+
+
Shares

‘जन्ते बाख्रो’बारे सौगात : कलाकारको रुपमा नयाँ अनुभव (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सौगात मल्लले ‘जन्ते बाख्रो’ मा कमल नामक सरल गाउँले युवकको भूमिका निभाएका छन्।
  • उनीहरूले कथाको गहिराइ र निर्देशकको दृष्टिकोणलाई प्राथमिकता दिएका छन्।
  • फिल्म २३ जेठदेखि प्रदर्शनमा आउने तयारीमा छ।

काठमाडौं । घरेलु फिल्ममा सौगात मल्लको परिचय उम्दा अभिनेताको रुपमा छ । उनी हरेक फिल्ममा भिन्न चरित्र चित्रणसहित दर्शकमाझ प्रस्तुत हुन्छन् । प्रदर्शन तयारीमा रहेको ‘जन्ते बाख्रो’ यस्तै एक फिल्म हो ।

यो फिल्ममा उनी कमल नामक एक सरल गाउँले युवकको रोलमा छन्, जो योग्य वधुको खोजीमा निस्किएको छ । कमल एक यस्तो पात्र हो, जो निकै सोझो छ । आफैसँग संघर्ष गर्छ ।

‘यस्तो भूमिका पहिलो पटक निभाउँदैछु र यसले मलाई नयाँ अनुभव दियो’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने । यो फिल्ममा उनले पहिलोपटक गरिमा शर्मासँग स्क्रिन सेयर गरेका छन् ।

गरिमासँग काम गर्न सहज भएको अनुभव उनले सुनाए । आफूहरुबीचको केमेस्ट्री स्वभाविकरुपमा निर्माण भएको र यसले कथालाई प्रभावशाली बनाएको अनुभव उनको छ ।

सौगातको फिल्मी यात्रा २०५५ सालमा ‘रणभूमि’बाट सुरु भएको हो । अहिलेसम्म उनले ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । तर, सबै फिल्म व्यावसायिक रूपमा सफल नहुँदा पनि उनी आफ्नो हरेक भूमिकामा केही न केही नयाँपन खोजिरहन्छन् ।

‘जन्ते बाख्रो’ त्यसको पछिल्लो उदाहरण हो । हिट वा फ्लप आफूभन्दा बाहिरको कुरा रहेको तर हरेक फिल्मलाई कलाकारको रूपमा जिम्मेवारीका साथ लिने गरेको उनले बताए ।

फिल्म साइन गर्नुअघिका केही पूर्वसर्तबारे पनि उनले खुलेर बताए । फिल्म छान्ने क्रममा कथाको गहिराइ, पात्रसँग सम्बन्ध बनाउन सक्ने सम्भावना र निर्देशकको स्पष्ट दृष्टिकोण आफूका लागि अत्यन्तै महत्वपूर्ण हुने उनले बताए ।

फिल्मका विभिन्न जनरामा उनले काम गरेका छन् । ड्रामा, थ्रीलर, एक्सन र सामाजिक कथावस्तुमा उनी देखिएका छन् । तर, के यी रोजाइ उनका आफ्नै हुन् त ? सौगातको जवाफ स्पष्ट छ, ‘कहिले आफूले खोजेको, कहिले अरूको नजरबाट आफूले देखिएको पात्र। दुवै मिलेर पात्र चयन हुन्छ ।’

अझै पनि धेरै दर्शक सौगातलाई ‘लुट’ फिल्मकै हाकु भनेर चिन्ने गर्छन् । यसबारेमा उनले त्यो चिनारी आफ्नो लागि सम्मान भए पनि कलाकारको हैसियतले फरक ढंगले प्रस्तुत हुन चाहेको बताए । ‘त्यो ट्याग हटाउने प्रयास मेरो हातमा छैन, दर्शककै नजरले निर्धारण गर्छ’, उनले भने ।

आफ्नो मनपर्ने भूमिका कुन हो भन्ने प्रश्नमा उनी मुस्कुराउँदै भन्छन्, ‘साँच्चिकै भन्नुपर्दा, म अझै त्यो भूमिका भेटिरहेको छैन जसमाथि म पूर्ण सन्तुष्ट हुन सकूँ ।’

पछिलो समय नाटकबाट उदाएका धेरै कलाकार पुनः नाटकमा फर्किन थालेको देख्न सकिन्छ । दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सरोज खनाल लगायतका कलाकारले नाटकमा पुनः सक्रियता देखाइ रहेका छन् । सौगातको अभिनयको पृष्ठभूमि पनि आरोहण गुरुकुल नाट्य घर हो ।

उनले फेरि पनि नाटकमा फर्किने इच्छा व्यक्त गरे । सुरुमा आफूले काम गरेका गुरुहरूसँग पुनः सम्पर्कमा रहेको र समय तथा टोली मिलेमा फेरि नाटकमा देखिने योजना रहेको उनले बताए ।

अन्ततः किन हेर्ने ‘जन्ते बाख्रो? सौगातको जवाफ सटिक छ, ‘यो फिल्ममा हाम्रो समाजका यथार्थ, प्रेमका सरल खोज र जीवनका वास्तविक पाटा देखाइएको छ ।’ दर्शकले यसमा हाँसो, आत्मसमीक्षा र माया तीनवटै पाउन सक्ने उनको विश्वास छ ।

अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।

फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । सार्वजनिक गरिएका गीत ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’लाई दर्शकले रुचाइसकेका छन् । फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । रोयल भीमसेनको पोस्टर डिजाइन छ । फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन छ । सिमोस सुनुवार निर्देशित ‘जन्ते बाख्रो’ २३ जेठदेखि प्रदर्शन तयारीमा छ ।

तस्वीर : शंकर गिरी /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?