
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आइएमई बैंक लिमिटेडको नेतृत्वमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्झौता भएको छ।
- सम्झौताअनुसार कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ, जसमा बैंकले ७५ प्रतिशत र सौर्य होल्डिङले २५ प्रतिशत लगानी गर्नेछ।
- यस ३१.९२ मेगावाट क्षमताको जलविद्युत आयोजना तीन वर्षभित्र सम्पन्न हुनेछ।
३० जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनाका लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यस आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीको उपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याणविक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिषराज कुँवर र सौर्य होल्डिङ प्रालिका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीले आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ताप्लेजुङ जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ बराबर रहेको छ ।
सम्झौता अनुसार बैंकले ७५ प्रतिशत लगानी गर्ने छ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्ने छ ।
यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्षभित्र सम्पन्न हुने जनाइएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक हो । बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३ सय ५२ शाखा, ३ सय ८५ एटीएम, १ सय ५८ शाखारहित, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी केन्द्रबाट सेवा दिँदै आएको छ ।
बैंकले विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
प्रतिक्रिया 4