+
+
Shares
ओटीटी संवाद :

‘हंगामा नेपालको ओटीटी बजारमा लगानी गर्न उत्सुक छ’

हामी नेपाली कलाकार, संगीतकारसँग काम गर्न चाहन्छौं जसले नयाँ नेपाली कन्टेन्ट सिर्जना गरिरहेका छन् र हामी यसलाई कसरी स्पोटीफाई, जियो, साभन र एप्पल म्युजिकजस्ता स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराउन सक्छौं भनेर लागिरहेका छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘हंगामा डिजिटल मिडिया इन्टरटेनमेन्ट’ का सीईओ सिद्धार्थ रोयले नेपालमा ओटीटी बजार र नेपाली सामग्रीको सम्भावना हेर्न काठमाडौं आएका थिए।
  • उहाँले नेपाली र भारतीय सामग्रीलाई नेपाली सबटाइटलसहित ल्याउने र स्थानीय सिर्जनाकर्ता र टेलिकमसँग साझेदारी गर्ने योजना बताउनुभयो।
  • सिद्धार्थ रोयले नेपालमा डिजिटल र मोबाइल–आधारित मनोरञ्जनको भविष्य उज्जवल देख्दै नेपाली समुदाय र डायस्पोरालाई लक्षित गर्न चाहन्छन्।

भारतको अग्रणी डिजिटल इन्टरटेनमेन्ट कम्पनी ‘हंगामा डिजिटल मिडिया इन्टरटेनमेन्ट’का प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ रोय केही दिनअघिसम्म काठमाडौंमा थिए । भारतको चर्चित ओटीटी प्लाटफर्मका सीइओको आगमनको उद्देश्य नेपालमा ओटीटी बजारको खोजी, नेपाली टेलिकम सेवाप्रदायकसँग छलफल र नेपाली संगीत, सिरिज र फिल्म कन्टेन्टबारे सम्भाव्यताको खोजी थियो ।

नेपालमा ओटीटी प्लाटफर्मको बजार र प्रभाव विस्तार हुँदै गइरहेको सन्दर्भमा अनलाइनखबरकर्मी विष्णु शर्माले सीइओ रोयसँग काठमाडौंमा संवाद गरेका थिए :

तपाईंको नेपाल आगमनको उद्देश्य के थियो ? यहाँको ओटीटी र डिजिटल मनोरञ्जन क्षेत्रमा तपाईं कस्तो सम्भावना देख्नुहुन्छ ?

हेर्नूस, भारत र नेपाल सधैं नजिक छन् । हामी लगभग एक किसिमको भाषा बोल्छौं, हामी मनोरञ्जनको कुरा पनि समानरुपले उपभोग गर्छौं । २५ वर्षभन्दा बढी समयदेखि हङ्गामा प्लाटफर्म संगीत वितरण र भिडियो प्लाटफर्मको मामिलामा अग्रणी छ । यी अवसरलाई हामी अब नेपालको दृष्टिकोणबाट हेर्न चाहन्छौं ।

त्यसैले, हामीले यसलाई नेपालमा नेपाली कन्टेन्ट सिर्जना गर्ने अवसरको रुपमा हेरिरहेका छौै । नेपाल बाहिर धेरै ठूलो संख्यामा नेपाली डायस्पोरा पनि छ । भारतमा पनि नेपाली डायस्पोरा ठूलै छ । त्यहाँ धेरै ठूलो संख्यामा भारतीय नेपाली समुदाय पनि छ जो नेपाली बोल्छन् । मध्यपूर्व, अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, अमेरिकामा पनि नेपाली समुदाय छ । हंगामाजस्ता कम्पनीहरूका लागि नेपाली बजारमा कन्टेन्ट सिर्जनाकर्ता, कलाकारसँग काम गर्ने ठूलो अवसर छ । हामी नेपालको ओटीटी बजारमा लगानी गर्न अघि बढेका छौं ।

हंगामाले नेपाली बजारको लागि स्थानीय प्रयोगकर्ताको रुचीअनुसार कसरी काम गर्ने योजना बनाएको छ- चाहे त्यो कन्टेन्ट होस्, भाषा वा प्रयोगकर्ताको अनुभव नै किन नहोस् ?

