+
+
Shares

राजनीतिक यात्राका केही अमिल्दा यात्रीहरू

कहिलेकाँही क्रान्तिका ठूला सपना देख्नेहरुको यात्रामा जुका, लामखुट्टे, उपिँया, मौरी, मुसाहरू पनि बाधक बनिदिन्छ । तर जे होस् सबै परिस्थितिलाई पार गर्दै हिंड्ने ठूलो जमात भएकै कारण आन्दोलन सफल भएको हो । गणतन्त्र देख्न पाएको हो । जुन कुरा अहिलेका पुस्ताले बुझ्नुपर्छ ।

पूर्णशोभा चित्रकार पूर्णशोभा चित्रकार
२०८२ जेठ २४ गते २०:५५

राजनीतिमा जनताका माया, ममता र दुखसुखका कुरा त छँदै छन् । कतिपय सोच्दै नसोचेको कुराको पनि सामना गर्नुपर्ने हुन्छ । मैले पञ्चायतका विरुद्ध भूमिगत राजनीति गर्दाका बेला मैले भोगेका केही त्यस्तै केही प्रतिनिधि संस्मरणहरू यहाँ लेख्दैछु ।

०००

श्यामप्रसाद शर्माको पार्टीबाट सुलोचना मानन्धर सम्पर्कविहीन भइसकेपछि हामी करिब ६० जना युवा राजनीतिक रुपले अलपत्र पर्ने कुरा स्वाभाविक भयो । तर हामी निराश होइन्छ कि भनेर सुलोचनाले यो कुरा कसैलाई भनेकी थिइनन् । बरु गाउँगाउँमा किसान तथा गरीबहरुको सम्पर्क विस्तार गर्ने र जनतालाई संगठित गर्ने अभियानमा लाग्यौं ।

त्यही सिलसिलामा धेरै गाउँ घुम्यौं । गाउँ घुम्दा सामान्य खद्दरको धोती लगाउँथ्यौं । साथमा थोरै पैसा, सम्भावित घाउचोटका लागि केही डिटोल, सिटामोल र टर्चलाइट बोकेर हिड्थ्यौं । त्यसै क्रममा एक दिन हामी थानकोटतिरको कुनै पहाड चढ्ने र त्यही बस्तीका जनतालाई भेट्ने निधो सहित हिड्यौं ।

अहिले जस्तो त्यो क्षेत्र शहरीकरण भइसकेको थिएन । थानकोटतिर चल्ने बस नै जम्मा तीन वटा थिए । प्रायः ठाउँ हिँडेर जानु पर्थ्यो । हामी हिँडेको दिन सिमसिम पानी परिरहेको थियो ।

पहाडमाथि सुन्दर प्रकृतिभित्रका झुपडी बस्ती पस्ने हाम्रो योजना थियो । तर मूलबाटो बिराएर जंगलतिर पुगेछौँ । आवतजावत खासै नहुने त्यो जंगलमा जुकाको राज रहेछ । हाम्रो शरीर जुकामय भयो ।

कति हटाउने, कति फाल्ने, कति तान्ने ? हामीले लगेको डिटोेल त हात्तीको मुखमा जिरा जस्तो भइहाल्यो । अब हामीसँग जहाँबाट सकिन्छ, त्यताबाट दौडेर मूल सडक भेटाउने मात्र उपाय बाँकी रह्यो ।

राजनीतिज्ञहरुले पनि हेक्का राख्नु पर्छ– अहिले पनि धेरै मानिस जुका, जुम्रा र मुसाहरुसँग जुधिरहेकै छन् । उनीहरूका लागि गरिनुपर्ने राजनीतिक काम सकिएको छैन ।

चिप्लोमा लड्दै भिड्दै झारहरु पन्छाउँदै सकेसम्म छिटो छिटो दगुर्यौँ । बल्ल मूल बाटोमा निस्कन सफल भयौँ । बाटोमा पुग्ने बित्तिकै हामीले एउटा घर भेटायौं । त्यहाँ हामीले एकजना आमालाई भेटायौँ र जुकालाई झार्न केही नून पाइन्छ कि भनेर माग्यौं ।

कति दुखले नूनको जोहो गरेका थिए होलान् । माग्न मन नलागी–नलागीकन पनि माग्यौँ । जीउभर जुकाले भरिएको थियो । खुुट्टाको औंला जुकाले भरिएका थिए । नून लगाएर जुका झारेपछि रक्ताम्मे बनेको शरीरले एक छिन त तर्सायो । बुढी आमा भन्थिन्– म यहीँ जंगलमा हुर्केर पनि यस्तो जूका कहिल्यै देखेकी थिइनँ ।

