
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्रीले आफू झोले भएको कबुल गरेपछि दलहरूले यसलाई सामाजिक र राजनीतिक पहिचानको रुपमा प्रचार गरे।
- गनेस पौडेलले 'नायक हत्या' शृङ्खलामा मानव सभ्यताको इतिहास र नेपालको राजनीतिक परिदृश्यमा नायकहरूको हत्या र छायाँकरणको चर्चा गरे।
- काठमाडौंका मेयर बालेन शाहको स्वतन्त्र र जनमुखी कार्यशैलीले ठूला दलहरूलाई चुनौती दिँदै उनीमाथि असहयोग र आक्रमण भइरहेको छ।
शब्दहरूको अर्थ सधैं शब्दकोशमा हेरेर हुँदैन, यसलाई सामाजिक जीवनमा हेर्नुपर्छ। खासगरी राजनीतिको वरिपरि बसेर राजनीतिबाट आजीवन फाइदा लिने र शक्तिको वरिपरि रहनको निम्ति आफ्नो विवेकलाई बन्धक लगाउने अर्थमा चर्चित रहँदै आएको छ ‘झोले’ शब्द। प्रधानमन्त्रीले नै कबुल (कन्फेस) गरेर आफू झोले भएको सार्वजनिक जानकारी गराए।
त्यसपछि प्रधानमन्त्री सम्बद्ध दलका अर्थमन्त्रीदेखि महासचिव हुँदै सबैले त्यही पोस्टर सेयर गर्ने लहर चलाए। यस्तो लाग्यो कि यो उनीहरूले आर्जन गरेको नयाँ पहिचान हो। उनीहरूमा संस्कृति बन्दै गरेको झोले जिन्दगीको प्रवृत्तिलाई उजागर गर्न सहज हुने देखेर यो शब्दलाई आलेखमा प्रयोग गर्ने निर्णय गरेको हुँ।
नायक हत्याको शृङ्खला बोकेको समाज
केही समयदेखि लेखक गनेस पौडेलले आफ्नै सोलोकास्ट मार्फत महाभारत कथाको विवेचना गरिरहेका छन्। उनैले एउटा शृङ्खला ‘नायक हत्या’ यो समाजमा कति गहिरो गरी बसेको छ भन्ने विवेचना गर्दा कैयौं पौराणिक सन्दर्भदेखि आजको समयमा समेत त्यसका उदाहरणहरू दिएका छन्।
पौराणिक समाजदेखि आधुनिक युगसम्म, मानव सभ्यताको इतिहासमा नायकहरूको निर्माण र तिनको हत्या शृङ्खला निरन्तर चलिरहेको छ। यस्तो अभ्यास नेपालको राजनीतिक परिदृश्यमा पनि स्पष्ट देखिन्छ। महाभारत सम्बन्धी सोलोकास्ट ‘नायक हत्या’ शृङ्खलामा उनले महाभारतका पात्रहरू— जस्तै भीष्म, कर्ण, द्रोणाचार्य, भीम, नकुल र सहदेवको नायकत्वलाई अर्जुनको महिमामण्डनका लागि कसरी छायाँमा पारियो भन्ने देखाएका छन्।
नेपालको सन्दर्भमा आधुनिक नेपालको प्रशासनिक आधार तयार पारेका पृथ्वीनारायण शाहदेखि सुरु गरेर भीमसेन थापा कसरी षड्यन्त्रको सिकार बनाइयो ? लोकतन्त्रको जग बलियो बनाउन संघर्ष गरेका बीपी कोइरालाले जेल र अपमानको सामना किन गर्नुपर्यो भनेर लेखक पौडेलले उल्लेख गरेका छन्।
उनले त्यसमा हालैका उदाहरणमा कुलमान घिसिङ, जसले विद्युत् क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याए, उनलाई पनि बर्खास्ती र विवादको घेरामा पार्ने प्रयास भयो भनेर उल्लेख गरेका छन्।
यो ‘नायक हत्या’को प्रवृत्ति आज काठमाडौंका मेयर बालेन शाहमाथि पनि लागू भइरहेको देखिन्छ, जो युवा पुस्ताको आशा र नयाँ राजनीतिको प्रतीक बनेका छन्। बालेनले काठमाडौंमा विभिन्न अवरोधका बीच पार्किङ व्यवस्थापन, सीप मेला, सांस्कृतिक पुनर्जागरण र फोहोर व्यवस्थापन जस्ता जनमुखी कामहरू मार्फत पारदर्शी र निष्ठावान् नेतृत्वको उदाहरण प्रस्तुत गरेका छन्।
