
News Summary
Generated by OK AI. Editorially reviewed.- भुवन चन्दले कलाकारितामा समर्पण गरी ऐतिहासिक व्यक्तित्वको उपाधि प्राप्त गरिन्।
- सन् २०२० मा निर्माण भएको नेपाली पहिलो फिल्म ‘आमा’ मा उनले नायिका भूमिका निर्वाह गरिन्।
- उनी नेपाली चलचित्र क्षेत्रमा प्रेरणा र सम्मानको स्रोत हुन्।
इतिहास लेखिएला भन्ने लोभले होइन, कलाकारिताको भोक मेटाउन र आफूले चाहेको विधाको मोह पुरा गर्न अनि त्यो विधालाई निरन्तरता दिन भुवन चन्द अभिनय क्षेत्रमा लागि परेकी थिइन् ।
अन्ततः समय अनि त्यो विधाप्रतिको समर्पण र प्रतिकूल अवस्थामा पनि कलाकारितामा लागेकै कारण ऐतिहासिक व्यक्तित्वको उपाधि पाइन् उनले । फलस्वरूप आज इतिहास लेख्न सफल भुवन पहिलो नेपाली फिल्म ‘आमा’को पहिलो नायिकाको रूपमा स्थापित बनिन् ।
सन् १८७८ मा विश्वमा फिल्म निर्माणको सुरुवात भएपनि नेपालमा भने धेरैपछि मात्र निर्माणको सुरुआत भएको देखिन्छ । नेपालमा निर्माण भएको पहिलो फिल्म ‘आमा’ २०२० सालमा निर्माण भएको थियो ।
यो फिल्म २०२२ सालमा प्रदर्शनमा आएको थियो । इतिहास निर्माणको सुनौलो यात्रा कमैले मात्र तय गर्ने गर्छन् । इतिहासमा नाम लेख्ने अहोभाग्य थोरैले मात्र निर्माण गर्ने अवसर पाउँछन् । भुवनले त्यो इतिहास रचिन् ।
असार १ गते उनको जन्मदिन । ऐतिहासिक व्यक्तित्व चन्दलाई जन्मदिनको शुभकामना !
भुवनले ४ वर्षको उमेरमै बालकृष्ण समको नाटक ‘अन्धवेग’मा बालकलाकारको भूमिका निर्वाह गरेकी थिइन् । उस्ताद भैरवबहादुर थापाकी छोरी भुवनको पारिवारिक माहोलको संगीत विधाको भए पनि उनको झुकाव भने अभिनयमा धेरै थियो ।
‘हुन त गीत पनि धेरै गाएँ, तर मन नै अभिनयमा भएका कारण गीतसंगीतमा धैर्यता नै भएन, अभिनयतिर होमिएँ’, उनी सम्झन्छिन् । सन् २००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मिएकी भुवनले ३ दर्जनको हाराहारीमा फिलममा सानदार उपस्थिती जनाएकी छन् ।
त्यति नै संख्यामा नाटकमा पनि आफूलाई रंगमञ्चतिर प्रस्तुत गरिसकेकी छन् । उनले काम गरेकी रेडियो नाटक र टेलिफिल्मको संख्या पनि दुई दर्जनभन्दा बढी छन् ।
फिल्म ‘आमा’मा नायिकाको रूपमा छनोट हुँदाको क्षणलाई भुवन यसरी सम्झिन्छन्, ‘विदेशमा चलचित्र बनिरहेका थिए । नेपालमा पनि कलाप्रेमी राजा महेन्द्रको पहलमा चलचित्र निर्माण हुने खबर पाएँ । तत्कालीन सूचना विभागले चलचित्र निर्माण गर्न लागेको र नायिका छनोट गरिरहेको जानकारी पाएँ ।’
अघि भनिन्, ‘म पनि अन्तर्वार्ता दिन गएँ । त्यति बेलासम्म म नाटकमा व्यस्त भइसकेको थिएँ । मलाई त्यो कुराले पनि आमा चलचित्रमा नायिकाको रूपमा छनोट हुन मद्दत गर्यो ।’
नेपाल र भारतमा छायांकन गरिएको चलचित्र ‘आमा’को प्रदर्शन २०२२ सालमा भएको थियो । यो चलचित्र अवलोकनपछि तत्कालीन राजा महेन्द्रले अभिनेत्री चन्दलाई कुनै भारतीय नायिकाभन्दा कम छैनन् भनेर तारिफ गरे । त्यो क्षणलाई आज पनि उनले बिर्सिएकी छैनन् ।
कला विधामा लागेकालाई प्रेरणा, उत्साह र हौसला दिने संस्कार थियो त्यति बेला । ‘तर आजकल मुलुकको जिम्मा लिएकालाई न त कला विधाप्रति चासो छ, न त यो क्षेत्रको चिन्ता नै । कलाकारको कला हेरेर स्यावासी दिने संस्कार पनि छैन आजकल’, भुवनको चित्त दुःखाइ छ ।
श्रीमान् माइकललाई सफलता, लगाव, निरन्तरता र प्रेरणाको स्रोत मान्छिन् भुवन । तत्कालीन अवस्थामा महिलालाई अभिनय क्षेत्रमा लाग्न समाज र परिवारबाट साथ मिल्दैनथ्यो ।
त्यस्तो प्रतिकूल अवस्थामा पनि भुवनले अभिनय विधामा लागेर हात पारेको सफलता र वाहवाही कम गौरबको विषय होइन । भुवनले अभिनय गरेका हरेक फिल्ममा समाजको कथा, व्यथा र अवस्थाका बारेमा चर्चा गरिएका हुन्छन् । यस्तै विषयवस्तुमाथि आधारित फिल्ममा मात्र काम गर्छिन् उनी ।
‘ममाथि नेपाली सिनेमाको एउटा कालखण्ड समाहित छ । मलाई यो देश र सिनेमा क्षेत्रले हेर्ने नजर र दिएको सम्मान विशिष्ट छ । यसको मान र इज्जत राख्न जीवनभर लागिरहने छु’, उनी भन्छिन् ।
आफ्नो अभिनयमार्फत मनोरन्जनका साथै चेतना प्रवाह गर्ने कार्यलाई पनि भुवनले आजपर्यन्त छाडेकी छैनन् । उनी नेपाली चलचित्र क्षेत्रकी एक होनहार धरोहर हुन् । उनी नेपाली चलचित्र कर्ममा लागि परेका र आउन चाहेको पुस्ताको लागि प्रेरक व्यक्तित्व अवश्य हुन् ।
भुवन पछिल्लोपटक फिल्म ‘सेल्फी किङ’मा देखिएकी थिइन् ।
प्रतिक्रिया 4