
News Summary
Generated by OK AI. Editorially reviewed.- अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनापछि देशभर शोक फैलिएको छ।
- सलमान खानले दुर्घटनाको खबर पाएर आफ्नो कार्यक्रम रद्द गरे र प्रार्थना व्यक्त गरे।
- अभिनेताहरू शाहरुख खान, अक्षय कुमार र अन्यले यस घटनामा शोक व्यक्त गरेका छन्।
मुम्बई । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनापछि देशभर शोकको लहर फैलिएको छ । दुर्घटनाको खबर लगत्तै सलमान खानले मुम्बईमा आफ्नो कार्यक्रम रद्द गरे । अक्षय कुमार र विष्णु मन्चुले पनि इन्दौरमा हुने ’कन्नप्पा’ को ट्रेलर लन्च कार्यक्रम रद्द गरे ।
सलमान ‘इन्डियन सुपरक्रस रेसिङ लिग’को नयाँ ब्रान्ड एम्बेसडर बनेका छन् । यसै कारणले विहिबार मुम्बईमा पत्रकार सम्मेलन हुने तय भएको थियो । तर उनले विमान दुर्घटनाको जानकारी पाउने बित्तिकै कार्यक्रम रद्द गरे ।
कार्यक्रम स्थगित गर्दै भनिएको थियो, ‘आज भएको दुखद दुर्घटनाको खबर हामी सबैलाई प्राप्त भएको छ । इन्डियन सुपर क्रस रेसिङ लिग र सलमान खान यो कठिन समयमा देशको साथमा उभिएका छन् । हाम्रो विचार र प्रार्थना यस दुर्घटनाबाट प्रभावित परिवारहरूसँग छ । हामीले सामूहिक रूपमा यो कार्यक्रम अब पछि आयोजना गर्ने निर्णय गरेका छौं ।’
फिल्म ‘कन्नप्पा’को ट्रेलर जुन १३ मा लन्च हुने तालिका थियो । सोही दिन इन्दौरमा एक प्रि-रिलीज कार्यक्रम पनि आयोजना गरिएको थियो । दुर्घटनाका कारण यो कार्यक्रम पनि रद्द गरियो र ट्रेलर रिलीज एक दिनको लागि स्थगित गरियो ।
जहाज दुर्घटनापछि अभिनेता शाहरुख खान, अक्षय कुमार पनि स्तब्ध भएका छन् । शाहरुखले ट्विटरमा लेखेका छन्, ’अहमदाबादमा भएको दुर्घटनाको खबर सुनेर म अत्यन्तै दुखी छु… म पीडितहरू, उनीहरूका परिवारहरू र प्रभावित सबैको लागि प्रार्थना गर्दछु ।’
आमिर खानले पनि यो खबरप्रति इन्स्टाग्राममा शोक व्यक्त गर्दै पोस्ट गरेका छन् । उनको प्रोडक्सन हाउसबाट साझा गरिएको पोस्टमा पीडित परिवार र घाइतेहरूप्रति समवेदना व्यक्त गरिएको छ ।
अक्षय कुमारले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘एयर इन्डिया दुर्घटनाबाट स्तब्ध र अवाक छु । यस समयमा केवल प्रार्थनाहरू छन् ।’ अक्षय बाहेक सोनु सूद, रितेश देशमुख, परिणीति चोपडा लगायत धेरै बलिउड सेलिब्रेटीहरूले यस घटनामा प्रतिक्रिया दिएका छन् ।
२३० भन्दा धेरै यात्रु बोकेर एयर इन्डियाको जहाज विहिबार अपरान्ह अहमदाबादबाट लण्डन उड्दै थियो ।
प्रतिक्रिया 4