+
+
Shares

नेपालमा ‘राइड सेयरिङ’ का सवा लाख राइडर, १० लाख प्रयोगकर्ता

नेपालमा कति व्यक्तिले राइड सेयरिङ सेवा प्रयोग गर्छन् भन्ने आधिकारिक तथ्यांक छैन । राइड सेयरिङ प्लेटफर्मले आफ्ना प्रयोगकर्ता संख्या बढाएर प्रस्तुत गर्ने गरेको यस क्षेत्रका जानकार बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते २१:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा इन्ड्राइभ, पठाओ, टुटल, जुमजुम, ट्याक्सीमान्डु, सहारा, सजिलो, इन्ड्राइभ नेपाल, यांगो लगायत राइड सेयरिङ एप सञ्चालनमा छन् ।
  • नेपालमा कति ड्राइभर छन् भन्ने प्रश्नमा इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले हजारौंको संख्यामा त्यस्ता राइडर रहेको बताइन् ।

२५ जेठ, काठमाडौं । काठमाडौंका ट्याक्सी व्यवसायी दीपेन्द्र श्रेष्ठ पठाओ, इन्ड्राइभ जस्ता विभिन्न राइड सेयरिङ एप चलाउँछन् । ती एपका कारण उनलाई यात्रु पाउन धेरै सजिलो बनाएको छ । पहिला चोकहरूमा यात्रु कुर्नुपर्थ्यो । अहिले यात्रुले बोलाएको सूचना मोबाइलमै आउँछ । हत्तपत्त खाली बस्नुपर्दैन ।

तर, उनी पछिल्लो पटक राइड सेयरिङ कम्पनी विरुद्ध यातायात व्यवसायीले गरिरहेको आन्दोलनमा सहभागी छन् । उनको चिन्ता चाहिँ मोटरसाइकलले यात्रु बोके भन्ने हो । मोटरसाइकल राइडरले यात्रु नबोके महँगो भाडा लिएर अझै धेरै यात्रु पाइथ्यो भन्ने उनलाई लाग्छ ।

‘हाम्रो माग भनेको राइड सेयरिङ कालो नम्बर प्लेटका ट्याक्सीले मात्रै गर्न पाउनुपर्छ भन्ने हो । मोटरसाइकलले त बोकेकै थिए, निजी कारहरूले पनि यात्रु बोक्न पाए भने हाम्रो व्यवसाय डुबिहाल्छ नि,’ उनी भन्छन् ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय नेता प्रकाश अधिकारी पनि निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने व्यवस्थाका लागि आन्दोलन गरेको बताउँछन् ।

‘तपाईंहरू आफैंले राइड सेयरिङबाट फाइदा लिनुभएको छ त ?’ भन्ने प्रश्नमा उनले त्यो सत्य भएको बताए । तर, ‘रातो नम्बर प्लेटका गाडीलाई पनि यात्रु बोक्न दिए, भाडाका सवारीसाधनको के अर्थ ?,’ भन्ने उनको प्रश्न छ ।

यात्रु सार्वजनिक सवारी खोज्दै चोकचोक पुग्नुपर्ने बाध्यताबाट सवारीसाधन यात्रु खोज्दै घरसम्मै आउने संस्कृति सुरु भएको छ । सार्वजनिक सवारीसाधन कहिल्यै पनि निर्धारित समयमा गन्तव्यमा नपुग्ने हुँदा यसले समयको बचत पनि गराएको छ ।

काठमाडौं, पोखरा, चितवन, बुटवल–भैरहवा लगायत सहरमा दुई पाङ्ग्रे राइड सेयरले निकै लोकप्रियता कमाइरहेका छन् । त्यसो हुँदा सार्वजनिक यातायात र ट्याक्सीको मनोमानीमाथि राइड सेयरिङ प्लेटफर्मले ठूलो चुनौती खडा गरिरहेका छन् ।

राइड सेयरिङ सेवा नेपालमा सुरु भएको एक दशक पनि भएको छैन । तर, प्रमुख सहरमा बस्ने मानिसको जीवनशैली नै यसले बदलिदिएको छ । यात्रु सार्वजनिक सवारी खोज्दै चोकचोक पुग्नुपर्ने बाध्यताबाट सवारीसाधन यात्रु खोज्दै घरसम्मै आउने संस्कृति सुरु भएको छ । सार्वजनिक सवारीसाधन कहिल्यै पनि निर्धारित समयमा गन्तव्यमा नपुग्ने हुँदा यसले समयको बचत पनि गराएको छ ।

ट्याक्सीको तुलनामा यसको भाडा पनि सस्तो छ । दुई पाङ्ग्रे राइड सेयरको आधार भाडा ३० देखि ६० रुपैयाँसम्म छ भने प्रतिकिलोमिटर भाडा १५ देखि २५ रुपैयाँसम्म पर्छ । राइड सेयरिङ एपबीचमै प्रतिस्पर्धा हुँदा उनीहरूले राइडर, ड्राइभर र यात्रुलाई विभिन्न छुट सुविधा पनि प्रदान गर्ने गर्छन् ।

राइड सेयरिङ प्रयोगकर्ता कति ?

