
१८ जेठ, काठमाडौं । नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन् । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीका स्रोत सरसफाइ गर्दछन् ।
भक्तपुरका नेवार समुदायले आज बिहानैदेखि सरसफाइमा व्यस्त देखिए ।
वर्षातको बेला बगेर आउने भेल र फोहर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु सिथि नखः पर्वको विशेषता हो ।
सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व छ । यो चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडका रूपमा पनि मनाइन्छ ।
भगवान कुमारको जन्मदिनसमेत भएकाले यस दिन नेवार समुदायले कुमारको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारका पकवान बारा पकाएर खाने चलन छ ।
यस दिन बारा, चटामरी लगायत पकवान खानाले तागत बढ्ने र वर्षायाममा धानखेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ ।
सिथि नखःको दिन किसानले खेतबारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता समेत छ ।
प्रतिक्रिया 4