+
+
Shares

सिकागोमा पहिलोपटक गुञ्जियो ‘नेपथ्य’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिकागोमा नेपथ्य ब्यान्डको कन्सर्टले नेपाली संगीत र पहिचान प्रवर्धन गर्यो।
  • उहाँले नेपाली लोक र रक शैलीको समागम प्रस्तुत गर्दै अमेरिकी सहरहरूमा प्रस्तुति दिए।
  • नेपथ्यले आफ्नो अमेरिकी यात्राको अन्तिम कार्यक्रम नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरोमा आयोजना गर्नेछ।

सिकागो (अमेरिका) । घामको उज्यालो छँदै सेफिल्ड एभिन्यू वरपर चहलपहल सुरु भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेर उभिएको ‘भिक (भिक्टोरिया) थिएटर’ बाहिर लामबद्ध दर्शक नेपाली लोकरक अनुभव गर्न व्यग्र देखिन्थे ।

जब ७ बजे ढोका खुल्यो उल्लासका साथ उनीहरू हलभित्र छिरे । ठीक ८ बजे चर्को आवाज र बत्तीको झिलिमिलीसहित सुरु भयो ‘नेपथ्य’ कन्सर्ट ।

अर्केस्ट्राका हलहरूदेखि लिएर ब्रोडवेका थिएटरसम्म धुम मच्चाएको सिकागो आफैँमा कला र संस्कृति प्रस्तुतिका लागि विश्व प्रसिद्ध नाम हो । त्यसै सहरमा पहिलोपटक उभिएको नेपथ्यले कोशी नदीको कथाव्यथा बोकेको डिल्ले दमाईंका सिर्जनालाई याद गर्दै साँझको थालनी गर्‍यो- ‘कोशीको पानी यो जिन्दगानी, सललल बहिजाने हाउ हजुर’ ।

नेपाली संगीतसँग परिचित आयरल्यान्ड मूलका डेनिस काभनाग पनि संजोगले हलभित्रै उपस्थित थिए । ‘परम्परागत नेपाली धुनहरू सुन्दै आएको हुँ,’ नेपाली साथीहरूले नेपथ्य कन्सर्टबारे जानकारी दिएपछि ब्राजिलियन गर्लफ्रेन्डका साथ आएका डेनिस भनिरहेका थिए, ‘यस ब्यान्डले यहाँ गाइरहेको भने विशुद्ध रक धुन हो, जसमा नेपाली लोक शैलीको मीठो समागम छ ।’

कन्सर्ट हेरेपछि आफूलाई नेपथ्य ब्यान्ड गजब लागेको सुनाए । यसले सिङ्गो हलमा उत्पन्न गर्ने ऊर्जाले झनै मोहित भएको उनको थप प्रतिक्रिया थियो । आफूले गायक अमृत गुरुङमा कता-कता अमेरिकी लोकगायक बब डिलनको झल्को भेटेको पनि डेनिसले उल्लेख गरे ।

यसपटक ७ अमेरिकी सहरलाई लक्ष्य गरेर महिनादिन लामो यात्रामा निस्केको ‘नेपथ्य’ले मे १७ मा टेक्सासको अस्टिनबाट श्रृंखलाको सुरुवात गरेको थियो । त्यसपछि सियाटल, लस एन्जलस, पिट्सबर्ग हुँदै पाँचौँ प्रस्तुतिका लागि नेपथ्य सिकागो आइपुगेको हो ।

सिकागोमा ‘नेपथ्य’का सर्वकालीक हिट गीतहरूदेखि लिएर राष्ट्रिय गीतहरूसम्म प्रस्तुत गरिएका थिए । ब्यान्डले भर्खरै सार्वजनिक गीत ‘कर्नालीका छाइला’ पनि सुनाएको थियो । कन्सर्ट हेर्नेकै भीडमा छ घण्टा मोटर हाँकेर मिनेसोटादेखि आएका रामकुमार राई पनि थिए । उनै राम दुई वर्षअघि नेपथ्य कन्सर्ट हेर्न मिनेसोटाबाटै तीन घण्टाको विमान यात्रा गरेर क्यानाडाको टोरन्टो पनि पुगेका रहेछन् ।

‘मेरा बुवाले असाध्यै मन पराउने ब्यान्ड हो यो । घरमा थुप्रिएका नेपथ्यका क्यासेट चक्का सुन्दै हामी हुर्केका हौँ,’ मूलथलो इलामका राम भन्दै थिए, ‘यस ब्यान्डले संगीत मात्र नभई हाम्रो भाषा र पहिचानको प्रवर्धन गर्ने मुख्य उद्देश्य पनि बोकेकाले मलाई विशेष लाग्छ ।’

नेपथ्यले विश्वकै महत्त्वपूर्ण सहरहरूमा इज्जतिलो उपस्थिति जनाउने नेपाली ब्यान्डका रूपमा पनि आफूलाई विकास गरेकामा अत्यन्तै गर्व लागेको पनि उनले सुनाए । सिकागोमा प्रस्तुति दिने क्रममा गायक अमृतले नेपालको पर्यटकीय महत्वदेखि लिएर सामाजिक न्याय अनि स्वदेशप्रति नयाँ पुस्ताको दायित्वजस्ता विषयमा धारणा पनि राखेका थिए । त्यस्ता क्षणमा दर्शकले हौसलाका साथ उनलाई साथ दिएको देखिन्थ्यो ।

आफूले भाषा नबुझे पनि अमेरिकामा रहेका नेपाली समुदायले आफ्नो पहिचानलाई कसरी माया गर्दो रहेछ भन्ने महसुस गर्ने मौका कन्सर्टमा पाएको भियतनामिज अमेरिकन सिड्नी फानले बताइन् । साथीसँग कन्सर्ट हेर्न आएकी उनले थपिन्, ‘हलका दर्शकको प्रतिक्रियाबाटै मैले मञ्चका कलाकारले पक्कै पनि प्रेम र शान्तिको गीत गाइरहेको हुनुपर्छ भनेर अनुमान लगाएकी थिएँ ।’

मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

कन्सर्टपछि हलबाट रमाउँदै बाहिरिएका दर्शकले गरेको प्रशंसाले स्थानीय आयोजक टिमका मनीष चौधरी प्रफुल्ल देखिन्थे । ‘सिकागोमा बस्ने नेपालीका निम्ति प्रस्तुतिको स्तर र सहभागिता दुबैको हिसाबले यो ऐतिहासिक आयोजना हुन पुग्यो’ मनीषको भनाइ थियो ।

नेपथ्य अब म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन सहरतर्फ लाग्नेछ । यस सहरको ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ मा प्रस्तुत हुनेछ । बोस्टनपछि नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ । ‘नेपथ्य’ पहिलोपटक प्रस्तुत हुन लागेको त्यस सहरको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ यस वर्षको श्रृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति हुनेछ ।

व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली अमेरिकाको यात्रामा छ । अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि ‘नेपथ्य’को आधिकारिक वेबसाइटबाट सिट सुरक्षित गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?