
जापान, विश्वमै आधुनिक प्रविधि, व्यवस्थित समाज, अनुशासन, उत्कृष्ट शिक्षा र शान्ति सुरक्षाको प्रतीक देश हो। नेपालका युवाहरूका लागि यो देश पछिल्ला केही दशकयता अध्ययन र रोजगारीको प्रमुख गन्तव्य बनिरहेको छ। विशेषगरी, विद्यार्थी भिसामा जापान आउने नेपालीको संख्या पछिल्ला वर्षहरूमा उच्च दरमा वृद्धि भइरहेको छ।
जापानको अध्यागमन विभाग (इमिग्रेशन सर्भिस एजेन्सी)का अनुसार, २०२४ डिसेम्बरसम्ममा २ लाख ३३ हजार ४३ जना नेपाली जापानमा छन्। तीमध्ये ६४ हजार ८१६ विद्यार्थी भिसामा छन्। जापान विद्यार्थी सेवा संगठन (जेएएसएसओ) को रिपोर्ट अनुसार, २०२४ को मे १ सम्ममा जापानमा ३ लाख ३६ हजार ७०८ विदेशी विद्यार्थी थिए, जसमा चीनपछिको दोस्रो स्थानमा नेपाली थिए। यो तथ्यांक सार्वजनिक भएयता पनि थुप्रै नेपाली विद्यार्थी जापान भित्रिइसकेका छन्।
नेपालमा बसेर हेर्दा जापान अध्ययनको मात्रै होइन, सम्पन्न जीवनको पनि पर्याय जस्तै देखिन्छ। कन्सल्टेन्सीहरूले बनाएका रङ्गीन सपना, ‘काम गर, पैसा कमाऊ, पढ, बचत गर’ भन्दै तिनले देखाउने चमकमा युवाहरू आकर्षित हुन्छन्। तर जापान आइपुगेपछि अधिकांशको त्यो सपना केवल सपनामै सीमित हुन पुग्छ। यहाँ आइपुगेपछि विद्यार्थीको जीवन सुरु हुन्छ श्रमिक जीवनशैली अनि सँगै पढाइलाई अगाडि बढाउनुपर्ने बाध्यात्मक परिस्थिति पनि।
जापान सरकारले विदेशी विद्यार्थीलाई सातामा २८ घण्टा मात्रै काम गर्न अनुमति दिएको छ। १६–१८ लाख रुपैयाँ ऋण गरेर नेपालबाट आएका विद्यार्थीका लागि २८ घण्टा काम गरेर कोठा भाडा, कलेज शुल्क, खानपिन र ऋणको ब्याज तिर्न सम्भव हुँदैन। यसैले धेरै विद्यार्थी नियम विपरीत ‘ह्यान्ड क्यास’ (अवैध) काममा संलग्न हुन्छन्, जुन कानुनी रूपमा जोखिमपूर्ण हुन्छ। अध्यागमनले थाहा पायो भने विद्यार्थीको भिसा खारेज हुन सक्छ, नेपाल फिर्ता हुने खतरा पनि छ र भविष्यमा जापान पुनः आउन प्रतिबन्ध लाग्न सक्छ।
मानसिक तनाव, मौन पीडा
जापानमा रहेका नेपाली विद्यार्थीहरू आर्थिक मात्र होइन, मानसिक रूपमा पनि ठूलो पीडामा छन्। यहाँ महँगी उच्च छ। कोठा भाडा, विभिन्न बिल (जस्तैः पानी, ग्यास, बत्ती, सिम कार्ड) यातायात, हेल्थ इन्स्योरेन्स, ट्युसन फी आदिले विद्यार्थीलाई चौतर्फी चाप दिन्छ। कामको चाप, भाषागत अवरोध, फरक सांस्कृतिक र सामाजिक परिस्थितिले गर्दा मानसिक स्वास्थ्यमा असर पुर्याउने गर्छ।
पछिल्ला वर्षहरूमा केही नेपाली विद्यार्थीले आत्महत्या गरेको घटनाहरू समेत सार्वजनिक भएका छन्। यो स्थिति अत्यन्तै चिन्ताजनक हो। अध्ययन, जीवनयापन र ऋणको चपेटामा परेका धेरै विद्यार्थी भित्रभित्रै टुटिरहेका छन्, तर त्यो बाहिर व्यक्त गर्न सक्दैनन्। कतिपय रुममेटसँगको बेमेलको पीडामा पनि छन्। परिवारबाट टाढा भएको पीडा छँदैछ।
चुनौतीसँगै अवसर
यद्यपि, जापानमा चुनौती मात्रै छैनन्, यहाँ अवसर पनि छन्। त्यसका लागि जुन उद्देश्यका लागि जापान आएको छ, त्यो उद्देश्यमा पूरा ध्यान दिनुपर्छ। जापानको शिक्षा प्रणालीले विद्यार्थीलाई प्राविधिक, पेशागत र व्यावहारिक सीप सिकाउने विशेषता बोकेको छ। सेनमोन गाक्को जस्ता शिक्षालयहरूले विद्यार्थीकै क्षमता अनुसार दक्षता अभिवृद्धि गराउँछन्, जुन नेपाल फर्केर अपनाउन सकिन्छ, जसले आर्थिक सबलतामा उल्लेख्य भूमिका खेल्छ।
