+
+
Shares

एउटी आमाको पत्र : छोरा सधैँ आफ्ना लागि मात्र नबाँच्नू

पूजा खड्का पूजा खड्का
२०८२ जेठ २८ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रेम र माया व्यक्त गर्दै पूजा खड्का ले आफ्ना छोरा र विद्यार्थीहरूलाई श्रम र संघर्ष गर्न प्रेरित गर्नुभएको छ।
  • उहाँले जीवनको अनिश्चितता र चुनौतीहरूलाई बुझ्न र सकारात्मक सोच राख्न आग्रह गर्नुभएको छ।
  • आमाले आफ्ना सन्तानलाई नैतिक मूल्यहरू, इमानदारी र सम्मानको महत्व सिकाउनुभएको छ।

प्रिय छोरा,

सर्वप्रथम त तिमी र तिमीजस्ता विद्यार्थी बाबुनानीहरूले स्वदेशमा नै करियर बनाउने निर्णय गरेकोमा खुसी छु ।

तिमी बढ्यौ, हुर्कियौ । तर, एउटी आमाको आँखामा आफ्ना छोराछोरी सधैँ साना लाग्छन् । अवोध लाग्छन् । त्यसैले हाम्रो आँखाबाट धेरै टाढा छैनौं, यही कुराले मन ढुक्क बनाउँछ । आज दुनियाँका छोराछोरी घरमा छैनन् । आमाबुवासँग छैनन् । अनेक परिबन्धले उनीहरू विदेशिएका छन् ।

आमाबुबा हुन्, आफ्ना छोराछोरीको खुसीका खातिर उनीहरूले आफ्नो खुसी त्यागेका छन् । किनभने हरेक बुबाआमा चाहन्छन्, मेरा छोराछोरी मसँग भइदियोस् । तर सबैको भागमा यस्तो सुख प्राप्त छैन । उनीहरूले नचाहेरै छोराछोरीलाई बिदाइ गरेका छन् । आँखाभरी आँसु र मनभरी पीडा बोकेर ।

छोरा, तिमीले कम्तीमा हामीलाई दुखेसो गर्ने ठाउँ दिएनौं ।

तिमीलाई पढाउन, तिम्रा स-सना सपना पूरा गर्न मैले धेरै पटक आफ्नो इच्छा थाती राखेकी छु । मैले आफैँलाई रित्याएर तिमीलाई भरिपूर्ण बनाउने प्रयास गरेकी छु । म मात्र होइन, हरेक आमाले यसरी नै आफूलाई रित्तो बनाउँछन् ।

त्यसैले यस्तो गल्ती नगर्नू, जसले आमाको मनमा आघात पुग्छ । श्रम गर, संघर्ष गर । हरेक समस्याको समाधान हो, श्रम । चाहे त्यो शारीरिक होस् वा मानसिक । आफ्नो श्रमलाई सधै विश्वास गर्नू ।

मिहेनत र लगनले आफूलाई सुशोभित बनाऊ । तिमी यस्तो बन्नुपर्छ, जसले हामीलाई सधै गौरव महसुस गरायोस् ।

संसार त्यती सजिलो छैन, जति तिमीले आमाको काखमा खेल्दा देखेको थियौ, बुबाको काँधमा चढ्दा देखेको थियौँ । संसारमा तिमीले चाहेजस्तो सबैकुरा ठिकठाक पनि छैन । त्यसैले संसारलाई बुझ । संसारलाई बुझ्नका लागि आफैंलाई बुझ । म को हुँ ? मैले के गर्नुपर्छ ? यी प्रश्नहरूको उत्तर आफैंभित्र खोजिहेर ।

जीवन एउटा अनिश्चित यात्रा हो, जसमा हरेक पाइलामा नयाँ पाठ सिकिन्छ । तिमीहरूले आफ्नो करियरको बाटो रोज्दा सधैं आफ्नो मनको कुरा सुन । पैसा र सफलता महत्वपूर्ण छन्, तर तिमीहरूका कामले, सन्तुष्टि र गर्वको अनुभूति दिनुपर्छ । तिमीहरूले जे गर्छौ, त्यसमा आफ्नो पूर्णमेहनत र लगनशीलता लगाउनू । असफलता आउन सक्छ, तर त्यसलाई हारको रूपमा नलिई सिक्ने अवसर ठान्नू । हरेक ठक्करले तिमीहरूलाई बलियो बनाउँछ ।

मानवीय मूल्यहरू जीवनको आधार हुन् । इमानदारी, करुणा र सम्मानले तिमीहरूलाई सधैं सही बाटो देखाउँछ । अरूलाई माया र सहयोग गर्न कहिल्यै नहिचकिचाउनू । यो संसारमा सानो सहानुभूतिले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । अरूको दु:खमा साथी बन्नु र आफ्नो सुखमा अरूलाई समेट्नू । सधैं सत्यको पक्षमा उभिनू, चाहे त्यो बाटो जति कठिन भएपनि ।

यो जगत् सुन्दर छ, तर चुनौतिपूर्ण पनि । यहाँ हरेक कुरा सधैं तिम्रा नियन्त्रणमा हुँदैन । तर तिमीहरूले आफ्नो मन र विचारलाई सधैं सकारात्मक राख्न सक्छौ । कठिन समयमा धैर्य राख्नू, र राम्रो समयमा कृतज्ञ बन्नू । तिमीहरू सपनालाई पछ्याउन कहिल्यै नडराउनू, तर सधैं आफ्नो परिवार र संस्कृतिलाई सम्मान गर्नू । तिमीहरू जहाँ गए पनि, तिमीहरूका जरा सधैं हाम्रो माया र संस्कारमा जोडिएको हुनेछ ।

तिमीले यो जीवनमा धेरै कुरा हासिल गर्नेछौ, तर सधैं नम्र रहनू । ठूलो सफलताले कहिल्यै मनलाई अहंकारी हुन नदिनु । सानो मुस्कान र मायालु व्यवहारले संसारलाई धेरै सुन्दर बनाउन सक्छ । मलाई विश्वास छ, तिमीहरूले आफ्नो बाटो आफैं बनाउनेछौ, र त्यो बाटो सधैं प्रेम, सत्य र मानवताले भरिएको हुनेछ ।

तिमीले देखेका सपनाहरू तिम्रा बाबा मम्मीका पनि सपना हुन् । हरेक दिन नयाँ उत्साहका साथ उठ, किताब खोल र आफ्नो भविष्यलाई आफ्नै हातले लेख । यो कुरा नबिर्स, ‘सिकाइ एक निरन्तर प्रक्रिया हो, र म हरेक दिन नयाँ कुरा सिक्न सक्छु ।’

                                                                                                                                                                                                                हरेक ममतामयी आमाको तर्फबाट
                                                                                                                                                                                                                              पूजा खड्का

(लेखक पूजा खड्का, गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही-६ दाङमा कार्यरत शिक्षिका हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?