+
+
Shares

हितराज पाण्डेलाई प्रश्न– प्रधानमन्त्री पेलेर जाने रे, तपाईंहरु के गर्नुहुन्छ ?

प्रधानमन्त्री भनेको त एमालेको मात्रै होइन होला नि, देशकै हो नि । उहाँले यो संविधानको रक्षा गर्नुपर्ने होइन र ? त्यसकारण उहाँले यस्ता कुरा भनिरहनुहुन्छ । कसलाई गन्नुहुन्छ र !

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते ९:१३

२० जेठ, काठमाडौं । भिजिट भिसा प्रकरण छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा रहेका विपक्षी दलहरुले आज पनि संसद अवरोध गर्ने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध जारी राख्ने बताइसकेकाले आजबाट सुरु हुने भनिएको बजेटमाथिको छलफल प्रभावित हुनसक्ने देखिएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग गरेको छलफलबाट पनि संसद अवरोध हट्नेतर्फ प्रगति भएको छैन । यहीबीचमा प्रधानमन्त्री ओलीले संसद अवरोध नहुने भन्दै विपक्षीलाई पेलेर अघि बढ्ने संकेत गरेका छन् ।

यसै सन्दर्भमा हामीले माओवादी केन्द्रका सचिव एवम् प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका छौं–

प्रधानमन्त्रीले सोमबार शीर्ष नेताहरुलाई बोलाएको बैठकमा तपाईं पनि जानु भएको थियो । त्यसमा के कुराकानी भयो ?

हो, हामी प्रधानमन्त्रीले बोलाएको ठाउँमा गयौं । म पनि गएको थिएँ । प्रधानमन्त्रीको कुरा मैले पनि सुनेँ । उहाँहरुले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न हुनुहुन्न संसद अवरोध नगर्नुस् भन्नुभयो ।

अनि तपाईंहरुले के भन्नुभयो ?

गृहमन्त्रीले मार्गप्रशस्त नगरेसम्म सदन चल्न नदिने हाम्रो अडान यथावत नै छ । दलको बैठक बसेर यसबारे निर्णय गरिसकेका छौं । त्यही कुरा हामीले राख्यौं । हामीले गृहमन्त्रीले मार्गप्रशस्त नगर्दासम्म सदनमा विरोध जारी राख्छौं भन्यौं । किनभने यो सामान्य विषय होइन । यो सुशासनसँग सम्बन्धित विषय हो ।

कसैले आरोप लगाउँदैमा राजीनामा दिनपर्दैन भन्नु भएको छ त उहाँहरुले ?

गृहमन्त्रीजी प्रत्यक्ष संलग्न हुनुहुन्छ भनेर हामीले पनि भनेका छैनौं । गृहमन्त्रीजीले योयो गर्नुभयो भनेर हामीले आरोप लगाएका पनि छैनौं । तर उहाँले सम्हालेको गृह प्रशासन, उहाँ निकटका कर्मचारी, सचिवालय समेत मुछिएको कुरा त आइरहेको छ नि त । त्यसबारे अनुसन्धान भइरहेकाले विस्तृत कुरा खुल्दै जाला । तर हामीले भनेको कुरा के हो भने यो सुशासनको विषय हो । त्यसैले उहाँमाथि पनि प्रश्न उठिसकेपछि मार्गप्रशस्त गरेर छानबिनमा सघाउनुपर्छ । उहाँले केही गर्नुभएको छैन भने त फेरि पदमा फर्किहाल्नुहुन्छ नि ।

फेरि अर्को कुरा, विगतमा पटकपटक अहिलेका गृहमन्त्रीले नै संसदमा नैतिकताको कुरा उठाउँदै आउनु भएको थियो नि त । संसदमा उहाँले भन्नुभएकै हो, मैले सुनेकै हो । अरुलाई चाहिँ नैतिकताको कुरा सम्झाउने आफूले चाहिँ पालना गर्न नपर्ने पनि हुन्छ र ?

प्रधानमन्त्रीले संसद अवरोध हुँदैन, मेन्टली तयार हुनुस् भनेर पेलेरै अघि बढ्ने संकेत गर्नुभएको छ । योबारे तपाईंको धारणा के छ ?

सम्माननीय प्रधानमन्त्रीले त कसैलाई पनि गन्नु हुन्न भन्ने कुरा त थाहा भएकै हो नि । उहाँको सोच नै पेलेर गएपछि सब ठिक हुन्छ भन्ने खालको देखिन्छ । प्रतिगमनकारीहरुले राजसंस्था फर्काउँछौं भनेर सडकमा ओर्लिंदा उहाँ एक्लै अघि सरेर एमालेका कार्यकर्ताहरुलाई काठमाडौंका सडक कब्जा गर्न भन्नुभयो । तर उहाँको कार्यक्रम कस्तो भयो देख्नुभयो । यो देशमा अरु गणतन्त्रवादीहरु धेरै छन् । सबै मिलेर यो संविधान बनाएको हो । सबैसँग सल्लाह नगरी एक्लै अघि बढ्दा कस्तो भयो एमालेको कार्यक्रम थाहै छ । मैले त सदनमा बोल्दा पनि यो तरिका गलत भयो भनेको थिएँ ।

प्रधानमन्त्री भनेको त एमालेको मात्रै होइन होला नि, देशकै हो नि । उहाँले यो संविधानको रक्षा गर्नुपर्ने होइन र ? त्यसकारण उहाँले यस्ता कुरा भनिरहनुहुन्छ । कसलाई गन्नुहुन्छ र ! यो उहाँको आफ्नो विषयवस्तु हो । हामीले चाहिँ दृढतापूर्वक भन्यौं– यो सुशासनको विषयवस्तु हो । त्यसकारण गृहमन्त्रीले मार्गप्रशस्न गर्नुपर्छ । यो गृहमन्त्रीले नै स्थापित गरेको मान्यता हो । म त तपाईंहरुजस्ता मिडियाकर्मीहरुलाई पनि अनुरोध के गर्छु भने यो कुरा उहाँलाई पनि सम्झाइदिनुपर्यो ।

बजेटको संवेदनशीलता त बुझ्नु भएकै छ । संसद अवरोध जारी हुँदा तपाईंहरुको कारणले देशलाई झन् अप्ठ्यारो पार्दैन ?

बुझेकै छौं । त्यहीभएर त हामीले बजेट संघीय संसदमा प्रस्तुत गर्न दियौं । देशको अर्थतन्त्र उँधोउँधो झरेको छ, ग्रे लिस्टमा परेको छ । त्यसकारण हामी त्यसप्रति संवेदनशील र जनताप्रति जवाफदेही पनि छौं । त्यसकारण जतिसक्दो छिटो गृहमन्त्रीले मार्गप्रशस्त गरेर यसलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?