+
+
Shares

त्रिविमा उपकुलपति छनोट सिधै कि खुला ?

‘असारभित्रै त्रिविले नयाँ उपकुलपति पाउँछ’

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार शिक्षामन्त्री पन्त त्रिविको नियमअनुसार सर्च कमिटीले कुलपतिलाई सिधै नाम सिफारिस गर्ने योजनामा छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ जेठ २५ गते २१:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयन प्रक्रिया विवादास्पद रहेको छ।
  • सर्च कमिटीले विधि र प्रक्रिया तय गर्न अध्ययन गरिरहेको छ।
  • असारभित्र नयाँ उपकुलपति नियुक्ति हुने अपेक्षा गरिएको छ।

२५ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरे ।

तर, समितिले उपकुलपति छनोटको प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको छैन । मन्त्रालयमा सचिव हेरफेर भएका कारण पनि ढिलाइ भएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सर्च कमिटीले कुलपतिलाई सिधै उपकुलपतिको नाम सिफारिस गर्ने वा खुला आह्वान गर्ने भन्नेमा छलफल चलिरहेको छ ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार शिक्षामन्त्री पन्त त्रिविको नियमअनुसार सर्च कमिटीले कुलपतिलाई सिधै नाम सिफारिस गर्ने योजनामा छन् ।

‘फास्ट ट्र्याकबाट नाम सिफारिस गर्ने योजना मन्त्रीज्यूको छ’, शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने । यसबारे शिक्षामन्त्री आफैं भने बोलेका छैनन् । शिक्षामन्त्री पन्तले विधिबारे अध्ययन भइरहेको बताउँदै आएका छन् ।

२०८० सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले खुला आह्वान गरेको थियो । जसअनुसार प्राडा केशरजंग बराल उपकुलपति बनेका थिए । तर बरालले १३ महिनामा नै राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद खाली छ ।

बरालको राजीनामापछि नयाँ उपकुलपतिको खोजीसँगै कुन विधिबाट नाम सिफारिस गर्ने भन्ने विषय पनि बहसमा आएको छ । गत १५ चैतमा बरालले राजीनामा दिएका थिए ।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ मा  समितिको सिफारिसमा कुलपतिबाट उपकुलपतिको नियुक्ति हुने भनिएको छ ।

‘विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस पेश गर्न कुलपतिबाट सह-कुलपतिको अध्यक्षतामा सभाका दुई जना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट उपकुलपति नियुक्ति हुनेछ,’ उक्त दफामा भनिएको छ ।

यही नियमको आधारमा सिधै तीन जनाको नाम सिफारिस गर्न खोजिएको हो । त्रिविको यो नियमअनुसार सर्च कमिटीले सिधै नाम सिफारिस पनि गर्न सक्नेछ ।

विधिको विषयमा त्रिविका पूर्वपदाधिकारीहरूको फरक-फरक राय छ । खुला आह्वान गर्दा योग्यले निवेदन चढाउन नजाने जोखिम रहने तर्क गर्छन् पूर्वउपकुलपति केदारभक्त माथेमा  ।

‘सर्च कमिटीले राम्रो मान्छे खोजेर सिफारिस गर्दा पनि हुन्छ । खुला आह्वान गर्दा योग्य व्यक्ति निवेदन हाल्न जाँदैनन्,’ माथेमाले भने, ‘स्वार्थमा पनि भर पर्ने कुरा हो । पार्टीको ल्याउने कि राम्रोलाई ल्याउने ? राम्रो ल्याउने हो भने सर्च कमिटीले खोजेर सिधै नाम सिफारिस गर्दा उपयुक्त हुन्छ ।’

राजनीतिक आस्थाको आधारमा उपकुलपति बनाए जुन विधि अपनाए पनि त्यसको अर्थ नहुने मत माथेमाको छ । ‘त्रिवि हाँक्न सक्ने क्षमता भएकोलाई उपकुलपति बनाउनुपर्छ । अलिकति निकट चाहिन्छ भन्यो भने जुन विधि भए पनि फरक पर्दैन,’ उनले भने ।

त्रिविका पूर्वशिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल गत वर्षदेखि खुला विधिबाट सुरु भएकाले यसैलाई निरन्तरता दिन उपयुक्त हुने बताउँछन् ।

‘पुरानो विधि सर्च कमिटीले सिधै नाम सिफारिस गर्ने हो । गत वर्षदेखि खुला विधिबाट सुरु भएको छ । कहिले के, कहिले कुन गर्नुभन्दा अब सर्च कमिटीले कार्यविधि बनाएर उपकुलपतिको खोजी गर्दा उपयुक्त हुन्छ,’ उनले भने, ‘कसरी कुन विधिबाट गर्ने त्यो अधिकार सर्च कमिटीको हो ।’

गत वर्ष खुला आह्वान गरेर मेरिटको आधारमा नियुक्ति गर्दा पनि दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाएको भन्दै प्रश्न उठेको थियो । यसपटक कुन विधिबाट छनोट गर्ने भनेर सर्च कमिटीले निर्णय गरिसकेको भने छैन । सर्च कमिटीका अनुसार विधिको विषयमा अध्ययन भइरहेको छ ।

‘बैठक बसेर काम अगाडि बढाएका छौँ । मोडालिटी तयार गर्दैछौँ । अहिलेको आवश्यकता अनुसारको विधि बनाउँछौँ,’ समिति सदस्य गीताकुमारी पौडेलले भनिन् ।

बरालले उपकुलपतिबाट राजीनामा दिएपछि शिक्षाध्यक्ष खड्ग केसीलाई तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिइएको छ । २ वैशाखमा केसीलाई जिम्मेवारी दिइएको थियो । केसीलाई उपकुलपतिको जिम्मेवारी दिएको तीन महिनाको समय असारमा सकिनेछ ।

सर्च कमिटीका अनुसार त्रिविले असारभित्र नै नयाँ उपकुलपति पाउनेछ ।  ‘सचिव पनि आउनुभयो । अब असारभित्र काम सक्छौं,’ पौडेलले भनिन् ।

उपकुलपतिका आकांक्षिहरूले दौडधुप पनि सुरु गरेका छन् । ‘आकाङ्‍क्षीहरूको नाम आइरहेको छ । तर कुन विधिबाट छनोट गर्ने निर्णय भएपछि व्यक्तिको विषयमा छलफल हुन्छ । विधि नै नभई यो वा त्यो व्यक्तिको नाम लिनुको अर्थ हुँदैन,’ मन्त्रालयका ती अधिकारीले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?