
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलले जुन १३ मा इरानको परमाणु केन्द्रहरूमा हवाई हमला गरी गम्भीर क्षति पुर्याएको छ।
- उक्त आक्रमणमा ६ वरिष्ठ वैज्ञानिकहरू मारिएका छन्, जसले इरानको परमाणु कार्यक्रमलाई प्रभावित गरेको छ।
- इरानले यसलाई परमाणु आतंकवादको संज्ञा दिँदै बदला लिने चेतावनी दिएको र जवाफी आक्रमण सुरु गरेको छ।
इजरायलले शुक्रबार अर्थात् जुन १३ मा इरानमाथि भयानक आक्रमण गर्यो । इरानको केन्द्रिय नताञ्ज परमाणु केन्द्र, राजधानी तेहरान वरपरका सैनिक गढ र वैज्ञानिक संरचनाहरूमाथि इजरायलले गरेको सुसंयोजित हवाई हमलामा इरानले गम्भीर क्षति भोगेको छ ।
उक्त हमलामा ईरानका परमाणु कार्यक्रमसँग प्रत्यक्ष रूपमा सम्बन्धित ६ जना वरिष्ठ वैज्ञानिकहरू मारिएका छन्। इरानका लागि ती परमाणु वैज्ञानिकहरू यति महत्वपूर्ण थिए कि ईरानको आत्मनिर्भर परमाणु सपनालाई मूर्तरुप दिने दिशामा उनीहरुको प्रमुख योगदान रहन्थ्यो ।
ती शीर्ष वैज्ञानिकहरुको हत्या पश्चात् इरानको परमाणु कार्यक्रममा गम्भीर धक्का लागेको र निकै पछाडि धकेलिएको विश्लेषण गरिएको छ ।
इरानले उक्त इजरायली आक्रमणलाई परमाणु आतंकवादको संज्ञा दिँदै यसका लागि इजरायल र अमेरिका दुवैलाई जिम्मेवार ठहराएको छ।
साथै उसले संयुक्त राष्ट्रसंघमा उजुरी दर्ता गर्दै त्यसको बदला लिने चेतावनी पनि दिएको छ । इरानले इजरायमाथि जवाफी आक्रमण पनि सुरु गरिसकेको छ ।
आखिर इजरायली आक्रमणमा मारिने वरिष्ठ इरानी परमाणु वैज्ञानिकहरु को को थिए त ?
उनीहरुको विस्तृत परिचय यस्तो छः
१). अब्दुलहामिद मिनुचेहर
उनी राजधानी तेहरानको शहीद बेहेश्ती विश्वविद्यालयका परमाणु भौतिक विज्ञान विषयका प्राध्यापक थिए।
· मुख्य भूमिकाः युरेनियम संवर्धनमा विशेषज्ञ, नताञ्ज संयन्त्रको सेंट्रीफ्यूज प्रविधिको विकास
· योगदानः २०% सम्म शुद्ध युरेनियम संवर्धनमा ईरानलाई सक्षम बनाउने
· विशेषताः रिएक्टर डिजाइन, परमाणु ईन्धन उत्पादन
२. अह्मद रेजा जोल्फाघारी
परमाणु इन्जिनियरिङका प्राध्यापक जोल्फाघारी पनि शहीद बेहेश्ती विश्वविद्यालयकै प्राध्यापक हुन्।
· मुख्य भूमिकाः नताञ्ज र फोर्डो आणविक प्लान्टमा सेन्ट्रीफ्यूज मर्मत र स्तरोन्नति
· योगदानः उन्नत सेन्ट्रीफ्यूज (आईआर–८) को विकास, संवर्धन क्षमतामा दोब्बर वृद्धि
· विशेषताः उच्च–दक्षता यन्त्र विकास
३. सैयद अमीरहोसेन फेक्ही
उनी शहीद बेहेश्ती विश्वविद्यालयका आणविक रिएक्टर अनुसन्धानकर्ता हुन् ।
· मुख्य भूमिकाः अरास्थित हेभी वाटर रियाक्टरको विकास, जुन प्लुटोनियम उत्पादनमा प्रयोग हुन्थ्यो।
· योगदानः प्लुटोनियम उत्पादनयोग्य रिएक्टर डिजाइन
· विशेषताः रिएक्टर सुरक्षा, ईन्धन चक्र व्यवस्थापन
४). मोत्तलबीजादेह
उनी इरानको परमाणु उर्जा संस्था एईओआईका वरिष्ठ इन्जिनियर हुन् ।