‘हंगामा’का उत्पादनलाई हिन्दीमा सजिलै अनुवाद गर्न सकिन्छ जुन देवानगरी लिपीमा छ, जसलाई नेपालीले पनि पढ्छन् र पालना गर्न सक्छन् । हामीले बनाउने भारतीय सामग्री हंगामा ओरिजिनल अन्तर्गत उपलब्ध छन्् । हामीले बनाउने सबै सामग्री सबै हिन्दीमा छन् । हामीसँग नेपाली सब-टाइटल ल्याउने क्षमता पनि छ । हामी नेपालमा कन्टेन्ट सिर्जना गर्न धेरै उत्सुक छौं जुन हामी भारत र विश्वभर लैजान सक्छौं । त्यसैले नेपाली सब-टाइटलसहित भारतीय कन्टेन्ट ल्याउनुबाहेक हामी स्थानीय सामग्री पनि सिर्जना गर्न चाहन्छौं, जसलाई हामी नेपाल बाहिर लैजान चाहन्छौं । हामी यसलाई नेपालका स्थानीय उपभोक्तालाई पनि दिन सक्षम छौं ।

हंगामाको बजार विस्तार गर्ने रणनीतिमा नेपाली निर्माता र निर्माता कम्पनीहरूको कस्तो भूमिका रहेको देख्नुहुन्छ ?

‘हंगामा’ सँधै स्थानीय सिर्जनाकर्ता र स्थानीय निर्माण कम्पनीसँग काम गर्छ । भारतमा पनि हंगामाले भिडियो र भिडियो बजारमा दुवैसँग पक्षसँग साझेदारी गरेको छ । हामीले निर्माण कम्पनी र कलाकारसँग व्यापक रूपमा साझेदारी गरेका छौं जहाँ विगत पाँच वर्षमा हंगामाले ६५ भन्दा बढी कार्यक्रमहरू सिर्जना गरेको छ ।

हामी अहिले २४ वटा नयाँ मौलिक कन्टेन्ट उत्पादनमा काम गर्दैछौं । यी मौलिक कन्टेन्ट सबै हिन्दी भाषामा सिर्जना भइरहेका छन् । त्यसैले, हामी उत्पादन गृह र कलाकारसँग धेरै नजिकबाट काम गर्छौं । हामी नेपालमा पनि उही अवसर हेर्न चाहन्छौं ।

संगीतको पक्षमा हामी कलाकार, संगीतकारसँग काम गर्न चाहन्छौं जसले नयाँ नेपाली कन्टेन्ट सिर्जना गरिरहेका छन् र हामी यसलाई कसरी स्पोटीफाई, जियो, साभन र एप्पल म्युजिकजस्ता स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराउन सक्छौं भनेर लागिरहेका छौं । त्यसैले हाम्रो उद्देश्य संगीत क्षेत्रका साथै ओटीटी र भिडियो क्षेत्र दुवैलाई हेर्नु हो जहाँ स्थानीय नेपाली कन्टेन्ट सिर्जना गर्ने अवसर छ ।

मलाई विश्वास छ कि नेपाली सामग्रीलाई क्षेत्रीयरूपमा मलेसिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, मध्यपूर्व, भारतमा ल्याउने ठूलो अवसर छ किनभने त्यहाँ एउटा ठूलो समुदाय छ, नेपाली समुदाय । युवाहरू नेपाली समुदायमा काम गर्ने उमेर समूहका व्यक्ति हुन् । उनीहरू कमाइरहेका छन् ।

यदि त्यसो हो भने, तपाईंहरूले खास नेपाली संगीतकर्मीसँग यसबारे सहकार्यको निधो गर्नुभएको छ ?