त्यो शिक्षा नेपालभन्दा बाहिर भविष्य खोज्नेहरूका लागि पनि सहयोगी हुन्छ। जापानको शिक्षा सीपमूलक र व्यावहारिक छ। यहाँ शिक्षालाई सीप विकास र दक्षतासँग जोडेर हेरिन्छ। कामको क्रममा विद्यार्थीले अनुशासन, समय व्यवस्थापन, ग्राहक सेवा, प्रविधिको प्रयोग र विविध संस्कृति सिक्ने अवसर पाउँछन्।
जापानी भाषा सिक्न गाह्रो भए पनि सिकेपछि यो विश्वभर मान्यता प्राप्त सीप बन्छ। धेरै नेपाली विद्यार्थी, जो सुरुमा भाषा बोल्न सक्दैनथे, उनीहरू अहिले ‘नटू नाइनेन’ (N2) वा ‘नाइनेन इच्ची क्यू’ (N1) पास गरेर दक्ष अनुवादक वा गाइडको रूपमा काम पनि गरिरहेका छन्। धेरै नेपाली विद्यार्थी भिसामा जापान आएर अध्ययन गरेर जापानमै सफल व्यवसायी पनि भएका छन्।
समुदाय र सहकार्यको सकारात्मक पक्ष
जापानका विभिन्न शहरहरूमा रहेका नेपाली विद्यार्थी संघ–संस्था, एनआरएन जापान र स्वस्फूर्त सहयोगी समूहहरूले दुःखमा परेका विद्यार्थीलाई सहयोग गरेका उदाहरण प्रशस्तै छन्। जस्तै– कोठा खोज्न सहयोग, मनोपरामर्श सेवा, कानूनी जानकारी र आपतकालीन राहत सबैमा समुदायको भूमिका महत्त्वपूर्ण रहँदै आएको पनि छ।
वास्तवमा, जापानमा नेपाली विद्यार्थीको आपसी सञ्जाल बलियो बन्दै गएको छ। धेरैजसो विद्यार्थीले दुःख सहँदै पनि अर्कोलाई दुःख नहोस् भनेर आफूले सिकेका कुरा बाँड्ने संस्कार विकास गरेका छन्, जुन नेपालीपन र नेपालीत्वको सकारात्मक झल्को दिन्छ।
अभिभावक र सरकारको जिम्मेवारी
जापान जाने सपना देख्ने विद्यार्थीका लागि नेपाल सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्छ। जापान पठाउनुअघि कम्तीमा तीन महिने पूर्वतयारी तालिम अनिवार्य गरिनुपर्छ, जसमा जापानी भाषा, संस्कृति, कानूनी नियम, वित्तीय योजना र मानसिक स्वास्थ्यको चेतना समावेश गरिनुपर्छ जस्तो लाग्छ।
नेपाल सरकार, शिक्षा मन्त्रालय र वैदेशिक अध्ययन विभागले र सम्बन्धित निकायले समन्वय गरेर यस सम्बन्धी सकारात्मक पहल र पैरवी गर्न सक्छन्। त्यस्तै, जापानस्थित नेपाली दूतावास, एनआरएन, नेपाली विद्यार्थी समाज जापान र स्थानीय नेपाली संघ–संस्थाले ‘विद्यार्थी सहायता केन्द्र’ सञ्चालन गर्न सक्ने खालको पहल गर्न आवश्यक छ। यस्तो केन्द्रले परामर्श, आवास, आपतकालीन राहत, कानूनी सहायता र रोजगारी सल्लाह प्रदान र सहयोग गर्न सक्छन्।
अभिभावकहरूले पनि विदेशलाई चमत्कारी ठान्न छाड्नुपर्छ। सबै जनाले छिट्टै कमाउँछन्, ऋण तिर्छन्, जमाउँछन् बनाउँछन् भन्ने सोच राख्नुहुँदैन। छिटो सबै कुरा प्राप्त हुँदैन, केही समय, वर्ष खर्चिनुपर्छ । जापान सम्भावनै सम्भावनाले भरिपूर्ण देश पनि हो। विद्यार्थीकालमै सबै सपना पूरा नगरे पनि त्यसपछि सपना पूरा गर्ने मार्ग प्रशस्त छन्। सफलतासँगै संघर्ष पनि अनिवार्य छ भन्ने यथार्थ स्वीकार्नुपर्छ।
जापान आउने नेपाली विद्यार्थीका लागि यहाँको जीवन सुनौलो अवसर र कडा संघर्षको संगम हो। जहाँ चुनौतीका पहाड छन्, त्यहाँ सम्भावनाका ढोका पनि खुला छन्। शर्त एउटै हो—सही तयारी, अनुशासन, मानसिक सन्तुलन र दीर्घकालीन दृष्टिकोण। जापानको अनुभव पीडा मात्र होइन, परिपक्वता र परिवर्तनको पाठ पनि हो। विद्यार्थीलाई पीडाको मात्र होइन, सम्भावनाको पनि कथा लेख्ने वातावरण दिनु सबैको जिम्मेवारी हो- सरकारको, समाजको, अभिभावकको र स्वयं विद्यार्थीको पनि।
प्रतिक्रिया 4