तर, ठूला दलहरू र बौद्धिक वर्गको एक हिस्साले उनको यो नायकत्वलाई कमजोर पार्ने रणनीति अपनाइरहेको देखिन्छ। बालेनमाथि विभिन्न आरोप, बदनाम गर्ने प्रयास र सत्ताको अवरोधले यही प्रवृत्तिलाई पुष्टि गर्छ।
उदाहरणका लागि, उनले काठमाडौंको फोहोर व्यवस्थापनमा गरेको प्रगति र सांस्कृतिक सम्पदाको संरक्षणमा देखाएको अठोटलाई कतिपयले व्यक्तिगत स्वार्थ वा प्रचारको रूपमा चित्रण गर्ने प्रयास गरेका छन्। यस्ता प्रयासहरूले उनको नायकत्वलाई ‘हत्या’ गर्ने उद्देश्य राख्छन्, जसरी महाभारतमा कर्णको दानवीरताको उपयोग उनकै विरुद्ध गरियो वा भीमको बललाई गीताको छायाँमा पारियो।
राजनीतिक एकाधिकारको समस्या
नेपालको राजनीतिक परिदृश्य लामो समयदेखि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको कब्जामा घुमिरहेको छ। गणतन्त्रको उदयसँगै यी दलहरूले सत्ताको बागडोर सम्हालेका छन्, र केही पहिचानवादी दलहरू र बेलाबखत आउने राजावादीहरूको उपस्थिति बाहेक, नेपालको राजनीति यिनै प्रमुख दलहरूको वरिपरि केन्द्रित छ।
यो परिदृश्यलाई समाजको चरम राजनीतीकरणले थप बल पुर्याएको छ। शिक्षक, कर्मचारी, न्यायालय, उद्योग–वाणिज्य संगठन, बुद्धिजीवी समूह, पेशागत संगठनदेखि गाउँका खानेपानी समितिसम्म, हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेपको गहिरो जरा गाडिएको छ।
यस्तो अवस्थामा यी दलहरूले जति नै अलोकप्रिय भए पनि, जति नै भ्रष्टाचार र बदमासी गरे पनि, निर्वाचनमा जित हासिल गरिहाल्छन् भन्ने आत्मविश्वास बोकेका छन्। उनीहरू आफूलाई सत्ताको स्वाभाविक हकदार ठान्छन्, मानौं सत्ता उनीहरूको जन्मसिद्ध अधिकार हो।
तर, यो आत्मविश्वासको आधार क्रमशः खण्डित हुँदैछ। देशमा सामान्य रोजगारीका अवसरहरूको अभाव, युवाहरूलाई स्वदेशमै टिकाउने आधारहरूको क्षयीकरण, र गाउँहरू रित्तिंदै गएको दु:खद् वास्तविकताले जनताको मनमा निराशा र आक्रोश बढाएको छ। अबको केही दशकमा सिंगो युवा पुस्ता विदेश पलायन भएको देख्नुपर्ने संकट गहिरिंदैछ।
यस्तो अवस्थामा ठूला दलहरूको नेतृत्वमा रहेको सरकारले प्रभावकारी काम गर्न नसक्दा, र बारम्बार सत्ताको दुरुपयोग गर्ने घटनाहरू बाहिर आउँदा, जनताको विश्वास झन् खस्किएको छ। हालै लन्च भएको रेटमाइनेता प्लेटफर्ममा नेताहरूलाई प्राप्त अपभोट र डाउनभोटले यो सत्यलाई प्रष्ट पार्छ। त्यो प्लाटफर्ममा हालसम्म ठूला राजनीतिक दलहरूका ठूला नेताहरू कसैको पनि १५ प्रतिशत पनि अप्रुभल रेटिङ छैन भने नयाँ पार्टीका नेता तथा स्वतन्त्रहरूको रेटिङ निकै राम्रो छ।
अंकमै भन्दा केपी ओली, गगन थापादेखि शेरबहादुर देउवाहुँदै धेरै नेताहरूको रेटिङ १० प्रतिशत भन्दा कम छ भने अर्कोतर्फ बालेन शाह, गोपी हमाल, सागर ढकाल, सुमना श्रेष्ठदेखि सोबिता गौतमसम्मको रेटिङ ९२ प्रतिशतभन्दा माथि छ।
