+
+
Shares

भिजिट भिसा प्रकरणमा देउवालाई ओलीले भने- तपाईंको निर्णय मान्छु

‘कांग्रेसले निर्णय गरोस्, एमालेले मान्छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हामी यो प्रकणमा अगाडि लाग्दैनौं, कांग्रेसले गर्ने निर्णयको पछि लाग्छौैं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १९:५५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ दलहरू र विपक्षी दलहरूबीच भिजिट भिसा प्रकरणमा छलफल भइरहेको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको स्थिति स्पष्ट पारे र कांग्रेसले निर्णय अनुसार अघि बढ्ने संकेत गरे।
  • छलफलले निष्कर्ष निस्कन सकेन र बुधबार पुनः बैठक हुने तय भएको छ।

२७ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले सेफ ल्यान्डिङ खोजिरहेका बेला सत्तारुढ दलहरू छलफलमा जुटेका छन् । सोमबार बिहान नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूबीच भेट भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट झण्डै साढे दुई घण्टा चलेको थियो ।

उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओली, उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल र मुख्य सचेतक महेश बर्तौला थिए ।

कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र गृहमन्त्री रमेश लेखक थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार, एमालेले आफ्नो पोजिसन प्रष्ट गरेको छ । ‘हामी यो (भिजिट भिसा) प्रकरणमा प्रष्ट छौं । राजीनामा र छानबिन समिति दुवै मान्दैनौं,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

तर, कांग्रेसले गर्ने निर्णय मान्न तयार रहेको सन्देश कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री ओलीको छ । ‘कांग्रेसले निर्णय गरोस्, एमालेले मान्छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हामी यो प्रकरणमा अगाडि लाग्दैनौं, कांग्रेसले गर्ने निर्णयको पछि लाग्छौैं ।’

एमाले नेताहरू अगाडि बढेर आफूहरू गृहमन्त्रीको राजीनामा र छानबिन समित दुवैमा अगाडि बढ्न तयार नरहेकोमा प्रष्ट रहेको बताउँछन् । तर, कांग्रेसले निर्णय नै गरेर अगाडि जाँदा त्यसमा आपत्ति नजाउने उनीहरूको सन्देश छ ।

तर, छानबिन समितिमा सहमति गरे त्यसले उत्पन्न गराउने राजनीतिक परिस्थितिलाई ख्याल गर्न कांग्रेसलाई एमालेको आग्रह छ ।

छलफलमा एमालेका एक नेताले भनेका थिए, ‘गृहमन्त्रीज्यू छानबिन समितिका लागि तयार हुनुहुन्छ भने त्यस अगाडि नै राजीनामा उपयुक्त हुन्छ । पदमा बस्ने आफू मातहतको निकाय र कर्मचारीले गरेको बदमासीमाथि छानबिन गर्ने कुरा मिल्दैन ।’

गृहमन्त्री लेखकले जवाफ फर्काए, ‘यसमा म प्रष्ट छु । छानबिन समिति गठन हुने अवस्थामा म पदमा रहिरहने कुरा उचित हुँदैन ।’

एमालेसँगको छलफलपछि कांग्रेस नेताहरू छानबिन समिति नभनेर आवश्यक निकाय वा संयन्त्र गठन गर्ने भन्ने शब्द राखेर जानुपर्ने पक्षमा उभिएका छन् ।

यही भाव सोमबार कांग्रेसका नेताहरूले माओवादी केन्द्रका नेताहरूसँगको संवादमा राखेका छन् ।

कांग्रेसका नेताहरूसँग माओवादी अध्यक्ष प्रचण्ड स्वयं संवाद्मा छन् । यसका अलावा उपमहासचिवद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेत संवादमा छन् । मुख्य सचेतक हितराज पाण्डे पनि संवादमै रहेका छन् ।

भिजिट भिसा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरिदिएको विषय हो । यो विषय आएलगत्तै संसद्मा प्रवेश गरेको थियो । संसद्मा प्रवेश भएलगत्तै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकिरहेको छैन ।

विपक्षी दलहरूले सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेका थिए । पछिल्लो समय छानबिन समिति गठन गर्ने सुनिश्चितता भए संसद्को अवरोध खोल्न तयार भएका छन् । माओवादी केन्द्र यसबाट समेत पछाडि हटेर निकाय वा संयन्त्र बनाउने सरकारको प्रतिवद्धता आए संसद्को अवरोध खोलेर जान तयार भएको छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तयार भएको छैन ।

माओवादी केन्द्रका उपमहासचिव बस्नेतका अनुसार दलहरूबीचको सोमबारको छलफल निष्कर्षमा नपुगेपछि मंगलबार प्रतिनिधि सभाको बैठक नराखेर बुधबारका लागि राखिएको हो ।

सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले भनेका थिए, ‘सैद्धान्तिक दृष्टिले छानबिन गर्ने विषयमा हामी सबै एकै ठाउँमा छौं, कसरी गर्ने ? कसले गर्ने भन्ने बारेमा छलफल चलिरहेको छ, यस निम्ति थप छलफल आवश्यक पर्‍यो, यसकारण मंगलबार अलि सघन छलफल गरौं भनेर बैठक बुधबारलाई राखिएको हो ।’

तर, मंगलबार औपचारिक छलफल भने हुन सकेन । कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूबीच मंगलबार बिहादेखि होमवर्क गर्ने र साँझ ४ बजे पछाडि छलफलमा बस्ने अनौपचारिक सहमति भएको थियो । तर, मंगलबार साँझ पनि तीन दलका बीचमा औपचारिक छलफल हुन सकेन ।

बुधबार बिहान पुनः छलफलमा जुट्ने तय भएको छ । तर, समय यकिन भएको छैन । बुधबार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि राखिएको छ । नेताहरूका अनुसार त्यस अगाडि सहमतिको प्रयास हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?