हामी स्थानीय नेपाली कथा भन्नको लागि स्थानीय साझेदारसँग काम गर्ने बारेमा सोचिरहेका छौं । त्यसैले, यो अवसर भनेको हामी स्थानीय नेपाली कथाहरू सिर्जना गर्न चाहन्छौं । हामी भोजपुरी, बंगाली, आसामी, उडिसा भाषामा धेरै क्षेत्रीय सामग्री पनि ल्याउँछौं । ती सबै सामग्री, जुन हामीले क्षेत्रीय सामग्रीको दृष्टिकोणबाट ल्याउँछौं र त्यो यहाँ पनि उपलब्ध छ । त्यसैगरी, हामी स्थानीय बजार र अन्तर्राष्ट्रिय बजार दुवैको लागि नेपाली सामग्री निर्माण गर्न चाहन्छौं ।

दक्षिण एसियामा डिजिटल सामग्रीको बढ्दो खपतलाई ध्यानमा राख्दै, हंगामाले नेटफ्लिक्स वा अमेजन प्राइमजस्ता विश्वव्यापी ओटीटी प्लाटफर्मभन्दा कसरी आफूलाई फरक स्थानमा राखिरहेको छ ?

हामी हङ्गामालाई एक स्थानीय दक्षिण एसियाली कन्टेन्ट प्रोभाइडरको रूपमा हेर्न चाहन्छौं । हामीले हाम्रो उत्पादनलाई स्थानीयरुपमा अनुकूलित गरेका छौं । हामीले विकास गर्ने सबै सामग्रीमा स्थानीय कथाहरू भन्छौं । हामी भारतीय सन्दर्भबाट स्थानीय कथाहरू भन्न खोजिरहेका छौं ।

यो ठ्याक्कै त्यस्तै कुरा हो जुन हामी नेपालमा पनि गर्न चाहन्छौं । हामी नेपालीमा स्थानीय कथा भन्न चाहन्छौं । हामी हामो कन्टेन्टलाई दर्शकसँग अपनत्व दिलाउन चाहन्छौं । हामी कन्टेन्टको जनरा र सेवा दिन चाहेका ग्राहकको स्वभाव र रुचीमा केन्द्रित हुन्छौं । हामी स्थानीय भाषामा उपभोक्तालाई उत्कृष्ट मनोरञ्जन दिन चाहन्छौं ।

यस भ्रमणको क्रममा तपाईंले नेपाली टेलिकम संचालक वा सामग्री सिर्जनाकर्तासँग कुनै विशेष साझेदारीको खोजी गरिरहनुभएको छ ?

हो, हामी अहिले भेट्दैछौं । स्पष्ट रूपमा एनसेलसँग लामो समयदेखिको सम्बन्ध छ । हाम्रो संगीत सीआरबीटी रिङ ब्याक टोन सेवा अन्तर्गत उपलब्ध छ । हामीले एनसेलसँग साझेदारी गरेको १० वर्षभन्दा बढी भइसक्यो । हामीले एनसेलसँग भिडियो र ओटीटी सेवाहरू ल्याउने कुरामा विचार गरिरहेका छौं । हामी उनीहरूसँग साझेदारी गर्ने विचार गरिरहेका छौं । हामी एनसेलसँग भेट्न र त्यो अवसरको खोजी गर्न यहाँ आएका छौं ।

हामीलाई विश्वास छ कि टेलिकम र ओटीटी सेवाबीच ठूलो साझेदारी छ जुन स्थानीय सामग्री उत्पादन गर्न, कलाकार, निर्मातालाई स्थानीय कथा सिर्जना गर्ने मौका दिनेतर्फ केन्द्रित छ । त्यो सम्पूर्ण अनुभव हामी एनसेलसँग सहकार्य गरेर नेपाली ग्राहकसमक्ष ल्याउन चाहन्छौं र स्पष्ट रूपमा यो सामग्रीले विश्वभर जाने मौका पाउँछ ।

नेपाल जस्ता बजारमा प्रयोगकर्ताको ‘मोबाइल–फस्ट’ व्यवहारलाई तपाईं कसरी हेर्नुहुन्छ ? यसले हंगामाको उत्पादन र सामग्री रणनीतिलाई कसरी प्रभाव पार्छ ?