हुन त यस्ता प्लेटफर्महरूले सम्पूर्ण जनसंख्याको राय प्रतिनिधित्व नगरे पनि ठूला दलहरूको जनसमर्थन, विशेषगरी युवा पुस्तामाझ स्वात्तै घट्दै गएको संकेत गर्छ। युवाहरूले यी दलहरूको गतिविधिमा आफूलाई सम्बन्धित देख्न छाडेका छन् र यो असन्तुष्टिको आगोले नयाँ राजनीतिक सम्भावनाहरूलाई जन्म दिएको छ।
गत निर्वाचन : नसोचेको खोलाले बगाएको क्षण

हुनत २०७४ कै स्थानीय निकायको निर्वाचनमा रन्जु दर्शना र किशोर थापाले अपत्यारिलो भोट लेराएकै हुन्। त्यसले २०७९ को मेयरको चुनावमा मान्छेहरूले नयाँ व्यक्तिलाई भोट हाल्ने सम्भावना त देखिएकै थियो तर बाजी नै मार्ने हैसियतमा पुग्छन् भन्ने धेरैलाई लागेको थिएन तर त्यो स्थानीय र आम निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा एउटा नयाँ अध्यायको प्रारम्भ गरेको छ।
स्वतन्त्र उम्मेदवारहरूले स्थानीय निकायको चुनावमा ल्याएको मत र त्यसलगत्तै भएको राष्ट्रिय चुनावमा दल खोलेर ६ महिनामै भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले ठूला दलहरूलाई अप्रत्यासित झट्का दिएको थियो।
निर्वाचनअघि यी दलहरूले सामाजिक सञ्जालको लोकप्रियता र शहरी जनमतलाई गम्भीरतापूर्वक लिएका थिएनन्। उनीहरूले यस्ता शक्तिहरूले केही मत त प्राप्त गर्न सक्लान्, तर ठूलो खतरा बन्न नसक्ने ठानेका थिए। तर, काठमाडौं महानगरपालिका लगायत केही उपमहानगरहरूमा स्वतन्त्र उम्मेदवारहरूको विजय र रास्वपाको अभूतपूर्व सफलताले उनीहरूको यो भ्रम चकनाचूर भएको छ।
रास्वपाले शहरी क्षेत्रमा ल्याएको मत र यसको प्रभावको कुरा ठूला दलहरूले राम्ररी बुझेका छन्। यस्ता नयाँ शक्तिहरूलाई कमजोर पार्न उनीहरूले विभिन्न रणनीति अपनाइरहेका छन्। नयाँ दललाई सरकारमा सहभागी गराएर फकाउने, नफकिएमा धम्काउने, असहयोग गर्ने वा घेराबन्दी गरेर बदनाम गराउने जस्ता कार्यहरूमा उनीहरू सक्रिय छन्।
उदाहरणका लागि, एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा र रवि लामिछानेप्रति देखाएको छोटो अवधिको सद्भाव त्यसैको एउटा हिस्सा थियो। रास्वपालाई सरकारमा सहभागी गराएर उनीहरूको नैतिक धरातल कमजोर बनाउने प्रयास सफल भएको देखिन्छ। रास्वपाले संसद्मा २१ सिट जिते पनि, रवि लामिछानेमाथिको कानूनी कारबाहीले उनीहरूको प्रभाव कम भएको छ। यसले ठूला दलहरूलाई रास्वपाबाट तत्काल ठूलो खतरा नरहेको आत्मविश्वास दिएको छ।
यही अवस्थामा उनीहरूको निशानामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन्। ठूला दलहरूले उनलाई बदनाम गर्ने, कमजोर पार्ने र उनको प्रभावलाई सिध्याउने रणनीति अख्तियार गरेको प्रष्ट देखिन्छ। तर, यो केवल व्यक्तिगत आक्रमण होइन; यो एउटा ठूलो आक्रमणको हिस्सा हो— जसको उद्देश्य वैकल्पिक राजनीतिक शक्तिको उदयलाई रोक्नु हो।
बालेन शाहमाथि किन आक्रमण?