नेपालमा कति व्यक्तिले राइड सेयरिङ सेवा प्रयोग गर्छन् भन्ने आधिकारिक तथ्यांक छैन । राइड सेयरिङ प्लेटफर्मले आफ्ना प्रयोगकर्ता संख्या बढाएर प्रस्तुत गर्ने गरेको यस क्षेत्रका जानकार बताउँछन् ।

नेपालमा इन्ड्राइभ, पठाओ, टुटल, जुमजुम, ट्याक्सीमान्डु, सहारा, सजिलो, इन्ड्राइभ नेपाल, यांगो लगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । तीमध्ये इन्ड्राइभ र पठाओ सबैभन्दा लोकप्रिय राइड सेयरिङ एप हुन् ।

‘नेपालमा करिब १० लाख मानिसले राइड सेयरिङ सेवा प्रयोग गर्ने गरेको अनुमान छ,’ यसबारे अध्ययन गरिरहेका एक व्यवसायीले भने ।

काठमाडौं उपत्यकामा मात्रै करिब १ लाख २५ हजार ड्राइभर र राइडर रहेको अनुमान यो बजारमा सक्रिय खेलाडीको छ । त्यसबाहेक पोखरा, चितवन, बुटवल भैरहवा लगायत सहरमा राइड सेयरिङ सेवा सञ्चालनमा छ ।

‘एउटै राइडर र ड्राइभरले धेरैवटा एप प्रयोग गर्ने हुनाले ग्राहक र राइडरको यकिन तथ्यांक भन्न गाह्रो छ,’ उनले भने ।

देशभरि करिब ८० देखि ९० हजार टिप राइड हुने गरेको उनीहरू बताउँछन् । ‘दुई पाङ्ग्रेमा नेपालमा पठाओको बजार हिस्सा सबैभन्दा बढी छ । चार पाङ्ग्रेमा इन्ड्राइभ एक नम्बर हो,’ ती व्यवसायी भन्छन् ।

यी दुईसहित सीमित मात्रामा टुटल, जुमजुम लगायतले सेवा दिइरहेका छन् ।

विदेशी एपको वर्चस्व

नेपालको पहिलो राइड सेयरिङ कम्पनी टुटल हो । पुस २०७३ मा टुटलले ‘मोटरसाइकल र ट्याक्सी’ मा राइड सेयरिङ सेवा सुरु गरेको थियो । त्यसपछि बंगलादेशमा मुख्यालय भएको पठाओ नेपाली बजार प्रवेश गर्‍यो ।

टुटल र पठाओबीच केही वर्ष प्रतिस्पर्धा टुटल केही वर्ष बन्द भएपछि पठाओको एकछत्र बजार हिस्सा कायम भएको थियो । त्यसबीचमा बहुराष्ट्रिय राइड सेयरिङ कम्पनी इन्ड्राइभ नेपाली बजारमा आएपछि यो पनि प्रभावशाली देखिएको छ ।

अहिले नेपालमा यी दुवै प्लेटफर्मले आफूलाई सबैभन्दा ठूलो दाबी गरिरहे पनि पठाओको नै सबैभन्दा ठूलो हिस्सा भएको उनीहरूको भनाइ छ ।

‘दैनिक १५ हजार टिपको हाराहारीमा राइड सेयरिङबाट ट्याक्सीहरू प्रयोग हुन्छन्, त्यसमा भने इन्ड्राइभ पहिलो छ । पोखरामा पठाओको तुलनामा इन्ड्राइभले पहिला सेवा सुरु गरेकाले त्यो नै सबैभन्दा ठूलो खेलाडी हो,’ उनले भने ।

पठाओ विश्वव्यापी रूपमा ५० लाख डाउनलोड भएको देखिन्छ भने इन्ड्राइभ विश्वभरिबाट १० करोड डाउनलोड भएको छ । तर, नेपालमा मात्रै कति डाउनलोड भएको छ भन्ने तथ्यांक छैन । नेपालमा मात्रै सञ्चालनमा रहेको टुटल १ लाख, ट्याक्सीमान्डु १ लाख तथा जुमजुम १ लाख डाउनलोड भएको देखिन्छ । त्यस्तै, रसियन आईटी कम्पनी यान्डेक्सको लगानी भएको यांगोले पनि नेपालमा राइड सेयरिङ सेवा सुरु गरेको छ ।

नेपालमा कति ड्राइभर छन् भन्ने प्रश्नमा इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले हजारौंको संख्यामा त्यस्ता राइडर रहेको बताइन् ।

