
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल–भारत रणनीतिक छलफलमा भारतीय राजदूत नवीन श्रीवास्तवले सीमा सम्पर्कलाई पुलको रुपमा अर्थ्याए।
- सहभागीले क्रस बोर्डर आतंकवाद र द्विपक्षीय मुद्दाहरू समाधान गर्नुपर्नेमा जोड दिए।
- कार्यक्रमले दुई देशबीचको सम्बन्ध बलियो बनाउन र विभिन्न क्षेत्रमा सहकार्य बढाउने अपेक्षा व्यक्त गरिएको छ।
३० जेठ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको बोर्डर दुई देश बीचको सम्पर्क स्थापना गर्ने पुलको रुपमा रहेको बताएका छन् ।
नेपाल–भारत रणनीतिक छलफलमा श्रीवास्तवले क्रस बोर्डर आतंकवाद गतिविधिले सुरक्षा चुनौती बढेको भन्दै छलफलबाट समाधान गर्नुपर्ने बताए ।
दी सेन्टर फर सोसियल इनोभेसन एण्ड फरेन पोलिसी (सीईएसआइएफ)र अनन्त एस्पेन सेन्टरले संयुक्तरुपमा आयोजना गरेको ट्रयाक २ नेपाल–भारत रणनीतिक छलफल कार्यक्रममा श्रीवास्तवले पारस्परिक लाभसहितको प्रगतिलाई ध्यान दिनेपर्नेमा जोड दिए ।
उनले दुई देशबीच पूर्वाधार, उर्जा, ब्यापार, विद्युतीय भुक्तानी लगायतका क्षेत्रमा सहकार्य रहेको जानकारी दिए । साथै सन् २०२५ अप्रिलमा भएको पहलगाम आक्रमणको सन्दर्भमा नेपालले भारत सरकारलाई गरेको स्पष्ट समर्थनको समेत चर्चा गरेका थिए । उक्त आक्रमणमा एक नेपालीले समेत ज्यान गुमाउन परेको थियो ।
साथै नेपाल–भारतबीच केही द्धिपक्षिय मुद्दाहरु रहेको बताउँदै उनले भने, ‘ती मुद्दाहरुलाई मित्रताको तवरबाट छलफल गरेर टुङग्याउनु पर्नेछ ।’ यस्ता कार्यक्रमले नेपाल भारतबीचको सम्बन्ध थप बलियो हुने उनको विश्वास छ ।
नीति निर्माता, कूटनीतिज्ञ, औद्योगिक विज्ञ र दुवै देशका विज्ञको सहभागिता भएको कार्यक्रममा नेपाल–भारत सम्बन्धका विभिन्न आयामहरुमा छलफल भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सीइएसआइएफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले नेपाल भारत सम्बन्धलाइ अझै गहिरो बनाउन संरचनागत छलफल र व्यबहारीक सहकार्यको आवश्यक रहेको औँल्याए ।
यो कार्यक्रमले दुवै देशबीचको आपसी समझदारी र भावी सहकार्यलाई प्रगाढ बनाउने अपेक्षा गरिएको छ । विभिन्न चार मुख्य विषयमा केन्द्रीत उक्त छलफलले रणनीतिक, सुरक्षा सहकार्य, उर्जा, जलवायु परिवर्तन सहकार्य र कनेक्टिभिटी सहकार्य सडक तथा रेल सहकार्य र प्राविधिक नविनता र पुर्वाधारमा सहकार्य विषयमा विज्ञ तथा सरोकारवालासँग गहन छलफल भएको आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया 4