
२४ जेठ, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डल पूर्व एमाले कार्यकर्ता हुन् । एमालेबाट लामो समय राजनीति गरेका मण्डल २०७९ सालको निर्वाचनमा एमालेबाट चुनाव लड्न चाहन्थे ।
तर जसपा नेपालसँग गठबन्धन गरेपछि एमालेले मोरङ क्षेत्र नम्बर ५ जसपालाई दियो । पार्टीसँग असन्तुष्ट बनेका मण्डलले स्वतन्त्र उम्मेदवारी दिए, कल छाप लिएर चुनाव लडेका उनले दलको भन्दा सुविधाजनक मतसहित प्रतिनिधिसभा निर्वाचित भए ।
निर्वाचित भएपछि उनी एमालेमा फर्किएनन् । नेताहरूले पार्टीमा फर्काउन चाहँदा पनि उनी मानेनन् । स्वतन्त्र सांसदकै रुपमा रहे ।
शनिबार भने तिनै मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको काम देखाउन मोरङ क्षेत्र नम्बर ५ मा बोलाए ।
सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने संस्थाको रुपमा एकै पटक २०० बेडसहित जीवन विकास सामुदायिक अस्पताल उद्घाटनका लागि उनले ओलीलाई बोलाएका हुन् ।
१० हजार बढी स्थानीय उपस्थित भएको अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सही मान्छेलाई जिताएको भन्दै जनतालाई धन्यवाद दिए ।
‘पहिले पनि उहाँ नेकपा एमालेको कार्यकर्ता हुनुहुन्थ्यो, आजको कुरा छँदैछ, उहाँ माननीय हुनुहुन्छ, भोलिका कुरा नगरौं,’ उनले भने, ‘म यहाँका समुदायलाई, आम जनतालाई धन्यवाद भन्न चाहन्छु, वास्तवमा तपाईंहरूले योग्य प्रतिनिधि, उम्मेदवार त थुप्रै हुनुहुन्थ्यो होला, को को हुनहुन्थ्यो, पार्टी पार्टीका थिए, योगेन्द्र मण्डललाई जिताउनु भयो, ठिक उम्मेदवार जिताउनु भयो म धन्यवाद दिन्छु ।’
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले इच्छाशक्ती भए काम गर्न सकिन्छ भन्ने उदारण सांसद योगेन्द्र मण्डलले दिएको बताए ।
‘विकास अभियान्ताले, जागरण अभियान्ताले कस्तो काम गर्न सक्दा रहेछन् भन्ने नमुना जीवन विकास सामुदायिक अस्पताल बनेको छ,’ उनले भने, ‘यतै धेरै काम सरकारको प्रयास बिना पनि, व्यक्तीगत र सामुदायिक प्रयासले हुन सक्दा रहेछन् उपयुक्त ढंगको लिडरसिप भयो भने ।’
‘नेतृत्व यस्तै विकास प्रेमी र भिजिनरी हुनुपर्छ,’ उनले भने, ‘जनप्रतिनिधि यस्तैं (योगेन्द्र मण्डल तर्फ हेर्दै) हुनुपर्छ, कामको नेता हुनुपर्दछ, कुराको नेता होइन ।’
जीवन विकास अस्पतालले विरामीलाई सस्तो सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
‘उपचार गर्ने कुरालाई प्राथमिकतामा राखेर जसरी अघि बढेको छ, यो चुनौतिपूर्ण काम हो,’ उनले थपे, ‘ इन्सुरेन्स नभइकन सम्पन्न भन्दा सम्पन्न देशले पनि गर्न सक्दैनन, तर यस अस्पतालले कुनै पनि
विरामीलाई पैसा नभएपनि फर्कन दिन्न भन्ने जुन अठोट गरेको छ, यो दुनियाँमा बहुत थोरै अस्पतालले मात्रै गर्छन् ।’
अस्पतालले विपन्न र कमजोर अवस्था भएका समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच दिने विश्वास पनि उनले व्यक्त गरे ।
प्रधानमन्त्री ओली भन्दा अघि बोलेका सांसद मण्डलले आफूले एमालेमा जान्छ कि भन्ने शंका नगर्न आग्र गरे । ‘मैले एमालेमा जानलाई प्रधानमन्त्रीलाई यहाँ निम्तो गरेको होइन, तपाईंहरूको सामुन्नेमा प्रधानमन्त्रीले केही कुरा राख्नुहुन्छ भन्ने मेरो सोच हो ।’ उनले भने ।
अध्यक्ष मण्डलका अनुसा, जीवन विकास अस्पतालले मुनाफा वितरण गर्दैन । उनका अनुसार सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने संस्थाको रुपमा एकै पटक २०० बेडसहित सेवा सुरु गर्ने जीवन विकास अस्पताल नेपालकै पहिलो अस्पताल भएको हो ।
अस्पताल सञ्चालक समिति सदस्य संजयकुमार मण्डलका अनुसार जीवन विकाससँग जोडिएका महिलाहरुसँगको आर्थिक कारोबार गर्दा संस्थाले गरेको मुनाफा अस्पतालको रुपमा नागरिकलाई नै फर्काएको बताए ।
‘जीवन विकास समाजले लघुवित्त सेवा प्रदान गर्दा सरप्लस भएको बचत फेरि तपार्इंहरूलाई नै फर्काएका छौं,’ उनले भने, ‘२५ वर्षअघि माननीय योगेन्द्र मण्डलले देख्नु भएको सपना आज साकार भएको छ ।’
एउटा कोठाबाट सुरु भएको २४ घण्टे क्लिनिकको विकसित रुप आजको अस्पताल भएको उनले बताए ।
२०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
प्रतिक्रिया 4