 
																			२६ जेठ, विराटनगर । राजनीतिक सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ९ वर्षपछि आफ्नो घर पुगेकी छन् । मोरङको रतुवामाई नगरपालिका– १० सातमेडी रहेको पति स्वर्गीय मदन भण्डारीको घर पुगेकी हुन् ।
चीन भ्रमण सकेर स्वदेश फर्किए लगतै विराटनगर आएकी भण्डारी सोमबार दिउँसो सातमेडी पुग्दा स्थानीय र पार्टीका नेताले स्वागत गरे । गाउँले र पार्टीका नेताका सामु उनले पति मदनको योगदान सम्झिइन् ।
करिब डेढ घण्टा घरमा बिताएकी उनले इष्टमित्र र आफन्तसँग पनि भेटघाट गरिन् । पति र भूमिगत राजनीतिको समय सम्झिएकी उनले पार्टी जन्मिएको स्थानलाई पार्टी नेताहरूले नहेरेको बताइन् ।
सातमेडीको विकास र पतिको घर संरक्षणमा पार्टी नेतृत्वले चासो नदिएको उनको गुनासो थियो ।
‘करिब १० वर्षपछि घर पुग्दा उहाँले विगत सम्झनुभयो, पुराना नेता र आफन्तसँग भेटघाट पनि गर्नुभयो,’ नेकपा एमाले मोरङका सचिव सोमराज थापा भन्छन्,‘वर्षाैपछि पुग्दा पनि ठाउँको विकास भएनछ भन्नुभयो ।’
उनका अनुसार पटकपटक पार्टीले सरकारको नेतृत्व गरेपनि पार्टी जन्मिएको स्थानलाई संरक्षण गर्न चासो नदिएको गुनासो पूर्वराष्ट्रपति भण्डारीको थियो ।

नेकपा एमालेका स्थानीय युवा नेता प्रवेश विष्टका अनुसार भण्डारीले पार्टीले सरकारको नेतृत्व गरेपनि पार्टी जन्मिएको स्थानलाई नहेरेको बताएकी थिइन् ।
भूमिगत कालमा मदन भण्डारीले संगठन गरेको घर अहिले मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा छ । घर पुरानै संरचनामा छ । भण्डारीको घर जग्गालाई तारबारले घेरेर राखिएको छ । कार्यक्रमका लागि एउटा हल पनि निर्माण गरिएको छ ।
भेटघाटका क्रममा स्थानीयले मदन भण्डारीको गाउँ विकासमा पछि परेको गुनासो गरेका थिए ।
पूर्वराष्ट्रपति भण्डारी बिहीबार विराटनगर आएकी थिइन् । शुक्रबा उपमेयर–उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गरिन् । त्यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको बिर्तामोड पुगिन् ।
देवी माध्यमिक विद्यालयमा पुगेर नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको तीन दिने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रमुख वक्ताको रुपमा सहभागी भइन् ।
राष्ट्रपतिको कार्यकालपछि एमालेकै ब्यानरमा भण्डारी प्रमुख वक्ता बनेको पहिलो कार्यक्रम थियो । पार्टीका कार्यक्रममा भण्डारी सहभागिता जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा असन्तोष व्यक्त गरेका थिए ।
झापाबाट आइतबार विराटनगर फर्किएकी भण्डारीले विराटनगरमा भेटघाट गरिन् । सोमबार बिहान भेटघाटपछि उनी पति मदनको घर पुगेकी थिइन् । फर्कदा रंगेली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भइन् । उनी भोलि मंगलबार काठमाडौं फर्कनेछिन् ।
 
                









 
                     
                                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4