
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दै गएको छ र काठमाडौं अवतरणमा ढिलाइ भएको छ।
- अध्यागमन विभागका प्रमुख गोविन्द रिजालले प्राविधिक कारणले ढिलाइ भएको बताए र थप ४० नेपाली डिपोर्ट हुन सक्ने अनुमान छ।
- सन् २०२१ देखि २०२५ सम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या क्रमशः बढ्दो रहेको छ।
२५ जेठ, काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरू काठमाडौं अवतरणका लागि ढिलाइ भएको छ ।
अपरान्ह ४ : ४५ बजे काठमाडौं आउनेगरी यसअघि जानकारी भएको भए पनि उनीहरू आइपुग्न ढिलाइ भएको अध्यागमन स्रोतले जानकारी दिएको छ ।
उनीहरू नयाँ दिल्लीबाट ढाका हुँदै काठमाडौं आउन लागेकाले ढिलाइ भएको हो ।
‘प्राविधिक कारणले केही ढिलाइ भएको हुनसक्छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पछिल्लो अपडेटबारे थाहा छैन । आउँदै हुनुहुन्छ ।’
अध्यागमन स्रोतका अनुसार अमेरिकाले डिपोर्ट गरेका नेपालीहरूको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अनुमान छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।
भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ ।
अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।
ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।
अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।
डिपोर्ट हुनेहरुमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरू धेरै रहेको स्रोतले जनायो ।
अमेरिकाबाट नेपालीहरू डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरूमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।
डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।
प्रतिक्रिया 4