+
+
Shares
हेटौंडा सिमेन्ट विवाद :

रोप-वे तार बेच्दा टिपर सहितका सामग्री चोरी, प्रहरी मिलेको आरोप

रोप-वे बिक्री गर्ने क्रममा भैंसे खानीको चमेनागृह नजिक रहेको डम्फर चोरी भएको, भैंसे खानीबाटै लाखौं मूल्यको ६३० केभीएको ट्रान्सफर्मर चोरी भएको तीनवटै संगठनको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते २१:४०

१४ जेठ, काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले आर्थिक भार कम गर्न भन्दै चुनखानीदेखि उद्योगसम्म बन्द रहेका रोप-वे बेच्ने निर्णय गर्‍यो । त्यसका लागि टेन्डर खुलाएर गत ७ पुसमा बारा जिल्लाको पिए.एस एन्ड सन्स इन्टरप्राइजेजसँग ठेक्का सम्झौता भयो ।

उद्योगले भ्याटसहित ४ करोड २५ लाखमा रोप-वे बिक्री गर्न सम्झौता गर्‍यो । सोहीअनुसार ठेकेदारले रोप-वेको तार, डिब्बा काट्यो । तारहरू अहिले पनि लगिरहेको छ ।

यहीबीचमा हेटौंडा सिमेन्टको २ वटा टिपर (डम्पर) गाडी गायब भए । थन्केर बसेका गाडी कसले लग्यो, हेटौंडा सिमेन्टले भन्न सकेको छैन । बरु गाडी चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवदेन दिएको छ । तर प्रहरीले निवेदनको सुनुवाइ नगरेको सिमेन्ट उद्योगले जनाएको छ ।

उद्योगका कर्मचारी र स्थानीयका अनुसार ठेकेदारले नै सम्झौता भएको एक महिनाभित्र भैंसे खानी र अन्य स्थानबाट पुराना कवाडी सामग्री चोरी गरेका थिए ।

उक्त विषयमा सिमेन्ट उद्योगको खानी महाशाखाले अनुगमन समेत गरेको थियो । ठेकेदारले नै कवाडी सामग्रीसँगै अरु सामान समेत उठाएको भन्दै खानी महाशाखाले सिमेन्ट उद्योगलाई सूचना समेत दिएको थियो ।

यस्तो छ सूचना

‘तार काटेर लैजान ठेक्का दिएको हो तर अन्य सामग्री पनि चोरी भएको देखियो । पुरानो डिब्बा गाडी पनि हराएकोले निवदेन दर्ता गराएको थियौं । यसबारे प्रहरीले चासो देखाएन,’ सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले भने । उनका अनुसार २५ माघमा नै सिमेन्ट उद्योगले प्रहरीमा निवदेन दर्ता गराएको थियो ।

हेर्नुस निवदेन

उद्योगका सूचना अधिकारी हरेराम आचार्यका अनुसार उद्योगले कवाडी ठेकेदार पक्षबाट तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमति छ । उद्योगले सोहीअनुसार पहिलो किस्ता वापतको १ करोड ४२ लाख ६८ हजार ६९४ रुपैयाँ समेत प्राप्त गरिसकेको छ । रोप-वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिनाभित्र रोप-वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति उद्योगले गरेको छ ।

तर, उद्योगमा कार्यरत कर्मचारीहरूले कवाडीको नाममा थन्केर बसेका उद्योगका महँगा सामानहरू चोरी भएको भन्दै बिहीबार पत्रकार सम्मेलन गरेका छन् । उद्योगमा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट मजदूर संगठनले चोरीको विषयमा प्रशासनले ध्यान नदिएको आरोप लगाए ।

रोप-वे बिक्री गर्ने क्रममा भैंसे खानीको चमेनागृह नजिक रहेको डम्फर चोरी भएको, भैंसे खानीबाटै लाखौं मूल्यको ६३० केभीएको ट्रान्सफर्मर चोरी भएको तीनवटै संगठनको आरोप छ ।