उल्टै गाली खाइने डरले घरका कसैलाई पनि यो कुरा सुनाइएन । जुकाले मुख गाडेको ठाउँहरुमा पछिसम्म चिलाउँथ्यो । पछि मैले जुकालाई विम्व बनाएर छोटो निबन्ध लेखेँ, र त्यो निबन्ध अमृत साइन्स कलेजमा भएको कार्यक्रममा नीरशोभा मार्फत् बाचन गर्न लगाएँ । बाचनमा आएको तालीले आनन्द दियो ।

०००

भूमिगतकालमै वीरगञ्जमा महिला भेला थियो । अखिल नेपाल महिला संघका महासचिवको हैसियतले भेलामा सहभागी हुँदै थिएँ । त्यहाँ एकजना महिला कमरेड बस्ने सेल्टरमा मैले बस्नुपर्ने भयो । काठमाडौं वरपरको गर्मीलाई मात्र पचाएको म । वीरगञ्जको गर्मी सहन सहज थिएन ।

दिउँसै लामखुट्टेले सताउन थाल्यो । राति के हुने होला भन्ने चिन्ताले सताउन थाल्यो । मसँगै बस्ने महिला साथीको खुट्टा र हातभर पाकेका घाउ थिए । उनले लामखुट्टेले टोकेर घाउ भएको भन्दा मेरो सातो गयो । रात पर्‍यो ।

महिला साथीले लामखुट्टे भगाउन कागज बालेर धुँवा निकालिन् र खाटमा सुतिन् । मानौं– गर्मी र लामखुट्टे केही होइन । साथीहरुको त्यस्तो जीवनचर्या देखेर माया पनि लाग्यो । सबैखाले परिस्थिति सहन सकेको देखेर छक्क परेँ । मैले भने कपडा हल्लाएर लामखुट्टे भगाउँदै रात कटाएँ ।

०००

२०४१ सालदेखि मैले ललितपुर जिल्ला पार्टी सचिवको जिम्मेवारी सम्हाले । त्यही सिलसिलामा बेला बेला बस्तीहरुमा पुग्नु पर्दथ्यो । दिउँसोभर मानिसहरु विभिन्न कामले खेतमा या शहरमा जाने र बेलुकी मात्र किसानहरूको फुर्सद हुने ।

महिलाहरुले रातिको समयमा जहाँ तहीँको सेल्टर प्रयोग गर्न पनि हुन्नथ्यो । म काँठ क्षेत्रको गाउँहरुमा जाँदा ठैबोमा बास बस्थेँ । बैठक सकेर केहीछिन् झुप्लुक्क निदाइसकेपछि बिहान झिसमिसेमा घरबाट निस्कनु पर्दथ्यो । धेरै पटकको अनुभवमा मैले सेल्टरबाट फर्केपछि जिउ चिलाएको महसुस गर्दथेँ ।

तर, कमरेडहरुकै अगाडि जुम्रा खोतलेर बस्ने कुरा भएन । जनताको जस्तो अवस्था छ, त्यसैमा आफूलाई ढाल्नु पनि त्यो बेलाको शिक्षा थियो । तर राति सवै जना आफ्नो कोठामा पसेपछि मैले डसना र सिरक नियालेर हेर्न थालेँ । अहो! जुम्राको त कुरै नगरौँ । डसना र सिरकभर जुम्रा नै जुम्रा ।

एकदिन घरको महिला कमरेडले छोरोको लुगामा पिटिक पिटिक जुम्रा मारिरहेको देखेँ । मलाई मायाले दिएको ओछ्यान र सिरकमा पनि जुम्रा त छैन भन्ने शंका लाग्यो । तर कमरेडहरुकै अगाडि जुम्रा खोतलेर बस्ने कुरा भएन । जनताको जस्तो अवस्था छ, त्यसैमा आफूलाई ढाल्नु पनि त्यो बेलाको शिक्षा थियो । तर राति सवै जना आफ्नो कोठामा पसेपछि मैले डसना र सिरक नियालेर हेर्न थालेँ । अहो ! जुम्राको त कुरै नगरौँ । डसना र सिरकभर जुम्रा नै जुम्रा ।

म ओछ्यानबाट तल झरेँ, मैले लगाएको खास्टो सकेसम्म जोडले झट्कारेँ । ओछ्यानतिर फेरि जाने आँट नभएर सुकुलमा कुक्रुक्क परेर केही घण्टा बसेँ । र, बिहान उज्यालो हुन नपाउँदै कमरेडहरुबाट विदा भएँ ।

०००

अनेम संघ काठमाडौको जिल्ला सम्मेलन २०४४ सालतिर भूमिगत ढंगले मच्छेगाउँ पारी भएको थियो । मेरो जेठो छोरो सानै थियो र सँगै लिएर गएकी थिएँ । त्यो रात मलाई टाउको धेरै दुख्ने र वान्ता आउने हुन थाल्यो । म त्यहाँ बस्न नसक्ने स्थिति बन्यो ।