धेरैलाई लाग्न सक्छ, बालेन शाहलाई सिध्याएर ठूला दलहरूले के प्राप्त गर्लान्? वा, बालेन को हुन् र उनलाई यति धेरै डराउनुपर्ने कारण के हो? यो प्रश्नको जवाफ बुझ्न उनको प्रभाव, उनको कार्यशैली र उनले प्रतिनिधित्व गर्ने सम्भावनालाई गहिरिएर हेर्नुपर्छ।
विश्वका धेरै राजधानीका मेयरहरूले ठूलो राजनीतिक पूँजी आर्जन गरेको इतिहास छ। उदाहरणका लागि, टर्कीको इस्तानबुल शहरका मेयरमाथि राष्ट्रपतिले गरेको षड्यन्त्रको विरोधमा लाखौं मानिस सडकमा उत्रिएका थिए। यस्तै कैयौं ठूला शहरहरूका मेयर त्यो देशको एक हिसाबले भावी कार्यकारी नेता हुने प्रचलन छ।
नेपालमा पनि बालेन शाह केवल काठमाडौंका मेयर मात्र होइनन्; उनी नयाँ राजनीतिको आशाको प्रतीक बनेका छन्। उनको निडर र पारदर्शी कार्यशैलीले विशेषगरी युवा पुस्तालाई आकर्षित गरेको छ।
बालेनले ठूला दलका नेताहरूसँग कुनै पनि प्रकारको लेनदेन वा सम्झौता गरेका छैनन्। उनको यो स्वतन्त्र र अडिग छविले ठूला दलका नेताहरूलाई असहज बनाएको छ। विशेषगरी हालका प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमालेले बारम्बार उनको सार्वजनिक आलोचना गरेका मात्र छैनन्, सकेसम्म घेराबन्दीमा पारेर सिध्याउने लक्ष्य राखेका छन्।
संघीय सरकारको नियन्त्रणमा रहेका कार्यकारी प्रमुखहरू र स्थानीय तहका कांग्रेस र एमालेका जनप्रतिनिधिहरूलाई प्रयोग गरेर बालेनमाथि असहयोग र घेराबन्दी गर्ने रणनीति अपनाइएको देखिन्छ। उदाहरणका लागि, कुनै कर्मचारीले गल्ती गरेको विषयमा बालेनले कारबाही गर्न खोज्दा ती कर्मचारीको सरुवा नगरेर वा अन्य जनप्रतिनिधिहरूलाई उचालेर उनलाई कमजोर बनाउने प्रयास भएको छ। यस्ता घटनाहरूले ठूला दलहरूको नियत स्पष्ट पार्छ— बालेनलाई असफल बनाएर उनको जनसमर्थनलाई खण्डित गर्नु।
त्यसैको योजना अनुसार केपी ओली प्रधानमन्त्री बन्नासाथ काठमाडौं महानगरको कार्यकारी अधिकृत परिवर्तन गरे। उनले एक कर्मचारी पठाए, उनीमाथि काठमाडौं महानगरको कार्यालयमा प्रवेश गरी नक्सापासको प्रणालीलाई बाइपास गरेर अनियमित तरिकाले नक्सा पासको अनुमति दिएको आरोप लागेको छ। स्वयं मेयरले उनलाई छानबिन गर्दा समेत केन्द्रीय सरकारले अर्को कार्यकारी अधिकृत नपठाई उनैलाई प्रयोग गरी अहिले मेयर शाहको दाहिने हात मानिने प्रहरी प्रमुखलाई बर्खास्त गराएको छ।

उपमेयर सुनिता डंगोलको अगुवाइमा निलम्बित प्रमुख प्रशासकीय अधिकृतलाई पुनर्बहाली गरेर बालेनलाई पहिल्यै कमजोर बनाइएको थियो। यो घटनाले ‘हामी झोले हौं र यसमा गर्व गर्छौं’ भन्ने राजनीतिक समूहको वर्चस्वलाई झल्काउँछ, जुन प्रधानमन्त्रीदेखि कार्यकर्तासम्म फैलिएको छ।
बालेनलाई किन उनीहरू खतरा देखिरहेका छन् ?