सिमेन्ट उद्योगको डम्फर र ट्रान्सफर्मर ठेकेदारबाटै चोरी भएको उनीहरूको दाबी छ । सिमेन्ट उद्योगको रोप-वे बेचेर पुरानो मेसिनरी संयन्त्र स्थानान्तरण गर्ने सिफारिसको आधारमा व्यवस्थापकले टेन्डरमार्फत लिलामी प्रक्रिया अघि बढाए पनि त्यसको विपरीत सञ्चालक समितिले अत्यधिक महँगोमा कोइला र अन्य कच्चा पदार्थको भुक्तानी गर्ने गैरकानुनी निर्णय गरेको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष कुमार खतिवडाले बताए ।

डम्फर र ट्रान्समिटर चोरीको विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दर्ता गराए पनि कुनै कारबाही प्रक्रिया अघि नबढाएको अखिल नेपाल औद्योगिक मजदूर संघका अध्यक्ष नेमा डिमडुङले बताए ।

उद्योगका कर्मचारीहरूका अनुसार ठेकेदार पक्षले तत्कालीन महाप्रबन्धक बसन्तराज पाण्डे र प्रहरीकै सेटिङमा कवाडी ठेक्काको नाममा टिपर लगायत सामग्री चोरी भएको हो । उनीहरूको अनुसार उद्योगले निवदेन दिँदा पनि प्रहरीले अनुसन्धान नगर्नुले प्रहरीको मिलेमतो प्रष्ट हुने देखिन्छ ।

‘यो विषयमा प्रहरीमा निवदेन परेको छ । अनुसन्धान हुनुपर्ने हो तर यसरी सामान अवैध रूपमा ठेकेदारले लैजाँदा पनि प्रहरीले केही गरेको छैन । प्रहरीको सेटिङ नभई सम्भव नै छैन,’ उनले भने ।

नेपाल कारखाना श्रमिक संघका अध्यक्ष विशाल नेपालका अनुसार हेटौंडा सिमेन्ट उद्योगमा १९३ कर्मचारी कार्यरत छन् । यसबाहेक दैनिक ज्यालादारी र सुरक्षाकर्मी गरी थप करिब १५० कर्मचारी छन् ।

कर्मचारीले फागुन महिनायताको तलब पाएका छैनन् । भदौदेखि सञ्चय कोष र नागरिक लगानी कोषको रकम रोकिएको छ । उद्योगका कर्मचारीको मात्रै करिब पौने ५ करोड र दैनिक ज्यालादारीको २ करोड गरी पौने ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको नेपालले बताए ।

हेटौंडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन चलिरहे पनि क्लिङ्कर उत्पादन भने बन्द रहेको छ । व्यवस्थापन र कर्मचारी ट्रेड युनियनको सामान्य विवादका कारण केही दिनदेखि बिक्री समेत बन्द अवस्थामा रहेको छ ।

एसपी खड्का भन्छन्- उद्योगले प्रष्ट भनेन, ताकेता पनि गरेन

मकवानपुर प्रहरीका प्रमुख एसपी विश्वराज खड्काले चोरी भएको विषयमा जानकारी भएको भन्दै उद्योगले प्रष्ट नभन्दा समस्या भएको तर्क गरेका छन् ।

‘उद्योगले कवाडीको ठेक्का लगाएको भन्ने जानकारी भयो, उहाँहरूले सामान चोरी भएको पनि जानकारी दिएकै हो तर चोरी भएको सामान र कवाडीको सामान क्लियर भएन । ठेकेदारले कवाडीको टेन्डर लिएको भन्छन्, उद्योगले चोरी भएको भन्छ । उहाँहरूको पनि विभिन्न विवाद थिए । कवाडसम्बन्धी विषय थियो, मिल्यो कि मिलेन थाहा भएन । ताकेता पनि गर्नु भएन र हामी पनि दैनिक अनुसन्धानमा व्यस्त हुन्छौं,’ अनलाइनखबरसँग खड्काले भने ।

उनले चोरीको निवदेन आएपछि प्रहरी फिल्डमै गएको भन्दै प्रहरीले आफ्नो काम गरिरहेको बताए । ‘हामीले अनुसन्धान अगाडि बढाएका छौं । हिजो पनि उद्योग प्रशासनले भनेपछि यसमा झन् सक्रिय भएर लागेका छौं, प्रहरीले आफ्नो काम गरिरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?