
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।
- सांसदहरु सुष्मा भुजेल, युवराज चौलागाईं र सृजना सयजूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
- विपक्षमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका सांसदहरुले पनि ठूलो स्वरमा हुन्न भन्दै मुखामुख गरेका थिए।
२१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएकोे नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको १४ जेठमा भएको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १ सय १६ वटा बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
सांसदहरु सुष्मा भुजेल, युवराज चौलागाईं र सृजना सयजूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्तावको पक्ष र विपक्षीमा मत जाहेर हुँदा बैठक स्थलमा हाँसो भएको थियो ।
सुष्मा भुजेललगायतका सांसदले संयुक्त रुपमा राखेको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । सभामुख भुवनकुमार पाठकले प्रस्ताव फिर्ता लिन समय दिएकोमा उनले प्रतिपक्षले सरकारको आलोचना मात्र नभई रचनात्मक सहयोग पनि गर्ने बताउँदै प्रस्ताव फिर्ता नलिने बताएकी थिइन् ।
संशोधन प्रस्तावको पक्षमा नेकपा माओवादी केन्द्रका सांसदले हुन्छ भन्ने ठूलो आवाजसँगै हात उठाएपछि सभामुख पाठकसहित सांसदहरुको हाँसो गुञ्जिएको थियो ।
विपक्षमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका सांसदहरुले पनि ठूलो स्वरमा हुन्न भन्दै मुखामुख गरेका थिए । हुन्न भन्ने पक्षका सांसदहरुको बहुमत भएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख पाठकले घोषणा गरे ।
सरकारले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रमले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै सडक स्तरोन्नती र नयाँ सडक ट्रयाक खोल्न निरुत्साहित गर्नेदेखि वित्तीय तथा व्यवस्थापकीय जोखिममा रहेका सहकारी संस्थाहरुको अध्ययन, विश्लेषण र वर्गीकरण गर्नुका साथै बचतकर्ताहरुको बचत तथा लगानी संरक्षणमा जोड दिइनेसम्मका योजना थिए ।
सभामुख पाठकले ३० जेठसम्मको लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । बागमती प्रदेश सरकारले आगामी आवका लागि १ असारमा बजेट ल्याउँदैछ ।
प्रतिक्रिया 4