
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल समुद्रपार निकासी पैठारी संघले २०८२/८३ को बजेटलाई सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।
- संघले मूल्य अभिवृद्धि कर, भन्सार मूल्यांकन र व्यापार सहजता सम्बन्धी प्रावधानहरूलाई समर्थन गरेको छ।
१८ जेठ, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई सकारात्मक भनेको छ ।
बजेट र यससँगै आउने आर्थिक अध्यादेशमार्फत निजी क्षेत्रको चासोका थुप्रै विषयलाई सम्बोधन गरिनु र निजी क्षेत्रलाई अर्थतन्त्रको चालक शक्तिको रूपमा स्वीकार गरेर सहकार्य गर्ने घोषणा गर्नुलाई यस संघले सकारात्मक भनेको हो ।
यसपालिको बजेटमार्फत संघले लामो समयदेखि उठाउँदै आएको मूल्य अभिवृद्धि करको बहुदरका विषयमा अध्ययन गरिने र आयातकर्ता व्यापारीको ठूला चासोमध्येको एक भन्सार मूल्यांकनलाई यथार्थपरक बनाउने घोषणा गरिएको संघले जनाएको छ ।
भन्सार कार्यालयहरुले अभ्यास गर्दै आएको सन्दर्भ मूल्यसूची (डाटाबेस) लाई अन्तर्राष्ट्रिय मूल्य प्रवृत्तिको डाटाबेसका आधारमा स्वचालित मूल्यांकन प्रणालीले विस्थापित गर्ने घोषणाले व्यापार सहजीकरणको लक्ष्य प्राप्तिमा योगदान गर्ने अपेक्षा संघको छ ।
त्यसैगरी यस संघको माग बमोजिम खाद्यान्न, गेडागुडी, फलफूल, वनस्पति र पशुजन्य पदार्थ आयातमा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकर खारेज भएको समेत बताएको छ ।
एक्जिम कोड लिँदा राख्नु पर्ने बैंक ग्यारेन्टी खारेज गर्नुपर्ने यस संघको माग पनि यो बजेटले सम्बोधन गरेको बताएको छ । करदाताले करयोग्य कारोबार नगरेको अवस्थामा समेत न्यूनतम कर तिर्नुपर्ने व्यवस्था खारेजी बजेटको अर्को सकारात्मक पक्ष रहेको संघको तर्क छ ।
त्यसैगरी नेपाली व्यवसायीलाई विदेशमा लगानी गर्न अनुमति दिने घोषणा, सेजको जग्गा भाडा कटौती, उत्पादनको ३० प्रतिशतभन्दा बढी निकासी गर्ने उद्योगलाई सेजको सरह सुविधा दिने घोषणा, विद्युतीय सवारीसाधन सम्बन्धी नीति, हवाई र स्थलमार्गबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई भन्सार बिन्दुमा घोषणा गरेर ल्याउने ५ हजार अमेरिकी डलरभन्दा बढी रकमको हकमा सहजीकरण गर्ने घोषणाले अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने संघको ठहर छ ।
सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिने व्यवस्था र आय विवरण पेश नगरेका करदातालाई कार्यालयबाट गरिएको संशोधित कर निर्धारणबाट सिर्जित बक्यौता फरफारक गर्ने मौका दिने घोषणालाई पनि संघले सकारात्मक रुपमा लिएको छ ।
यति हुँदाहुँदै पनि चोरी पैठारीको उच्च सम्भावनालाई नजरअन्दाज गर्दै मदिरा आयातमा लाग्ने महसुल १०० देखि २०० प्रतिशतसम्म बढाउनु यो बजेटको निकै कमजोर पक्ष भनेको छ ।
साविककै अवस्थामा खुला सिमानाबाट डरलाग्दो किसिमले अनधिकृत आयात भइरहेको वस्तुमा लाग्ने शुल्क र महसुल १०० देखि २०० प्रतिशतसम्म वृद्धि गर्दा छिमेकी भारत र नेपालमा मदिराको मूल्य अन्तर झन् फराकिलो बनेको छ, जसले अवैध कारोबारलाई प्रोत्साहित गरी नियमसम्मत कारोबार र राजस्वमा कमी ल्याउने संघको भनाइ छ ।
आर्थिक गतिविधि शिथिल भएको बर्तमान अवस्थामा सर्वसाधारणको क्रयशक्ति बढाउन आयकर नलाग्ने सीमा वृद्धि र व्यक्तिगत आयकरको दर घटाउनु अनिवार्य रहेको भन्दै संघले त्यसतर्फ पनि बजेटले ध्यान पुर्याउन नसकेको बताएको छ । राजस्व प्राप्तिको लक्ष्य अघिल्लो वर्षको तुलनामा कम राखिनु सकारात्मक हुँदा हुँदै पनि यसपालिको बजेटले राखेको लक्ष्य प्राप्ति चुनौतीपूर्ण रहेको बताएको छ ।
अस्थायी रूपमा नेपाल प्रवेश गर्ने ढुवानी साधनमा रुट दस्तुर, प्रवेश शुल्क वा अन्य कुनै प्रकारको महशुल असुल्न नपाइने व्यवस्था र आधिकारिक व्यावसायिक व्यक्ति छनोट गरी त्यस्ता व्यक्तिले निकासी पैठारी गर्दा द्रुत मार्गको सुविधा तथा व्यावसायिक स्थलमै मालवस्तु परीक्षण सेवा प्रदान गर्ने नीतिले व्यापार सहजीकरणमा योगदान हुने संघको ठहर छ ।
प्रतिक्रिया 4