+
+
Shares
ब्लग :

झोले बहस र यसको राजनीतिक पुनर्जन्म

‘झोले’ शब्द कुनै औपचारिक राजनीतिक सिद्धान्तमा परिभाषित छैन, तर नेपाली साहित्य, व्यंग्य र पत्रकारितामा यसको प्रचुर प्रयोग छ ।

गोविन्द खड्का गोविन्द खड्का
२०८२ जेठ २० गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘झोले’ शब्दको सामाजिक र राजनीतिक इतिहास नेपाली भाषाबाट आएको हो।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले हुँ, जनताको झोले’ भनी अभिव्यक्ति दिएपछि यो शब्द चर्चित भयो।
  • यसले सकारात्मक निष्ठा र नकारात्मक अन्धसमर्पण दुवै अर्थ बोकेको चर्चा भइरहेको छ।

‘झोले’ शब्द अहिले नेपाली सामाजिक-राजनीतिक परिवेशमा अत्यन्तै चर्चित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले हुँ, जनताको झोले’ भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यो शब्द झनै तातिएको छ ।

‘झोले’ नेपाली राजनीतिक र सामाजिक बहसमा एउटा चर्चित, विवादास्पद र बहुआयामिक शब्द हो । कहिलेकाहीँ उपहासको औजार, कहिले निष्ठाको प्रतीकका रूपमा यो शब्द आइरहन्छ । पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्ति र एमाले नेता/कार्यकर्ताले ट्रेन्डिङ बनाएपछि यो शब्द पुनः चर्चा र बहसको केन्द्रमा छ ।

‘झोले’ शब्द खोज्दै जाँदा नेपाली बोलीचालीको भाषाबाट आएको देखिन्छ । यसको मूल अर्थ ‘झोला बोकेर हिँड्ने व्यक्ति’ भन्ने नै हुन्छ । यसको सुरुवाती प्रयोग गाउँघरको जीवनशैली र विकास प्रक्रियासँग गाँसिएको छ ।

कुनै बेला जब विकासको नाममा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, एनजीओ वा आईएनजीओको टोली गाउँतिर जान्थे, तिनीहरूका झोला, पोका, दबाइ, कागजात, उपकरण आदि बोकेर हिँड्ने सहयोगी वा स्थानीय कामदारहरूलाई सामान्य रूपमा ‘झोले’ भनिन्थ्यो ।

यी ‘झोले’ हरू न विकास योजनाको नेता हुन्थे, न त निर्णायक नै । तर उनीहरू मैदानका वास्तविक कार्यकर्ता थिए, जो चर्को घाम, वर्षा र भोक-तिर्खासँग लड्दै गाउँ-बस्ती डुलिहिँड्थे । त्यो समयमा ‘झोले’ भन्ने शब्दमा उपहास थिएन । बरु मिहिनेती र सहयोगीको पर्याय मानिन्थ्यो ।

हिजो राजनीतिक व्याख्याभन्दा फरक, सरल र मिहिनेतमा जोडिएको झोले शब्दको सामाजिक इतिहास बदलियो । राजनीतिमा नेताको पछि लाग्ने, आदेशपालक, गुनासो नगर्ने, विवेकहीन कार्यकर्तालाई ‘झोले’ भनेर उपहास गरियो । राजनीतिक अन्धभक्तलाई इंगित गर्ने प्रचलन बन्यो ।

तर, समयसँगै यो शब्दको प्रयोगमा व्यंग्य मिसिँदै गयो । यो शब्द राजनीतिमा मिसियो । समय क्रममा, राजनीतिक कार्यकर्ता र नेताको पछि लाग्नेलाई पनि ‘झोले’ भन्न थालियो । तर यसरी राजनीतिमा झोले शब्द छिर्दा, यसको अर्थ र भावनामा परिवर्तन आयो । जसले ‘अन्धसमर्पण’, ‘भक्तिगान’ वा ‘बिना सोचका साथ समर्थन’ जस्ता अर्थ बोक्न थाल्यो ।

हिजो राजनीतिक व्याख्याभन्दा फरक, सरल र मिहिनेतमा जोडिएको झोले शब्दको सामाजिक इतिहास बदलियो । राजनीतिमा नेताको पछि लाग्ने, आदेशपालक, गुनासो नगर्ने, विवेकहीन कार्यकर्तालाई ‘झोले’ भनेर उपहास गरियो । राजनीतिक अन्धभक्तलाई इंगित गर्ने प्रचलन बन्यो ।

