+
+
Shares

७५ जना पदाधिकारी बनाउँदा पनि अशान्त वाईसीएल

अध्यक्ष प्रचण्ड पक्षधर र उपमहासचिव जनार्दन शर्मा पक्षधर नेता/कार्यकर्ता विभाजित भएर एक अर्काप्रति खनिएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ जेठ २९ गते २३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रको वाईसीएलले तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ कमिटी गठन गरेको छ।
  • सहमतिमा नयाँ कमिटी बनाउने प्रयास भए पनि विवाद र असन्तुष्टि जारी छ।
  • असन्तुष्ट पक्षले संगठनको आकार र चयन प्रक्रियामा मनमानी भएको आरोप लगाएका छन्।

२९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओलीको अध्यक्षतामा नयाँ कमिटी बनायो ।

संगठनभित्र विवाद हुन नदिन पार्टी नेतृत्वले सहमतिमा नयाँ कमिटी गठन गर्न निर्देशन दिएको थियो । सोहीअनुसार ठूलो आकारको कमिटी बनाएर सहमतिमै नेतृत्व चयन गरियो । सहमतिमा नयाँ कमिटी ल्याउन १८ जेठदेखि सुरु भएको सम्मेलन ६ दिनसम्म लम्ब्याइएको थियो ।

तर, ७५ जना पदाधिकारी बनाउँदा पनि वाईसीएल अशान्त छ ।

गत शुक्रबार राति सहमतिमा ल्याइएको कमिटीप्रति असन्तुष्टि जनाउँदै नेता/कार्यकर्ताले अभिव्यक्ति दिइरहेका छन् । पार्टी संस्थापन प्रचण्ड पक्षधर र उपमहासचिव जनार्दन शर्मा पक्षधर नेता/कार्यकर्ता विभाजित भएर एक अर्काप्रति खनिएका छन् ।

संगठनभित्र विवाद हुन नदिन पार्टीबाट उपमहासचिव शक्ति बस्नेत, वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, संगठनका पूर्वअध्यक्ष सुवोध शेर्पाली सहमति जुटाउन खटिएका थिए ।

अध्यक्षका अरु १२ जना आकांक्षीलाई ‘मनाएर’ पुष्प वलीलाई अध्यक्ष बनाउन सहमति जुटाइयो । चुनावी प्रतिस्पर्धाका लागि अध्यक्षका ४ आकांक्षीले अडान कायम राख्दा समेत सहमतिकै लागि बल गरिएको थियो । केहरसिंह कुँवर, पुष्प वली, नवराज ऐर, कर्म पुलामी चुनावी प्रतिस्पर्धाका लागि तयार थिए । गणेश शाहीले भने महासचिव हुने सर्तमा अध्यक्षको आकांक्षा त्यागेका थिए ।

अध्यक्षका आकांक्षी ऐरले आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको भए पनि निर्वाचन नगरिएकोप्रति असन्तुष्टि जनाए । ऐर भन्छन्, ‘म स्वयं आन्तरिक प्रतिस्पर्धाको पक्षमा थिएँ । निर्वाचनको माग गरिरहँदा वातावरण बन्न सकेन । पार्टीले सर्वसम्मतिले नेतृत्व चयन गर्न सुझायो । विधान संशोधनका नाममा बनेको संगठन पिरामिड आकारको नभई छाता आकारको हुन गएको छ ।’ ऐर नयाँ कमिटीमा उपाध्यक्ष पदमा छन् ।

पार्टी उपमहासचिव शक्ति बस्नेत वाईसीएलभित्र देखिएको विवाद ठूलो रूपको नभएको बताउँछन् । ‘शतप्रतिशत सन्तुष्ट भन्ने कहाँ हुन्छ र ? अहिले जे निर्णय भएको छ, त्यसलाई पूर्ण त हामीले पनि भनेका छैनौं,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘अहिलेको परिस्थितिमा यही निर्णय नै व्यावहारिक हुने थियो । सबै कुरा भनेको जस्तो नभए पनि अहिलेको निम्ति यही नै सम्भव हुने कुरा थियो ।’

सहमतिका लागि जिम्मेवारी पाएका व्यक्तिहरूले ‘मनपरी’ गरेको भन्दै एक पक्षले आरोप लगाएपछि आरोप/प्रत्यारोपमा नेता/कार्यकर्ता उत्रिरहेका छन् । नयाँ कमिटीप्रति मुख्यगरी पार्टीका उपमहासचिव जनार्दन शर्मा पक्षका नेता/कार्यकर्ताले विरोध गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्मा सम्मेलनको सर्वोच्चतालाई हरण गरिएको बताउँछन् । उनी भन्छन्, ‘विधान पास गरेको केही घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छोडे ।’

उपमहासचिव शर्माका भाइ अनिलले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेपछि वाईसीएलको नयाँ कमिटीलाई लिएर स्पष्ट दुई कित्ता देखिएको छ । वाईसीएल इञ्चार्ज दीपशिखाले अनिल शर्मालाई जवाफ फर्काउँदै आफू निर्वाचनको पक्षमै रहे पनि पार्टीले सहमतिमा नेतृत्व चयन गर्ने जिम्मेवारी दिएअनुसारको भूमिका निर्वाह गरेको बताएका छन् । पार्टी सचिवालय बैठकमा जनार्दन शर्मा पनि सहभागी रहेको र सहमतिको पक्षमा देखिएकोप्रति दीपशिखाले अनिललाई जवाफ फर्काएका छन् । अनिललाई लक्षित गर्दै दीपशिखा भन्छन्, ‘वाईसीएलमा घुनपुतली नलागेपछि तपाईं र अन्य आसेपासेले सुरु गरेको प्रचार निन्दनीय छ ।’

