+
+
Shares

अनुकूल बजेट आउँदा पनि किन घट्यो सेयर बजार ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १८:५४

२० जेठ, काठमाडौं । गत बिहीबार घोषित बजेटपछि सेयर बजारले गति लिने धेरैको अनुमान थियो । बजेटले बजार अनुकूल नीति अनुशरण गरेकै कारण धेरैले बजार बढ्ने अनुमान गरेका थिए ।

सेयर कारोबारको पूँजीगत लाभकर यथास्थितिमा राख्नु, गैरआवासीय नेपालीलाई कारोबारका लागि सहज व्यवस्था गर्ने प्रतिवद्धता आउनु, नेप्सेको पुनर्संरचना तथा धितोपत्र बोर्डको सुदृढीकरणका विषय बजेटमा समेटिएका थिए ।

तीबाहेक बैंक तथा वित्तीय संस्थाको खराब कर्जा सम्हाल्न एसेट्स म्यानेजमेन्ट कम्पनी खोल्ने, सरकारी ऋणपत्र बजारमा कारोबार गराउने प्रतिवद्धता जनाउनु, लगानी समूहका कम्पनीलाई उद्योगको स्वपूँजी, ऋणपत्र तथा अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गर्ने जस्ता विषय बजेटमा उल्लेख थिए ।

यति हुँदाहुँदै पनि बजेटपछि सेयर बजार भने घटेको छ । बजेट घोषणापछि सोमबार खुलेको बजार १.६० अंक मात्रै बढ्यो भने मंगलबार ३५. ७३ अंक घट्यो । समग्रमा बजेटपछि बजार ३४.१३ अंक घटेको छ ।

बजेटअघि राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दा सबै किसिमका सेयरको कर्जामा जोखिमभार १ सय प्रतिशतमा झारिएको छ । यसरी नीतिगत व्यवस्था अनुकूल आइरहँदा पनि बजारले गति लिन नसक्नुको प्रमुख कारण बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा राखिने प्रावधानका विषयप्रति लगानीकर्ता सशंकित हुनु रहेको सम्बद्ध जानकार बताउँछन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट विधेयकमा राखिएको बैंकका संस्थापक र व्यवसायी छुट्याउने विषयले नै बजारलाई अहिले असर पारेको बताए । विधेयक अहिले अर्थ समितिमा छलफलकै क्रममा छ ।

‘बैंकका संस्थापक र व्यवसायी छुट्याउने विषय कसरी सम्बोधन हुन्छ चासोको विषय छ’ रानाभाटले भने ‘संस्थापक सेयर एकैपटक बिक्री हुने अवस्था त छैन ।’ अहिले नै पनि संस्थापक सेयर बेच्न असहज छ । कतिपय बैंकको संस्थापक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा पनि बिक्री हुने अवस्था छैन ।

संस्थापक सेयरधनी र साधारण सेयरधनीले पाउने लाभांश उत्ति नै हुन्छ । भोलि संस्थापक सेयर नै फालाफाल हुने अवस्था आएमा साधारण सेयरप्रतिको आकर्षण घट्न सक्ने डर लगानीकर्तामा रहेको रानाभाट बताउँछन् । बैंकका संस्थापक सेयरधनी र व्यवसायी छुट्याउने विषयले अर्थतन्त्रलाई नै अप्ठेरो पार्न सक्ने उनको भनाइ छ ।

व्यवसायी र बैंकका संस्थापक सेयरधनी छुट्याउँदा संस्थापक सेयर बेच्न र बिक्री हुने आधार बनाउनुपर्ने संस्थापकको माग छ । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पाैडेलले पनि संस्थापक सेयर बिक्रीका लागि विकल्प दिइनुपर्नेमा जोड दिँदै आएका छन् ।

संस्थापक सेयरलाई साधारणमा परिवर्तन गरेर बजारमै बिक्री गर्न पाउने विकल्प हुन सक्ने व्यवसायीको भनाइ छ। यदि यस्तो अवस्था आएमा बजारमा आपूर्ति बढ्न गई मूल्यमा चाप पर्न जान्छ । यहीं कारण पनि बैंकिङ सेक्टरमा तरंग सिर्जना भएको  नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे बताउँछन् ।

यो बाहेक गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा तानिएपछि दलहरूबीचको तिक्तताले पनि बजारलाई असर पारेकाे हुन सक्ने उनी बताउँछन् ।

प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा र उनीमाथि छानबिन गर्नुपर्ने माग गर्दै यतिबेला संसद अवरुद्ध जारी राखेका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नआउने भन्दै अडान लिएपछि राजनीतिक वृत्त तातिएको छ ।

‘राजनीतिक वातावरण पनि सकारात्मक बनिरहेको छैन, जसले गर्दा बजेटले अनुकूल नीति लिए पनि बजारले लय समात्न सकेन’ उनले भने ।

संसदको गतिरोध लम्बिन सक्ने आशंका बढेको छ । त्यस्तै आर्थिक वर्ष सकिनै लाग्दा कतिपय संस्था सेयर बिक्री गरेर नाफा बुक गर्नुपर्ने अवस्थामा छन् । विगतका दुई साता समग्र बजार राम्रैसँग बढेकाले यतिबेला नाफा पनि बुक भएको अनुमान छ ।

४ जेठमा नेप्से परिसूचक २६०९ अंकमा रहेकोमा दुई सातामै बढेर हिजो सोमबार २६९४ मा पुगेको थियो । केही बैंकको मूल्य भने याे अविधमा १० प्रतिशतसम्म बढ्यो । यहीं कारण सोमबार र मंगलबार केही नाफा बुक भएको हुन सक्ने लगानीकर्ता बताउँछन् ।

विगत दुई सातामा बैंकिङ सेक्टर सबैभन्दा धेरै ९ प्रतिशत बढेको छ । तसर्थ बजार घट्दा मंगलबार पनि यहीं सेक्टर सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो ।

बैंकिङ सेक्टर सबैभन्दा शक्तिशाली रहेकाले यो सेक्टरले समग्र बजारलाई बढी प्रभाव पार्दछ । यहीं सेक्टरमा भएको नाफा बुकले समग्र बजारलाई झारेको लगानीकर्ता बताउँछन् ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?