लामो बाटो हिँडेर घर पुग्न सम्भव थिएन । मच्छेगाउँमै एकजना नेवार कमरेडको घरमा बास बस्यौं । कुखुराको खोरमा आधा बारेर कोठा निकालिएको रहेछ । टाउको दुखेको मान्छे, ओछ्यानमा ढल्किन मात्र के खोजेको थिएँ, जिउभर कालो पोतोहरुले ढाक्न थाल्यो । उपियाँ रहेछ । कति हटाउने, केले हटाउने, सम्भव कुरा थिएन । फेरि छोरो रोएको रोयै । बिहान मिर्मिरे हुन पनि कति गाह्रोे । हामी अँध्यारोमै त्यहाँबाट हिँड्यौं ।

०००

जेठोछोरो जन्मेपछि छोरोको स्याहार र पेशाका लागि सजिलो भनेर हामीले बलम्बु सर्यौं । आमाबाबु र सबै परिवारले सारै माया गर्ने । घरमा केही पाक्यो भने पनि मेरो कोठामा आइपुग्ने । मेरो छोरोले आमा–बाबु, हजुरआमा–हजुरबा, काका–काकी, साथी–भाइ सबैको माया त्यही घरबाट पायो ।

महिला साथीले लामखुट्टे भगाउन कागज बालेर धुँवा निकालिन् र खाटमा सुतिन्। मानौं– गर्मी र लामखुट्टे केही होइन। साथीहरुको त्यस्तो जीवनचर्या देखेर माया पनि लाग्यो। सबैखाले परिस्थिति सहन सकेको देखेर छक्क परेँ।

तर राति सुत्दा सँधै समस्या पाथ्र्यो । सुत्ने कोठालाई बारेर एक साइडमा धान थुपार्ने कुथी बनाइएको थियो । धान खाने मुसालाई के चाहियो ? राति बत्ती निभाउने बित्तिकै आतंक सुरु भइहाल्ने ।

बत्ति बाल्यो, भाग्ने ।एक रात मुसा कति रहेछ भनी कुथीको झ्याल नजिकै बत्ति बालेर हेरेँ । अहो ! लामा–लामा पुच्छरका मुसाहरु ४०/५० वटा भन्दा बढी थिए होलान् । जिऊ नै सिंरिंग पार्ने । मुसालाई के चाहियो र ? किसानको घर, कुथीको धान खान सजिलो । माटोको घर, दुलो बनाएर लुक्न सजिलो । ती मूसाका पूच्छरहरु अहिले पनि मेरो आँखामा आउँछ ।

०००

कहिलेकाहीँ काठमाडौं एयरपोर्ट नजिकैको घरमा बैठक हुने गर्थ्यो । बैठकपछि कहिलेकाही त्यही घरमा बस्नु पर्थ्यो । एकदिन त्यो घरमा मौरी भुनभुनाउन थाल्यो । किसानको परिवारमा नजन्मेको, मौरीले के गर्छ भन्ने थाहा नपाएको मान्छे म । समस्या लागेर घरको कमरेडलाई जानकारी दिएँ ।

‘घार भएर आएको हो, मौरीले त केही गर्दैन, चिन्ता मान्नु पर्दैन’ भनेर सान्त्वना पाएपछि बल्ल कोठातिर पसे । तर माहुरी मेरो छेउ आइनपुगोस् भनी सकर्त भएरै रात कटाएँ । भूमिगत राजनीति गर्दाका रातहरुमा रत्ताम्मे पार्ने जुकाले मात्र होइन, घरमै पालिएका मौरीको त्रासले पनि सताउने गर्थ्यो ।

०००

मान्छेहरू राजनीतिक अनुभवका कुरा गर्दा मित्र र शत्रुका व्यवहारहरू, सफल र असफल आन्दोलनहरू, विद्रोह र दमनका कुराहरू, विजय र पराजयका कुराहरू गर्ने गर्छन् । जबकि राजनीतिमा प्रकृति, अभाव र अन्य खालका परिस्थितिसँग जुध्नुपर्ने पाटो पनि हुँदो रहेछ ।

कहिलेकाँही क्रान्तिका ठूला सपना देख्नेहरूको यात्रामा जुका, लामखुट्टे, उपिँया, मौरी, मुसाहरू पनि बाधक बनिदिन्छ । तर जे होस् सबै परिस्थितिलाई पार गर्दै हिंड्ने ठूलो जमात भएकै कारण आन्दोलन सफल भएको हो । गणतन्त्र देख्न पाएको हो । जुन कुरा अहिलेका पुस्ताले बुझ्नुपर्छ । राजनीतिज्ञहरूले पनि हेक्का राख्नु पर्छ– अहिले पनि धेरै मानिस जुका, जुम्रा र मुसाहरूसँग जुधिरहेकै छन् । उनीहरूका लागि गरिनुपर्ने राजनीतिक काम सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?