वाईसीएलमा ‘सबैलाई चित्त बुझाउन’ संगठनको विधान नै संशोधन गरिएको छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको छ ।

दीपशीखाले अनलाइनखबरसँग कुरा गर्दै संगठनभित्र समस्या नरहेको तर बाहिरबाट विवाद निम्त्याउने कार्य भएको दाबी गरे । उनले भने, ‘पार्टीले जे निर्देशन दियो, त्यसलाई मैले कार्यान्वयन गरेको हो । मिलाउँदा संगठनको आकार अलि ठूलो हुन्थ्यो नै ।’

वाईसीएलमा ‘सबैलाई चित्त बुझाउन’ संगठनको विधान नै संशोधन गरिएको छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको छ । ३५ जना हुने पदाधिकारीको संख्यालाई ७५ पुर्‍याइएको छ भने २५१ जना हुने केन्द्रीय कमिटीलाई बढाएर ३५१ जनाको बनाइएको छ । पदाधिकारीमा २२ जना उपाध्यक्ष, १९ जना उपमहासचिव, ३१ जना सचिवको व्यवस्था गरिएको छ ।

आफूखुसी र विनासल्लाह संख्या बढाइएको असन्तुष्ट पक्षको भनाइ छ । नयाँ कमिटीका लागि आकांक्षीहरू धेरै हुँदा मिलाउने प्रयत्न गर्दा संगठनको आकार ठूलो हुन पुगेको इञ्चार्ज दीपशिखा बताउँछन् । ३५ पदाधिकारीको व्यवस्था कायमै राखिएको भए पुरानै कमिटीका ३२ जना हुने र अरुले उपल्लो तहमा प्रवेश नपाउने अवस्था हुने उनले बताए ।

वाईसीएलको नयाँ कमिटीप्रति असन्तुष्ट एक केन्द्रीय सदस्य भन्छन्, ‘संख्या बढाएर संगठनमा मनपरी गरिएको छ । सहमतिको नाममा भद्रगोल संगठन बनाए । प्रदेशहरूमा असन्तुष्टि हुँदा केहीले राजीनामा दिएर बसेका छन् ।’

यसअघि पदाधिकारी भएकालाई त्यही पदमा राख्ने तर कतिपयको हकमा भने केन्द्रीय सदस्यबाट उपल्लो तहका पदाधिकारी बनाइएकोप्रति पनि आपत्ति छ । उनले थपे, ‘तीन वर्षसम्म संगठनका लागि केही नगरेका व्यक्तिलाई अहिले सम्मेलनमा ल्याएर पद दिए ।

विवादले गत आइतबार भएको नयाँ कमिटीको सपथ ग्रहण सहज रूपमा हुन सकेन । सहमतिबाट ल्याइएको कमिटीप्रति असन्तुष्टि जनाउँदै नाराबाजी नै भयो । केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको सपथ ग्रहणमा असन्तुष्टले हो–हल्ला गरेका थिए । असन्तुष्ट पक्षाले नाराबाजी गर्न थालेपछि उपमहासचिव बस्नेत सपथ ग्रहणको हल छोडेर बाहिरिएको कार्यक्रममा सहभागी एक नेताले बताए ।

संस्थापन पक्षले उपमहासचिव शर्मा समूहले पार्टीभित्र किचलो निकालेर संगठनहरू भताभुंग बनाउन लगाएको आरोप लगाएको छ । उपमहासचिव शर्मा पक्षले अखिल (क्रान्तिकारी) मा छुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेको थियो । वाईसीएलमा भने निर्वाचन नहुँदा शर्मा पक्षधरको छुट्टै प्यानल बन्न सकेन ।

उपमहासचिव शर्मा पक्षतर्फ संकेत गर्दै इञ्चार्ज दीपशिखाले अन्य संगठनमा निर्वाचनको माग गर्ने उनीहरूले वाईसीएलमा त्यस्तै माग किन गरेनन् ? भन्ने प्रश्न उठाएका छन् । उनले भने, ‘पार्टीमा एकथरी मान्छे छन् । मिलेको, राम्रो भएको, विवाद नभएको उनीहरूलाई मन पर्दैन ।’

वाईसीएल नेताहरूले नवगठित कमिटीप्रति कर्णाली, बागमती, मधेश प्रदेशमा विवाद रहेको दाबी गरेका छन् । काठमाडौं जिल्ला कमिटीले आइतबारको सपथ बहिष्कार समेत गरेको थियो । ‘मनोनयन दर्ता गरी शुल्क समेत बुझिसकेको परिस्थितिमा मनोमानी ढंगले नाम हेरफेर र थपघट गरी प्रकाशित गरिएकाले उक्त नामावलीमा असहमति जनाउँदै सपथ ग्रहण समारोह बहिष्कार गरेका छौं,’ काठमाडौं जिल्ला कमिटीले आइतबार निकालेको विज्ञप्तिमा भनिएको थियो ।

वाईसीएल अध्यक्ष पुष्प वली असन्तुष्टि मूल नेतृत्वमा नभई केन्द्रीय कमिटीप्रति रहेको बताए । वली भन्छन्, ‘केन्द्रीय कमिटीमा पर्नुपर्ने केही साथीहरू छुट्नुभएको छ । मनोनित हुने विधिअनुसार उहाँहरूलाई पनि समेट्छौं ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?