधार, पर्यटन, खेलकुदलाई प्राथमिकता दिएको छ।
- बजेटले विराटनगरमा रंगशाला, झापामा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला, र सोलुखुम्बुमा हाई अल्टिच्यूट स्पोर्टस स्टेडियम निर्माणलाई समेटेको छ।
- पूर्वपश्चिम राजमार्ग, रेलमार्ग, र सडक विस्तार, विमानस्थल क्षमता विस्तार र जलन अस्पताल निर्माण योजनामा बजेटले ध्यान दिएको छ।
१५ जेठ, विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कोशी प्रदेशको विभिन्न क्षेत्रलाई समेटेको छ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा पूर्वाधार,पर्यटन, खेलकुदलगायत क्षेत्रमा कोशी प्रदेशलाई सम्बोधन गरेको छ ।
बजेटले विराटनगरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला रंगशालालाई सम्बोधन गरेको छ । झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक रङ्गशाला निर्माण गर्ने विषय बजेटमा समेटिएको छ । सोलुखुम्बुमा ‘हाई अल्टिच्यूट स्पोर्टस स्टेडियम’ निर्माण गर्ने योजना बजेटमा छ ।
रानी विराटनगर इटहरी हुँदै किमाथाङ्का जोड्ने व्यापारिक मार्गलाई बजेटले समेटेको छ । पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडक चार लेन स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ ।
पूर्वपश्चिम रेलमार्गका लागि काँकडभिट्टा-इनरुवासम्मको खण्डमा रोक्का राखिएको जग्गा भने फुकुवा भएको छ । रेल मार्ग निर्माणका लागि पाँच वर्ष अघि यो क्षेत्रको जग्गा रोक्का राखिएको थियो ।
कोशी कोरीडोरको विस्तार, अरुण कोरिडोरअन्तर्गत चतरा–लेगुवा सडक निर्माण, तमोर कोरिडोर र मेची राजमार्ग बजेटमा परेको छ । धरान-लेउती सुरुङ मार्ग पनि बजेट प्राथमिकतामा परेको छ । झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने पुष्पलाल मार्गले पनि बजेटमा स्थान पाएको छ ।
झापाको भद्रपुर र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तारका लागि बजेटको प्राथमिकतामा परेको छ । यो बजेटले विराटनगर विमानस्थलको क्षमता विस्तारका लागि भने सम्बोधन गरेन । तेह्रथुमको चुहानडाँडा र उदयपुरको सगरमाथा विमानस्थलका सम्भाव्यता अध्ययन गर्ने योजना पनि बजेटमा छ ।
कोश टप्पुदेखि सगरमाथा र केचना–पाथीभरासम्म पदमार्गले पनि बजेटमा प्राथमिकता पाएको छ । सरकारले प्रत्येक प्रदेशमा जलन अस्पताल निर्माण गर्ने भनेको छ । यो योजना कार्यान्वयन भए कोशमा पनि जलन अस्पताल बन्नेछ । झपामा पेट्रोलिम पाइपलाइन निर्माण पनि बजेटमा समेटिएको छ ।
प्रतिक्रिया 4