+
+
Shares

पहिलो वरीयताका गिरीलाई छाड्दै एआईजीमा ठाडामगरको बढुवा सिफारिस

सशस्त्र प्रहरी बलको भावी नेतृत्वसँग जोडिएको कारण लामो समयदेखि एआईजी बढुवामा सिफारिस हुन सकेको थिएन । अन्ततः बुढानीलकण्ठबाटको चाहनामा पहिलो नम्बरका कमल गिरीलाई पछि पार्दै गणेश ठाडामगर एआईजीमा बढुवाका लागि सिफारिस भएको स्रोतको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते २२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक पदको बढुवामा डीआईजी गणेश ठाडामगरलाई सिफारिस गरिएको छ।
  • बढुवाका लागि प्रतिस्पर्धामा रहेका गिरी र ठाडामगरबीच मुख्य प्रतिस्पर्धा भएको थियो।
  • ठाडामगर अब भावी आईजीपीको मुख्य दाबेदार हुने सम्भावना रहेको छ।

१६ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पद बढुवाका लागि दोस्रो नम्बरमा रहेका डीआईजी गणेश ठाडामगर सिफारिस भए ।

बिहीबार बढुवा सिफारिस समितिले ठाडामगरलाई एआईजी बढुवाका लागि सिफारिस गर्‍यो । बढुवाका लागि पहिलो नम्बरका डीआईजी कमल गिरी, ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत थिए ।

तर उनीहरुलाई पछि पार्दै दोस्रो नम्बरका ठाडामगर एआईजीमा सिफारिस भए । एआईजी बढुवामा पहिलो नम्बरका डीआईजी गिरी र दोस्रो नम्बरका ठाडामगरबीच मुख्य प्रतिस्पर्धा थियो ।

गिरीलाई सत्ताको नेतृत्व गरेको दल एमालेले एआईजी बनाउन चाहेको थियो । ठाडामगर भने कांग्रेसमार्फत बढुवाका लागि लविइङमा थिए । दुई शक्तिकेन्द्रबीच रस्साकस्सी हुँदा डेढ महिनासम्म एआईजी बढुवा सिफारिस हुन सकेको थिएन ।

बिहीबार बिहान बुढवा सिफारिस समितिको बैठक बसेको थियो । त्यतिबेलासम्म एआईजी बढुवामा सिफारिस टुंगोमा पुग्न सकेन । कांग्रेस र एमाले आ–आफ्नो अडानमा थिए ।

बुढानीलकण्ठबाट दबाब आएपछि बिहीबार साँझ पुनः बढुवा सिफारिस समितिको बैठक बसेर ठाडामगरलाई सिफारिस गरेको स्रोतले बतायो ।

‘पहिलादेखि नै उहाँहरूबीच चर्को प्रतिस्पर्धा थियो । आ–आफ्नो ठाउँबाट लविइङ पनि हुने भयो । अन्ततः दोस्रो नम्बरका ठाडामगर बढुवा हुन सफल हुनु भयो,’ सशस्त्र प्रहरी स्रोत भन्छ ।

ठाडामगर एसएसपीसम्म पहिलो नम्बरमा थिए । एसएसपीबाट डीआईजी बन्ने बेला उनी दोस्रो नम्बर पुगे र पहिलो नम्बरमा कमल गिरी पुगे । उनले अहिले पहिलो नम्बरका गिरीलाई उछिन्दै बढुवामा बाजी मारे ।

ठाडामगर अब भावी आईजीपीका मुख्य दाबेदार हुने पक्का भएको छ । अहिलेकै अवस्था अनुसार उनी २०८४ मा आईजीपी बन्ने प्रबल सम्भावना छ ।

विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ । अहिलेकै व्यवस्थाअनुसार उनीहरू जो आईजीपी भए पनि २२ महिना कमाण्ड गर्नेछन् ।

१८ चैत २०५४ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि भने अहिले एआईजीमा बढुवा भएका ठाडामगर सबैभन्दा सिनियर एआईजी हुने भएकाले संगठन प्रमुख बन्ने सम्भावना बलियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?