बालेन शाहले २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर जिते। उनी नेपालका ठूला राजनीतिक दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र) को परम्परागत वर्चस्वमाथि गम्भीर चुनौती बनेका छन्। उनको निडर, पारदर्शी र जनमुखी कार्यशैलीले विशेषगरी युवा पुस्ता र आम जनताको असन्तुष्टिलाई सम्बोधन गर्दै वैकल्पिक राजनीतिक शक्तिको उदयको सम्भावना प्रस्तुत गरेको छ।
काठमाडौं नेपालको राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्र भएकाले यहाँका मेयरको प्रभाव स्थानीय स्तरमा मात्र सीमित नरही राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत पुग्छ। यसको उदाहरण टर्कीको इस्तानबुलका मेयर एक्रेम इमामोग्लुमाथि राष्ट्रपति रेसेप तायिप एर्दोगानले गरेको षड्यन्त्र र त्यसविरुद्ध लाखौं जनताको सडक प्रदर्शनमा देखिन्छ।
बालेनले ठूला दलहरूसँग कुनै सम्झौता वा लेनदेन नगरी आफ्नो स्वतन्त्र छवि कायम राखेका छन्, जसले उनलाई जनताको नजरमा विश्वसनीय बनाएको छ। तर ठूला दलहरू, विशेषगरी एमाले अध्यक्ष ओलीले उनको सार्वजनिक आलोचना गर्दै आएका छन्।
बालेनको सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, भ्रष्टाचार विरुद्धको कडा अडान र फोहोर व्यवस्थापन, सडक मर्मत जस्ता स्थानीय मुद्दाहरूमा देखाएको सक्रियताले उनलाई युवा मतदाताहरूको आकर्षणको केन्द्र बनाएको छ, जसलाई ठूला दलहरूले आफ्नो परम्परागत मत आधार र सत्तामाथिको एकाधिकारमाथिको खतराको रूपमा लिएका छन्।
ठूला दलहरूको नियन्त्रणमा रहेको केन्द्र सरकार र स्थानीय तहमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूले बालेनको कार्ययोजनामा असहयोग गर्दै आएका छन्। उदाहरणका लागि, कर्मचारी सरुवा, बजेट विनियोजन र नीतिगत निर्णयहरूमा केन्द्रबाट अवरोध सिर्जना हुने गरेको छ। जबकि स्थानीय स्तरमा जनप्रतिनिधिहरूलाई बालेन विरुद्ध उक्साएर उनको नेतृत्वमाथि प्रश्न उठाउने प्रयास भइरहेको छ।
यी असहयोगहरूले बालेनको कार्यसम्पादनलाई प्रभावित पार्ने र उनको जनमुखी छविलाई धमिल्याउने रणनीति झल्काउँछ। बालेन केवल मेयर नभई नयाँ पुस्ताको नेतृत्वको प्रतीक बनेका छन् र उनको स्वतन्त्र र जनकेन्द्रित दृष्टिकोणले ठूला दलहरूको कमजोर जनाधार र भ्रष्टाचारका मुद्दाहरूलाई उजागर गरेको छ।
२०८४ को सम्भावना र चुनौती

नेपालको आगामी २०८४ को आम निर्वाचन राजनीतिक इतिहासमा कोसेढुङ्गा सावित हुन सक्छ। हाल लोकतन्त्रका आधारभूत मान्यता विपरीत बनेको ठूला दुई दलहरूको गठबन्धन सरकारले सिर्जना गरेको निराशाको जगमा नयाँ दल वा शक्ति जन्मिन सक्छ।
गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ प्राप्त गरेको मतले विशेषगरी शहरीकरण बढेका क्षेत्रहरू— झापा, मोरङ, सुनसरी, हेटौंडा, चितवन, बुटवल, काठमाडौं, भक्तपुर, ललितपुर, तनहुँ र पोखरासम्म नयाँ दलहरूको सम्भावनालाई संकेत गर्छ। बढ्दो शहरीकरणले यो मतले अर्को निर्वाचनमा गुणात्मक फड्को मार्न सक्छ।
स्वयम् रास्वपा संसद्मा आएदेखि विभिन्न घेराबन्दीमा परेर आफ्नो गर्न सक्ने क्षमताको सांगठनिक र राजनीतिक कामहरू गर्न सकिरहेको छैन त्यसैले उसले नै यो गति कायम राख्न सक्छ वा सक्दैन, त्यो अनिश्चित छ।
तर काठमाडौं महानगरका मेयरले निर्वाचित भएर आएपछि यो तीन वर्षमा अनेक ठूला व्यवधानका बीच जसरी कामहरू गरेका छन् त्यसले उनको व्यक्तित्वलाई एउटा मेयरको रूपमा मात्र नराखी एउटा शहरी मतदाताहरूको राजनीतिक प्रतिनिधित्व गर्दछ र यो अझै दुई वर्ष कायम गरे भने आफ्नो अहिलेकै प्रभाव र संगठनको आधारमा ध्रुवे हात्ती जस्ता मैमत्त भएका ठूला दलहरूलाई राम्रै दख्खल राख्ने राजनीतिक पूँजी उनले आर्जन गरेका छन्।
यही पूँजी थप राजनीतिक बनेर उनले नयाँ या स्वतन्त्र मान्छेहरूको मोर्चालाई बनाएर अगाडि बढाए भने त्यो ठूलो चुनावी भूकम्प हुन जान्छ र त्यसलाई रोक्नको निम्ति अहिले ठूला दलहरू उनलाई जसरी हुन्छ सिध्याउने ध्याउन्नमा लागेका छन्।
प्रतिक्रिया 4