
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चेम्बर अफ कमर्सले ‘एमआरपी’ र ‘लेबलिङ’ कार्यान्वयनमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ।
- उपभोक्ता संरक्षण विभागले बजार अनुगमन र कारबाहीले औद्योगिक वातावरण बिग्रने चिन्ता व्यक्त गरेको छ।
२१ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एमआरपी’ र ‘लेबलिङ’ कार्यान्व्यनमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
उपाध्यक्ष दीपक श्रेष्ठ नेतृत्वको चेम्बर टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र विक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी र लेबलिङ कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो ।
चेम्बरले जारी गरेको विज्ञप्ति छ, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार हो, उक्त हकबाट उपभोक्तालाई वञ्चित हुन नदिन तथा बजार र मालवस्तुबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्य अगाडि बढाइनुपर्नेमा नबढाइ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चालिरहेको कदमले राज्यको ऐन, कानुन, नियम मान्ने आधिकारिक उद्योगी–व्यवसायी भने मर्कामा परेका छन् ।’
उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ बमोजिम स्वदेशी तथा आयातित सम्पूर्ण वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहित लेबल राख्न गरेको सूचना एवं विभागले हाल गरिरहेको बजार अनुगमन र अनावश्यक कारबाहीले शिथिल भइरहेको एवं बिग्रिँदै गइरहको औद्योगिक वातावरण झनै बिग्रिने चेम्बरले उल्लेख गरेको छ ।
लेबलिङ र एमआरपी सम्बन्धमा उपभोक्ता र व्यापारीमा प्रचार–प्रसार गरी हाल विवादमा आएका विषय आपसी छलफलबाट टुंग्याउने सहमति भए पनि उक्त सहमति विपरीत विभागले अनावश्यक उद्यमी–व्यवसायीलाई धम्क्याउने गरेको पाइएको चेम्बरले जनाएको छ ।
उद्यमी–व्यवसायीलाई अनावश्यक धम्क्याउने तथा दण्ड सजायको काम बन्द गर्न पनि चेम्बरले आग्रह गरेको छ । कुनै पनि व्यपारी एवं व्यवसायीले गैरकानुनी एवं अनधिकृत कार्य गरे त्यसमा चेम्बरको समर्थन नरहने समेत चेम्बरले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4