यस विषयमा बुझ्न खोज्दा पठाओ नेपालकी बजार प्रमुख सुरक्षा हमालले कुनै प्रतिक्रिया दिइनन् ।

राइड सेयरिङप्रति सधैं नकारात्मक संघीय सरकार, प्रदेशको नियमावली समेत रोकियो

टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनीले नेपालमा सेवा दिन थालेदेखि नै संघीय सरकारले त्यसलाई बन्द गर्ने प्रयास गरेको थियो । २०७३ सालमा नै यातायात व्यवस्था विभागले सूचना जारी गरी राइड सेयरिङ अवैधानिक भएको जनाएको थियो ।

यातायात व्यवसायीको उक्साहटमा १ माघ २०७५ देखि त ट्राफिक प्रहरी लगाएर राइड सेयरिङ गर्ने राइडरमाथि कारबाही नै थालिएको थियो ।

सामाजिक सञ्जालमा सेवाग्राहीले सरकारी कदमको चर्को विरोध गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४ माघमा नवप्रवर्तन (इनोभेसन) लाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न निर्देशन दिए ।

तर, ४ मंसिर २०७६ मा यातायात व्यवस्था विभागले निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन भाडामा चलाए कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसलगत्तै पठाओका एक चालकलाई ट्राफिकले जरिवाना गर्‍यो । जनस्तरबाटै विरोध भएपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले फेरि निर्देशन दिएर यस्तो कारबाही रोकेका थिए ।

२७ फागुन २०७६ मा ट्याक्सी व्यवसायीले टुटल र पठाओ विरुद्ध कार्यालय घेराउ गरेपछि मध्यरातमा यातायात व्यवस्था विभागले सूचना निकाल्दै फेरि भनेको थियो, ‘विभिन्न प्रयोजनमा दर्ता भएको सवारी सार्वजनिक सवारीका रूपमा प्रयोग नगर्नू, गरे कारबाही हुन्छ ।’

फेरि सरकारी कदमको विरोध भयो । २९ फागुन २०७६ मा उच्च अदालत पाटनले ट्याक्सी व्यवसायी संघले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै तत्काल राइड सेयरिङ सेवालाई नरोक्न र आवश्यक कानुन बनाएर चल्न दिन परमादेश दिएको थियो ।

सर्वोच्च अदालतले पनि पुस २०८१ मा राइड सेयर गर्ने अभ्यास र व्यवसाय बन्द गर्ने होइन, कानुनी मापदण्डमा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

सर्वोच्च अदालतले आफ्नो आदेशमा भनेको छ, ‘राइड सेयरिङ जस्ता यातायात व्यवसायको सम्बोधनका लागि यथाशक्य चाँडो पर्याप्त कानुनी प्रबन्धका लागि आवश्यक पहल गर्नू ।’

तर, सर्वोच्चको आदेश बमोजिम संघीय सरकारले अहिलेसम्म कुनै कानुनी प्रबन्ध गरेको छैन ।

नेपालको यातायात सम्बन्धी कानुनमा निजी सवारीसाधनमा भाडाका यात्रु बोक्न नपाइने व्यवस्था छ । पठाओ, इन्ड्राइभ लगायत राइड सेयरिङ एपले कानुन उल्लंघन गरी निजी दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधनमा यात्रु बोकाउन सहजीकरण गरिरहेको भन्दै अधिवक्ता श्यामकुमार श्रेष्ठले पठाओको दर्ता खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

तर, सर्वोच्चले राइड सेयरिङका कारण नागरिकको रोजगारीको हक, उपभोक्ताको हक सम्बोधन हुनुका साथै उद्यमशीलता र आर्थिक समृद्धिको विषय पनि सम्बोधन भएको भन्दै चालक र सेवाग्राहीलाई सिधा सम्बन्धमा जोड्ने अभ्यासलाई निरुत्साहित गर्न नहुने फैसला गरेको थियो ।

१८ माघ २०८० मा सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनामा राइड सेयरिङ सेवालाई सेवामूलक उद्योगका रूपमा स्वीकारेर वर्गीकरण समेत गरेको भन्दै सर्वोच्चले त्यसको दर्ता, इजाजत, कारबाही लगायत नियमन विषयमा अझै पनि कानुनी प्रबन्ध अभाव रहेको बताएको थियो ।

तर, संघीय सरकारले यससम्बन्धी कुनै कानुनी प्रबन्ध गरेको छैन । गण्डकी सरकारले यससम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएकोमा यातायात व्यवसायीको सिन्डिकेटले त्यसविरुद्ध देशभरि यातायात ठप्प पारेपछि संघीय सरकारले त्यसलाई स्थगन गर्न निर्देशन दिएको छ । त्यसपछि गण्डकी सरकारले एक महिनाका लागि नियमावली स्थगन गरेको छ ।

बागमती प्रदेशले पनि यससम्बन्धी नियमावली बनाउन खोजे पनि अहिलेसम्म सफल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?