
News Summary
Generated by OK AI. Editorially reviewed.- क्यूएफएक्सले ‘अञ्जिला’ फिल्मलाई १०० रुपैयाँ शुल्कमा प्रदर्शन गर्न थालेको छ।
- फिल्मले ८ करोड ८४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ र १०० दिन नजिक पुगेको छ।
- निर्देशक मिलन चाम्स बेलायत पुगेका छन् र फिल्मको प्रदर्शनलाई समर्थन गरिएको छ।
काठमाडौं । २०८१ सालको सुपरहिट फिल्म ‘अञ्जिला’लाई मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले विहिबारदेखि १०० रुपैयाँ शुल्कमा देखाउन थालेको छ ।
क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी प्रबन्ध निर्देशक तृप्ती गिरीले वितरकको निर्णयअनुसार सो शुल्कमा प्रदर्शन थालेको बताइन् । २९ फागुनमा रिलिज भएको मिलन चाम्स निर्देशित फिल्म प्रदर्शनको १०० दिनको नजिक पुगेको छ ।
चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो फिल्म अहिले पनि चलिरहेको छ । विहिबार यो फिल्मका लागि ३ शो तय थिए । निर्माता प्रेमकुमार श्रेष्ठले मुलुकका अन्य हलमा पनि १०० रुपैयाँमा फिल्म देखाउने तयारी भैरहेको बताए ।
उनले भने, ‘सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौँ । सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली चलचित्रको लागि सुखद कुरा हो । सबै दर्शकले हेर्न पाउन् भन्ने उद्देश्य लिएका छौँ ।’
चलचित्र विकास बोर्डको बक्सअफिसमा अहिलेसम्म ‘अञ्जिला’ले ८ करोड ८४ लाख ग्रस बराबरको कमाइ गरेको छ । यो फिल्म राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित छ ।
यसमा एन्जिला आफैले शीर्ष भूमिका निर्वाह गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठको अभिनय छ । प्रदर्शनको ९० औँ दिनमा पूर्वमन्त्री सुदन किराँतीले ’अञ्जिला’ हेरेर प्रतिक्रिया दिएका छन् ।
किराँतीले यो फिल्मलाई प्रेरणादायी भएको बताउँदै भनेका छन्, ‘पूर्वी पहाडी भेगको किराँती समाजको यो कथा हेरिरहँदा म आफैलाई हेरिरहेँ, नदेखीकन पटक पटक देखिरहेँ । आँखा बन्द गरिरहेँ तर आँसु झरिरह्यो ।’ यो फिल्म प्रदर्शनको लागि निर्देशक मिलन चाम्स अहिले बेलायत पुगेका छन् ।
प्रतिक्रिया 4