
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘एपीटी’ गीत सन् २०२४ अक्टोबरमा ब्रुनो मार्स र ब्ल्याकपिंकी रोजको सहकार्यमा सार्वजनिक भयो।
- यो गीतले युट्युब र स्पोटिफाइमा रेकर्ड तोड्ने सफलता हासिल गरेको छ र विभिन्न पुरस्कार जितेको छ।
- गीतको प्रेरणा कोरियाली खेल ‘अपार्टमेन्ट गेम’ बाट लिइएको हो र यसले सांस्कृतिक सीमाहरू पार गरेको छ।
विश्व संगीतमा अहिले अत्यन्त चर्चमा रहेको गीत हो ‘एपीटी’ । सम्भवत: तपाईंले यो गीतको केही अंश टिकटक, रिल्स, युट्युब सर्ट्स आदिमा सुन्दै आउनुभएको हुन सक्छ । ब्रुनो मार्स र ब्ल्याकपिंकी रोजको सहकार्यमा सन् २०२४ अक्टोबरमा सार्वजनिक यो गीतले रेकर्डमाथि रेकर्ड थपिरहेको छ ।
यो गीत विगत ७ महिनादेखि युट्युबको ग्लोबल ट्रेन्डिङमा छ । अनि हालै मात्र लगातार ३३औं सातासम्म बिलबोर्डको ‘हट्स १००’ मा समावेश हुँदै कीर्तिमान रचेको छ । रेकर्डकै कुरा गर्दा यसले ७ दिनभित्र स्पोटिफाइमा १०० मिलियन र १०० दिनभित्र १ बिलियन स्ट्रिम्सको आँकडामा पार गरेको थियो ।
इन्टरनेसनल फेडरेसन अफ द फोनोग्राफिक इन्डस्ट्री (आईएफपीआई) का अनुसार २०२४ मा विश्वभर सबैभन्दा बढी बिक्री हुनेमा यो गीत १७औँ नम्बरमा रहेको थियो । अमेरिकाको ग्लोबल एक्सक्लुसिभ चार्टमा लगातार १८ हप्तासम्म शीर्षस्थानमा रहेर यसले हालसम्म कायम नभएको कीर्तिमान राखेको थियो ।
सामाजिक सञ्जालमा लाखौं पटक प्रयोग गरिएको यो गीतले एसिया आर्टिस्ट अवार्ड्स २०२४ मा ‘सङ अफ त इयर’, जापान गोल्ड डिस्क अवार्ड्स २०२५ मा ‘सङ अफ त इयर बाइ स्ट्रमिङ’, एमटीभी भिडियो म्युजिक अवार्ड्स जापानमा ‘बेस्ट कोल्याब्रेसन भिडिओ’ सहितका अन्य थुप्रै पुरस्कार जितेको छ ।
यी सबै हुनुको बाबजुद यो गीतले के-पप र पश्चिमी संगीतलाई जोड्दै सांस्कृतिक तथा भौगोलिक सीमाहरू पार गरेको छ । लाखौं श्रोताहरूको मन फुरुङ्ङ पारेको छ । यस्तो गीतको कस्तो छ त कथा ?
गीतको जन्म
गीतको बोल ‘एपीटी’ (APT) र कोरसमा आउने ‘अपार्टमेन्ट’ (कोरियाली भाषामा ‘आपतेउ’) पिएर खेल्नु पर्ने कोरियाली खेल ‘अपार्टमेन्ट गेम’बाट प्रेरित छ । खासमा यो गीतको रचना गर्भ नै यस खेलसँग जोडिएको छ ।
रोज स्वयंले भनेकी छिन् कि, उनलाई आफ्नो घरमा साथीहरूसँग यो खेल खेल्न खुबै मनपर्छ । एकपटक स्टुडियोमा यही खेल अरूसँग खेल्ने क्रममा खेललाई लिएर गीत बनाउने विचार उनलाई फुरेको थियो । तर तत्कालै उनले गीत बनाएकी थिएनन् । सो परियोजनामा ब्रुनो जोडिएपछि भने गीतको रचना पूरा भएको थियो ।
कस्तो हो ‘अपार्टमेन्ट’ खेल ?
