+
+
Shares

गोरखामा पेन्सन झिकेर फर्कने यात्रुबाट श्रृंखलाबद्ध चोरी, ३ जना पक्राउ

शहीद लखन गाउँपालिका–५ का चोकबहादुर थापा मगरसँग पनि उस्तै घटना दोहोरियो । ११ जेठमा लक्ष्मीबजारबाट पेन्सन बुझेर घर फर्कने क्रममा उनी चढेको बसभित्रैबाट उनको झोलामा रहेको नगद ५० हजार रुपैयाँ चोरी भयो ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ जेठ २७ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा जिल्लामा सार्वजनिक यातायातमा नगद चोरीका घटना बढेपछि प्रहरीले निगरानी र प्रविधि प्रयोग गरी तीन जना चोरीमा संलग्नलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा दिपक परियार, आशिक भुजेल र दाननारायण श्रेष्ठ रहेका छन् ।
  • प्रहरीले चोरी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

२७ जेठ, गोरखा । ७१ वर्षीय गिरिराज पन्त गत ८ फागुनमा पेन्सन निकाल्न गोरखा सदरमुकाम आइपुगे । बैंकबाट एक लाख नगद झिकेर घर फर्कन उनी सार्वजनिक यातायात चढे । करिब पाँच किलोमिटरको दुरी पार गर्न नपाउँदै उनको झोलाको एक लाख नगद चोरी भयो । यात्रुको भिडमा गण्डकी गाउँपालिका–२ निवासी उनले चोरी भएको पत्तै पाएनन् ।

गोरखा नगरपालिका–६ हरमटारीका ८२ वर्षीय गंगाबहादुर श्रेष्ठको पनि बस चढेकै बेला दुई लाख नगद चोरी भयो । ७ जेठमा पेन्सन बुझेर लक्ष्मीबजारबाट गोरखा बजार फर्कने क्रममा उनको झोलामा रहेको दुइ लाख रुपैया गायब भएको थियो ।

शहीद लखन गाउँपालिका–५ का चोकबहादुर थापा मगरसँग पनि उस्तै घटना दोहोरियो । ११ जेठमा लक्ष्मीबजारबाट पेन्सन बुझेर घर फर्कने क्रममा उनी चढेको बसभित्रैबाट उनको झोलामा रहेको नगद ५० हजार रुपैयाँ चोरी भयो ।

सार्वजनिक यातायातमै श्रृंखलाबद्ध रूपमा नगद चोरीका घटना हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गर्दै निगरानी बढायो । सीसी क्यामेरा फुटेजको सहारा लियो । विभिन्न प्रविधिको प्रयोग गर्‍यो । चोरी भएको क्षेत्र र बैंक आसपास सिभिलमा प्रहरी परिचालन गर्‍यो । पछिल्लो घटना भएको केही दिनपछि लक्ष्मीबजारबाट शंकास्पद दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो ।

‘केही दिन अघि उनीहरूलाई मास्कसहित हामीले लक्ष्मीबजार चोकमा देख्यौं,’ एसपी भरतबहादुर बिकले भने, ‘अघिल्लो घटनाको सीसीटीभी फुटेज हेर्दा अलि-अलि हुलिया मिल्ने भएकाले शंका लाग्यो अनि नियन्त्रणमा लिएर सोधपुछ गर्दा चोरी गरेको खुल्न आयो ।’

चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार पक्राउ पर्नेमा शहीद लखन गाउँपालिका-४ घर भई हाल चितवन बस्ने ४९ वर्षीय दिपक परियार, ३५ वर्षीय आशिक भुजेल र ४३ वर्षीय दाननारायण श्रेष्ठ रहेका छन् ।

उनीहरूको साथबाट २७ हजार ७ सय नगद र चोरीमा प्रयोग गर्ने नङकट दुई थान, चिम्टी एक थान र ब्लेड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

साथै दुई वटा मोबाइल पनि प्रहरीले उनीहरूको साथबाट बरामद गरेको छ । उनीहरूविरुद्ध चोरी सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?