News Summary
Generated by OK AI. Editorially reviewed.- लम्पी स्किन मुख्य रूपमा गाई र राँगाभैँसीमा लाग्ने संक्रामक भाइरल रोग हो।
- संक्रमित जनावरको मासु खाँदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने भए पनि, मासुमा भाइरसको अंश हुन सक्छ।
- नेपालमा लम्पी स्किन रोग लागेको जनावरको मासु बिक्री र खानु कानुनी रूपमा प्रतिबन्धित छ।
लम्पी स्किन एक संक्रामक भाइरल रोग हो, जुन मुख्य रूपमा गाई र राँगाभैँसीमा लाग्छ । यो रोग लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट सर्ने गर्छ ।
संक्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरण क्षेत्र दाना एवं पानी खाने साझा ठाउँका कारण यो रोग सर्छ ।
साथै प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोग गर्दा पनि यो रोग सर्न सक्छ।
लम्पी स्किन हुँदा गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरका साह्रा र गोला गाँठा हुन्छन् । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ ।
लम्पी स्किन रोग लागेको पशुको मासु खाए के हुन्छ ?
लम्पी स्किन रोग लागेको पशुको मासु खाँदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ वा छैन भनी वैज्ञानिक प्रमाण हालसम्म भेटिएको छैन । पशु चिकित्सक डा. विनय कुमार कर्णका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजिज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन । तर रोग लागेको जनावरको मासुमा भाइरसको अंश हुन सक्छ ।
यो रोग मान्छेमा सर्छ भन्ने वैज्ञानिक प्रमाण नभए पनि लम्पी वा कुनै पनि प्रकारको रोग लागेका पशुको मासु खान नहुने कर्णले बताए।
‘लम्पी स्किन रोग लागेका जनावरको मासुमा गाँठा वा घाउहरू हुन सक्छ, जसले मासुको गुणस्तर र स्वादलाई असर गर्न सक्छ’
यस्तो मासु खान योग्य नहुन सक्छ’ कर्ण भन्छन्, ‘यदि जनावर रोगग्रस्त छ भने, मासुमा अन्य जीवाणु वा परजीवीको सम्भावना हुन सक्छ ।’
यस्तो मासु खाँदा खानाजन्य रोग लाग्ने जोखिम रहने कर्णले बताए । त्यसैले लम्पी स्किन रोग लागेको जनावरको मासु खानुबाट जोगिनु पर्ने उनको सुझाव छ ।
‘रोगग्रस्त जनावरको मासु बिक्री गर्नु वा खानु धेरै देशहरूमा कानुनी रूपमा प्रतिबन्धित हुन सक्छ’ कर्ण भन्छन्, ‘नेपालमा पनि पशु स्वास्थ्य नियमहरूले यस्तो मासुको विक्री वा उपभोगलाई नियमन गरेको छ।’
हालसम्मको अनुसन्धानमा लम्पी रोग प्रत्यक्ष मानिसमा सर्ने ठोस प्रमाण फेला परेको छैन । तर, लम्पी स्किन रोगबाट प्रभावित जनावरमा‘स्टेफिलोकोकस’ र ‘स्ट्रेप्टोकोक’ जीवाणुहरूको संलग्नता हुन्छ । यस्ता ब्याक्टेरियाले अन्य संक्रमणहरू निम्त्याउन सक्ने र यो खाद्य विषाक्तताको कारण बन्न सक्ने खाद्य अनुसन्धान अधिकृत प्रतीक जोशी बताउँछन् ।
उनी भन्छन् ‘यो रोग निको पार्न जनावरलाई दिइने औषधि र एन्टिबायोटिकको अवशेष मासुमा रहन सक्छ । जुन मासु सेवन गरियो भने यसले मानवमा एन्टिबायोटिक रेजिस्टेन्स निम्ताउन सक्छ । साथै एलर्जी वा दीर्घकालीन विषाक्तता पनि निम्त्याउन सक्छ ।’
बिरामी जनावरको मासुमा प्रोटिन, भिटामिन र खनिजको मात्रा घट्छ । यस्तोमा हामीले पोषणको लागि खाने मासुमा पोषणको पर्याप्त मात्रा नहुन सक्छ । साथै बिरामी जनावरको मासु खाँदा फुड पोइजनिङ तथा पाचन सम्बन्धी अन्य समस्या निम्तने जोखिम पनि बढी हुने जोशीले बताए ।
प्रतिक्रिया 4