+
+
Shares

मालिकामा करार कर्मचारीको विवाद, वडाअध्यक्षको विरोध र प्रमुख प्रशासकीय अधिकृतको सरुवा

अनिल खत्री अनिल खत्री
२०८२ जेठ २३ गते ११:३९

२३ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा करारमा कार्यरत ५६ शिक्षक जना कर्मचारीको सेवा अवधि नथप्ने निर्णयप्रति सोही गाउँपालिकाको वडानम्बर–५ का वडाअध्यक्ष रेखाकुमार जिसीले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् ।

उनले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले एकलौटी रुपमा करार कर्मचारीको सेवा अवधि नथप्ने निर्णय गरेको आरोप लगाए । उनले यसलाई एकतर्फी र हतारको निर्णय भन्दै सच्याउन माग गरे ।

‘गाउँपालिकाले न त कुनै मूल्याङ्कन प्रक्रिया अपनायो, न त कुनै स्पष्ट आधार प्रस्तुत गर्‍यो । केवल आन्तरिक छलफलको नाममा केही नेतृत्वस्तरमा निर्णय लिइयो, जुन लोकतान्त्रिक अभ्यासको मर्म विपरीत छ,’ उनले पत्रकार सम्मेलनमा भने ।

वडाअध्यक्ष जिसीले गाउँकार्यपालिकाले निर्णय लिने क्रममा वडाअध्यक्षहरूको समुचित सहभागिता सुनिश्चित नगरिएको दाबी गरे । ‘हामी कार्यपालिका सदस्य हौँ, तर यस्तो गम्भीर निर्णय गर्दा हामीलाई छलफलमा समेत सहभागी नगराइनु आपत्तिजनक विषय हो,’ उनले थपे ।

वडाअध्यक्ष जिसीले करार कर्मचारीको अवधि थप नहुनुका कारण सेवाग्राहीहरूलाई समेत असुविधा हुन सक्ने बताए । ‘करार कर्मचारीलाई एकैचोटि हटाउँदा नियमित सेवामा रिक्तता उत्पन्न हुन्छ, जसले सेवा प्रवाहमै प्रत्यक्ष असर पार्न सक्छ,’ उनले भने ।

आन्तरिक विवादबिच प्रमुख प्रशासकीय अधिकृतको सरुवा

करार कर्मचारीको विवाद चर्किएपछि प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी समेत सरुवा मागेर गाउँपालिका छाडेका छन् । उनी करिब दुई महिना अघि मात्र मालिका गाउँपालिकामा पदस्थापन भएका थिए ।

स्रोतका अनुसार कार्यपालिका भित्रको समन्वय अभाव, निर्णय प्रक्रियामा अस्पष्टता र राजनीतिक खिचातानीका उनी सरुवा भएर गएका हुन् । पन्थी आफैंले भने यसबारे केही बताएका छैनन् ।

कार्यपालिकामा के भएको थियो ?

पद सिर्जना नभई नियुक्त भएको भन्दै ५६ जना शिक्षक कर्मचारीको बैशाख पछि करार सम्झौता अवधि नथप्ने निर्णय पालिकाले गरेको थियो ।

गाउँपालिकामा शिक्षकतर्फ २६, बालविकासतर्फ १४, स्वास्थ्यतर्फ ९ र कम्प्युटर अपरेटर तथा कार्यालय सहायकतर्फ ७ जनाको करार अवधि नथप्ने निर्णय २०८२ वैशाख २३ को कार्यपालिका बैठकले गरेको थियो ।

निर्णयको दिन कार्यपालिका बैठकमा उपाध्यक्षबाहेक १३ जना उपस्थित थिए । जसमा ४ वडाध्यक्षसहित ५ जना कार्यपालिका सदस्यले यस विषयमा फरक मत राखेका थिए । तर यो छलफलमै रहेको भनिएकोमा एक्कासी ५६ जनाको जागिर गएको विषय सार्वजनिक भएको थियो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले यस बिषयमा कार्यपालिकामा प्रस्ताव लगेको भएपनि अन्तिम निर्णयमा पुग्न जटिल रहेको बताएका थिए । तर गाउँपालिका अध्यक्ष देवीराम अर्यालले अघिल्लो सरकारले पद नै सिर्जना नगरी कर्मचारी नियुक्त गर्दा अहिले करार अवधि नथप्ने निर्णयमा पुगेको प्रतिक्रिया दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?