· मुख्य भूमिकाः मिसाइल प्रणालीमा आधारित परमाणु हतियार अनुसन्धान
· योगदानः हतियार ट्रिगर प्रणाली निर्माण
· विशेषताः मिसाइल–परमाणु संयोजनमा विशेषज्ञता
५). मोहम्मद मेहदी तेहरान्ची
इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष रहेका तेहरानचीले भौतिकशास्त्र पीएचडी गरेका थिए ।
· मुख्य भूमिकाः वैज्ञानिक शिक्षामा परमाणु अनुसन्धान विषयलाई समावेश गर्ने
· योगदानः नयाँ वैज्ञानिकहरूलाई तालिम, अनुसन्धानको प्रवद्र्धन
· विशेषताः रिएक्टरको थर्मल डिजाइन र शैक्षिक नेतृत्व
७). फेरैदुन अब्बासी
प्राध्यापक समेत रहेका अब्बासी इरानको परमाणु उर्जा संस्थाका पूर्व प्रमुख हुन् । सन् २०१० को बम हमलामा बाँच्न सफल भएका अब्बासी यसपटक भने इजरायली आक्रमणमा ज्यान गुमाउन पुगे।
· मुख्य भूमिकाः परमाणु कार्यक्रमका रणनीतिक योजनाकार
· योगदानः युरेनियम संवर्धन र हतियार विकासमा नेतृत्व
· विशेषताः संयुक्त राष्ट्रसंघको प्रतिबन्धमा रहेका वरिष्ठ वैज्ञानिक
इजरायली आक्रमणमा आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकहरुको मृत्युले तथा आणविक केन्द्रहरुमा पुगेको क्षतिले इरानको आणविक कार्यक्रम, यसको विकास तथा प्रतिरक्षा र प्रत्याक्रमण क्षमतामै दूरगामी प्रभाव पर्ने विश्लेषण गरिएको छ ।
प्रमुख वैज्ञानिकको निधनपछि उसको युरेनियम संवर्धन प्रविधिमा तत्काल प्रभाव पर्नेछ र उत्पादन क्षमतामा गिरावट आउने अनुमान गरिएको छ ।
त्यस्तै उन्नत सेंट्रीफ्यूज (जस्तै:आईआर–८) को विकास पनि तत्कालका लागि अबरुद्ध हुनेछ । साथै आणविक रिएक्टर डिजाइनको निरन्तरतामा पनि अवरोध आउने अनुमान गरिएको छ ।
वैज्ञानिक नेतृत्वको क्षतिले इरानको आणविक नीति निर्माणमा रिक्तता पैदा हुने र खासगरी मोत्तलबीजादेह र मोहम्मद मेहदी तेहरान्ची जस्ता प्रशिक्षकहरूको मृत्युबाट नयाँ आणविक विशेषज्ञ उत्पादनमा पनि समय लाग्नेछ ।
इजरायली आक्रमणबाट इरानको सैन्य रणनीति र हतियार निर्माणमा पनि असर पर्नेछ । परमाणु हतियार निर्माणमा प्रयोग हुने ट्रिगर प्रणालीका विशेषज्ञको हत्याले कार्यविधिमा ढिलाइ हुनुका साथै थ्रेसहोल्ड राष्ट्रको स्थितिमा ईरानको समग्र शान्तिपूर्ण परमाणु कार्यक्रमको यात्रा नै अवरुद्ध हुने जोखिम उत्पन्न भएको छ ।
वास्तवमा इजरायलले हत्या गरेका उल्लिखित ६ जना परमाणु वैज्ञानिक केवल प्राविधिक विशेषज्ञ मात्र थिएनन्, उनीहरू ईरानको परमाणु आकांक्षाका खम्बा थिए ।
इजरायली हमलाले ईरानको आणविक रणनीतिलाई प्राविधिक, संस्थागत र मनोवैज्ञानिक तीनै तहमा असर पारेको छ ।
यस्तो आक्रमणले केवल एक देशको सैन्य रणनीति मात्र होइन, सम्पूर्ण पश्चिम एसियाली भू–राजनीतिमै पेचिलो चुनौती खडा गर्ने र क्षेत्रीय तथा विश्वस्तरीय तनाव पैदा गर्नसक्ने जोखिम रहेको विज्ञहरुको भनाई छ ।
प्रतिक्रिया 4