समूहमा खेलिने यो खेल दक्षिण कोरियामा अत्यन्त लोकप्रिय छ । यसमा सहभागी सबै खेलाडीले आफ्ना हातहरू एक-अर्काको माथि टेबलको बीचमा राख्छन् । त्यसरी राखेपछि ती हातहरूको संरचनालाई अपार्टमेन्ट भवनको फ्लोर वा तलाको रूपमा कल्पना गरिन्छ ।
अब समूहमा तोकिएको एक जना लिडरले अनियमित रूपमा कुनै एक सङ्ख्या भन्छ । त्यो संख्याले अपार्टमेन्टको तलालाई जनाउने गर्छ । अब सबैभन्दा तल हात हुने खेलाडीले आफ्नो हात निकालेर सबैभन्दा माथि राख्छ । त्यो क्रममा उसले प्रत्येक हातहरू ठूलो स्वरमा गन्दै जान्छ ।
अनि लिडरले भनेको नम्बर जुन खेलाडीको हातसँग मिल्छ, उसले दण्डस्वरूप कुनै पेय पिउनुपर्ने हुन्छ ।
यस खेलमा खेलाडीको संख्या यति नै हुनुपर्छ अथवा यो नै मदिरा पिउनुपर्छ भन्नेबारे कुनै निश्चित नियम छैन । अहिले दक्षिण कोरियामा ठूलो जनसंख्या अपार्टमेन्ट भवनमा बस्ने गर्छन् । त्यस्ता भवन ३० तलाभन्दा बढी हुन सक्छन् । सोहीकारण यस प्रकारको खेलको सुरुआत भएको कथनहरू चलनचल्तीमा छन् ।
गीतका सर्जक
गीतको चर्चा गरिरहँदा सर्जकहरूको चर्चा गर्न भुल्नु हुन्न । तीमध्येको प्रमुख रोज (वास्तविक नाम रोजेन पार्क) सन् १९९७ फेब्रुअरी ११ मा न्युजिल्यान्डमा जन्मिएर अस्ट्रेलियामा हुर्किएकी थिइन् ।
विश्वभर उनी प्रसिद्ध के-पप समूह ब्ल्याकपिंक (दक्षिण कोरियाको महिला कला समूह) को सदस्यका रूपमा चिनिन्छिन् । सन् २०२१ देखि भने उनले आफ्नो एकल करियर सुरु गरिन् । ‘अन द ग्राउन्ड’ नामक ट्य्राकबाट एकल करियर सुरु गरेकी उनले सन् २०२४ डिसेम्बर ६ मा ‘रोजी’ नामको एल्बम सार्वजनिक गरेकी थिइन् ।
यता ब्रुनो मार्स आफैंमा चर्चित अमेरिकी पपस्टार हुन् । विशेषगरी आर एन्ड बी (संगीतमा देखिएको पछिल्लो शैली) र पप संगीतका कारण उनी परिचित छन् । उनले रोज, लेडी गागासहित अन्य थुप्रै कलाकारहरूसँग सहकार्य गरिसकेका छन् ।
रोज र ब्रुनो मार्सबीचको यस कामलाई धेरैले ‘प्रभावशाली’ र ‘सहकार्यको शिखर’ भनेर वर्णन गरिरहेका छन् । तर उनीहरूको सम्बन्ध भने रोजले ब्रुनो मार्सलाई ‘अपार्टमेन्ट गेम’सँग परिचय गराउँदादेखि भएको मान्न सकिन्छ ।
किनकि यो गीत सार्वजनिक हुनुअघि नै उनीहरूले इन्स्टाग्राममा सँगै यस खेल खेलेको र रोजले मार्सलाई कोरियाली भाषा सिकाएको भिडियोहरू शेयर गरेका थिए ।
यद्यपि गीतको निर्माणमा रोज र ब्रुनो मार्स विशेष भए पनि यो उनीहरूको एउटा समूहले लेखेको हो । जसमा उनीहरू बाहेक एमी एलन, क्रिस्टोफर ‘ब्रडी’ ब्राउन, फिलिप लरेन्स, थेरन थोमस, रोगेट चाहायेद, ओमर फेडी र सर्कट छन् । यसबाहेक गीत बनाउन प्रेरणा लिइएको अन्य सिर्जनाको स्रष्टालाई पनि लेखन श्रेय दिइएको छ ।
ब्लकबस्टरको उत्पादन खर्च र आम्दानी