राजनीतिभित्र झोले संस्कृतिको विकास

नेपालको राजनीतिक इतिहास, खासगरी बहुदलपश्चात्‌को कालखण्डमा, नेताप्रतिको समर्पण र कार्यकर्ताको ‘झोले’ प्रवृत्ति एकसाथ विकसित भएको पाइन्छ । कार्यकर्ता नेताको झोला बोकेर हिँड्ने, सभा-सेमिनारमा साथ दिने, पोस्टर टाँस्ने, झन्डा फहराउने र प्रचार-प्रसारमा जुट्ने परिपाटी सशक्त हुन थाल्यो ।

यस्तो कार्यशैलीमाथि समय क्रममा आलोचना पनि हुन थाल्यो । यही शब्द एउटै समय समाजको राजनीतिक दलभित्र भने समर्पण, संगठनप्रति निष्ठा र संघर्षशील कार्यकर्ताको पहिचान पनि बन्न पुग्यो । त्यसैले ‘झोले’ एकातिर आलोचना, अर्कातिर गौरव एकसाथ सुसुप्त बहसमा आइरहेको थियो ।

राजनीतिक दर्शन र नेतृत्वशास्त्रको दृष्टिकोणले हेर्दा, ‘झोलेपन’ दुई फरक प्रवृत्तिको प्रतिनिधित्व गर्छ । ‘झोले’ शब्दलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने हो भने, नेताको विचारप्रति समर्पण, जनतामाझ निष्ठापूर्वक काम गर्ने कार्यकर्ता, संगठनको नीति र कार्यक्रम कार्यान्वयन गर्ने अनुशासित अनुयायी, विपद् वा आन्दोलनमा सक्रिय सहभागी कार्यकर्ताका रूपमा लिन सकिन्छ । यसकै सैद्धान्तिक पृष्ठभूमिमा एमालेका बहुसंख्यक नेता/कार्यकर्ता र समर्थकहरूका लागि यो शब्द गौरवको प्रतीक बनेको छ ।

‘झोले’ शब्दलाई नकारात्मक दृष्टिकोणबाट हेर्दा अन्धसमर्थक, विवेक र आलोचनाशक्ति गुमाउने, नेताको गल्तीलाई पनि सही ठान्ने, अवसरवाद र चाकडीकरण प्रवृत्तिका रूपमा लिने गरिन्छ । यिनै दुई प्रतिकात्मक ब्याख्यासँगै अहिले ‘झोले’ शब्द बहसमा छ ।

‘झोले’ बन्नु राम्रो कि नराम्रो ? यदि वाद-विवाद प्रतियोगिता नै गरियो भने राम्रो तर्क दिनेले बाजी मार्न सक्ला । तर झोले बन्नु आफैंमा खराब होइन । यदि झोले हुनु भनेको विचार, मूल्य र जनसेवाप्रतिको निष्ठा हो भने त्यो प्रेरणादायी हो ।

‘झोले’ शब्द कुनै औपचारिक राजनीतिक सिद्धान्तमा परिभाषित छैन, तर नेपाली साहित्य, व्यंग्य र पत्रकारितामा यसको प्रचुर प्रयोग छ । लेखक खगेन्द्र संग्रौला जस्ता लेखकहरूले झोले प्रवृत्तिमाथि तिखा व्यंग्य गर्दै यो शब्दलाई बारम्बार प्रयोग गरेको देखिन्छ ।

व्यंग्यात्मक लेख-रचनाहरूमा झोले पात्रहरू नेताको आदेशमा नाच्ने, विचार नअपनाउने, समर्पित भएर बस्ने जीवित कार्टुनझैँ चित्रण गरिएका छन् । सकारात्मकभन्दा नकारात्मक ब्याख्या गर्दै झोले संस्कृतिले नेपाली राजनीतिक चेतना र कार्यशैलीमा गहिरो प्रभाव पारेको मान्ने गरिन्छ ।

अब प्रश्न उठ्छ, ‘झोले’ बन्नु राम्रो कि नराम्रो ? यदि वाद-विवाद प्रतियोगिता नै गरियो भने राम्रो तर्क दिनेले बाजी मार्न सक्ला । तर झोले बन्नु आफैंमा खराब होइन । यदि झोले हुनु भनेको विचार, मूल्य र जनसेवाप्रतिको निष्ठा हो भने त्यो प्रेरणादायी हो ।

तर, यदि झोले हुनु भनेको विवेकहीन अनुयायी बन्नु, नेतृत्वको कुनै पनि निर्णयप्रति प्रश्न नउठाउनु र केवल ताली पिट्ने भूमिकामा सीमित हुनु हो भने त्यो खतरनाक हो- त्यो आफ्नै सिद्धान्त, व्यक्तित्व र आत्माको अपमान हो । झोले नै बन्ने हो भने पनि ‘सजग झोले’ बन्ने बाटोमा लाग्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?