
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मी जिल्ला खेलकुद विकास समिति २०८० माघदेखि कर्मचारीविहीन छ।
- कर्मचारी नहुँदा खेलकुदका कार्यक्रमहरू प्रभावित भएका छन्।
२६ जेठ, गुल्मी । झन्डै डेढ वर्षदेखि गुल्मी जिल्ला खेलकुद विकास समिति कर्मचारीविहीन भएको छ ।
कार्यालय प्रमुखको रूपमा रहेका डिल्ली बिक २०८० माघमा सरुवा भएयता गुल्मी खेलकुद विकास समिति कर्मचारीविहीन बनेको हो ।
खेलकुद विकास समिति गुल्मीमा प्रमुखसहित एक जना लेखा अधिकृत, कम्प्युटर अपरेटर र एक जना प्रशिक्षकको दरबन्दी भए पनि कार्यालय कुर्न अहिले एक जना कार्यालय सहयोगी मात्रै छन् ।
समग्र जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति लामो समयदेखि कर्मचारीविहीन हुँदा पनि जनशक्ति व्यावस्थापन हुन सकेको छैन ।
तेक्वान्दो, कराँते, भलिबल, एथ्लेटिक्स, बक्सिङ, उस्सु लगायतका प्रशिक्षक हुनुपर्ने भए पनि स्वयंसेवकहरूले प्रशिक्षण दिइरहेका छन् ।
जिल्लामा खेलकुद क्षेत्रको विकास र समृद्धिमा काम गर्ने प्रमुख संस्था नै जनशक्ति र प्रशिक्षक विहीन हुँदा खेलाडीहरू निराश छन् ।
काम चलाउ रूपमा कार्यालय सहयोगीलाई तलब खुवाउने बाहेक करिब एक वर्षदेखि आर्थिक तथा प्रशासनिक कुनै काम गर्न नसकिएको समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले बताए ।
कार्यालय प्रमुख र प्रशिक्षकका विषयमा राष्ट्रिय खेलकुद परिषद्मा जानकारी गराए पनि कुनै टुंगो नभएको महाकिमले बताए ।
जिल्ला खेलकुद विकास समिति गुल्मीले धेरै वर्षदेखि कर्मकान्डी रूपमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मात्रै गराउँदै आएको छ ।
लुम्बिनी खेलकुद परिषद्का सदस्य महेश काउछाले जिल्ला खेलकुद विकास समिति प्रमुखविहीन हुँदा काम गर्न कठिनाइ भएको बताए ।
प्रतिक्रिया 4