यो ब्लकबस्टर गीत बनाउन कति खर्च लाग्यो भन्ने डेटा प्रत्यक्ष रूपमा उपलब्ध छैन । तथापि गीत उत्पादनमा चर्चित स्टारहरू जोडिनु, त्यसमा पनि स्तरीय रेकर्डिङ, भिडिओ र ब्रान्डिङ हुनुले राम्रै खर्च भएको अनुमान गर्न सकिन्छ ।
यता उपलब्ध मेट्रिक्सका आधारमा भने यो गीतले उल्लेखनीय आर्थिक सफलता हासिल गरेको भन्न सकिन्छ । गीत विभिन्न स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध छन् । जसमा यो गीतले रेकर्ड ब्रेकिङ स्ट्रिम पाएको छ ।
एक कोरियन मिडियाका अनुसार गीत रिलिजको दुई हप्तामा मात्रै १३.३ अर्ब कोरियन वन बराबर आम्दानी भएको भएको थियो । यो रकम स्ट्रिमिङ् सेवाहरूबाट मात्र भएको थियो । तर अहिले गीत रिलिज भएको पनि निकै लामो समय भइसकेको छ ।
त्यसमा पनि अन्य स्रोतबाटका आय (जस्तै: एल्बम विक्री, रेडियो रोयल्टी इत्यादि) सार्वजनिक भएका छैनन् । तर आम्दानी धेरै भएको भन्नेमा भने शंका छैन ।
गीतको सांगीतिक तत्व
यो गीतलाई विधागत रूपमा भन्दा पप-पङ्क, इन्डी रक र इलेक्ट्रोपपको मिश्रण भन्न सकिन्छ । गीतमा एक प्रकारको उत्साह र आकर्षण पाउन सकिन्छ । चञ्चलता, रमाइलो, मोहक भएकाले यस गीतले श्रोतालाई सजिलै तान्न सक्छ । गीतमा वेभ नोस्टाल्जिया (पुरानो सम्झनाहरूबाट प्रेरित सांगितिक शैली) का झल्को पनि दिइएको छ ।
गीतमा टोनी बसिलको १९८२ को हिट ‘मिक्की’को अंश पनि राखिएको छ । यो गीतमा अङ्ग्रेजी र कोरियन भाषा प्रयोग भएको छ । यसले गर्दा नयाँ शैली लाग्नु स्वभाविक नै छ ।
विशेषगरी यो गीतमा पार्टीको माहोल छ । गीतले युवाको सहजता र जिम्मेवारीभन्दा आनन्दलाई प्राथमिकता दिने भावनालाई जोड दिएको छ । ‘भोलि सुतौंला, तर आज राति रमाइलो गरौं’ जस्ता शब्दहरूले यो कुराको पुष्टि गर्छन् । गीतको पृष्ठभूमि नै रमाइलो पार्टी भएकाले दुवै कलाकारले गीतभर त्यसको भाव आउने गरी गायक छन् ।
सफलताको कारण
‘एपीटी’लाई मिलेको विश्वव्यापी सफलताका मुख्य कारणहरूमा कोरियाली खेल ‘अपार्टमेन्ट’, फरक भूगोलका चर्चित दुई कलाकारहरूबीचको सहकार्य, गीतमा भएको विधागत मिश्रण, सामाजिक सञ्जाल, मार्केटिङ रणनीतिहरू पर्छन् ।
यससँगै कलाकारहरूको रेकर्ड लेबल (गीत/संगीतको उत्पादन, बजारिकरण, वितरण र प्रवर्द्धन गर्ने कम्पनी) सँगको सम्बन्धलाई पनि कारण मान्न सकिन्छ ।
यो गीतको रेकर्ड लेबल द ब्ल्याक लेबल र एट्लान्टिक रेकर्ड्स हुन् । यीमध्येमा द ब्ल्याक लेबलसँग रोज र एट्लान्टिक रेकर्ड्ससँग ब्रुनो मार्सको लामो समयदेखि सहकार्य हुँदै आइरहेको थियो ।
समग्रमा बिल्कुलै भिन्न दुई फरक संगीत उद्योग (के-पप र पश्चिमी पप) का प्रमुख कलाकारहरू भिन्न र कहिल्यै नसुनिएको धुन लिएर आउनु नै यो गीतको सफलताको प्रमुख कारण हो ।
प्रतिक्रिया 4