
२८ जेठ, काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
‘उहाँविरुद्ध (दिलभुषण पाठक) साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । बाँकी विषय भने अनुसन्धानकै क्रममा छन्’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।
पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन ।
पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
घटना के हो ?
पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए ।
त्यसमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन् । साथै उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएका छन् ।
यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गरेको थियो । साथै त्यसविरुद्ध कानुनी प्रक्रिया अपनाउने उल्लेख पनि गरेको थियो ।
विज्ञप्तिमा लेखिएको छ, ‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्याउने कार्य भए गरेको प्रति गम्भिर आपत्ती जनाउँदै नेपालको प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अपनाइने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं ।’
प्रतिक्रिया 4