भारत र नेपालमा सबै डिजिटल खपत मोबाइलमा हुन्छ । त्यसैले हामीले सानो स्क्रिनबाट बनाउने सामग्रीलाई जोड दिएका छौं । सानो स्क्रिनबाट ‘बाइट साइज’ सामग्री पनि सिर्जना गर्छौं ।

हङ्गामा ओरिजिनल सिरिजको प्रत्येक एपिसोड १५ देखि २० मिनेटभन्दा बढीको हुनेछैन किनभने हामीलाई थाहा छ कि मानिसले यसलाई मोबाइलमा प्रयोग गरिरहेका छन् । हामीले खिच्ने तरिका र कथा सिर्जना गर्ने तरिका हेर्दा पनि तपाईंले देख्नुहुनेछ कि यसमा लामो सट्हरू हुनेछैनन् । जहाँ तपाईं भिडियोमा के भइरहेको छ भनेर देख्न सक्नुहुन्न । तपाईंले निकै जुम गरिएका सट्मार्फत पनि कथावाचनलाई प्रभावकारी महसुस गर्न सक्नुहुनेछ । त्यसैले हाम्रो ग्राहकले आफ्नो फोनमा ओटीटी अनुभवको मनोरञ्जन उपभोग गरिरहेको छ । त्यो अनुभवलाई पूर्णरूपमा स्थानीय बनाउन हामी लागिरहेका छौं ।

हंगामा जस्तो विश्वव्यापी डिजिटल प्लेटफर्ममा क्षेत्रीय सामग्री- विशेष गरी नेपाली संगीत, चलचित्र वा छोटो-रूपको कथावाचनमा, तपाईं कस्ता अवसरहरू देख्नुहुन्छ ?

आज नेपाली उपभोक्ता विश्वभरि छरिएका छन् । मलाई विश्वास छ कि नेपाली सामग्रीलाई क्षेत्रीयरूपमा मलेसिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, मध्यपूर्व, भारतमा ल्याउने ठूलो अवसर छ किनभने त्यहाँ एउटा ठूलो समुदाय छ, नेपाली समुदाय । युवाहरू नेपाली समुदायमा काम गर्ने उमेर समूहका व्यक्ति हुन् । उनीहरू कमाइरहेका छन् । तिनीहरूसँग यी सेवाको लागि भुक्तानी गर्ने क्षमता पनि छ । तिनीहरू आफ्नो बजारबाट स्थानीय सामग्री हेरिरहेका छन् । हंगामा नेपाल बाहिरका नेपाली उपभोक्तालाई यो सेवा दिन निकै उत्सुक छ ।

नेपालजस्ता उदीयमान बजारमा ओटीटी प्लेटफर्मको लागि मनिटाइजेसनका चुनौती र सम्भावित समाधानबारे के भन्नुहुन्छ ?

हामी सबैले महसुस गरेका छौं कि ठूलो संख्यामा रहेका उपभोक्ताले बजारमा भुक्तानी गर्नुपर्ने कुरा चुनौतीपूर्ण छ । यो परिस्थिती हेरेर हंगामाले मूल रूपमा साना प्याकहरू सिर्जना गरेका छौं । प्रयोगकर्तालाई उनीहरूले हेर्न चाहेको सामग्री छनोट गर्न, एक हप्तासम्म हेर्न सक्षम बनाउन र उत्पादनको दृष्टिकोणबाट अर्को हप्तामा रुचि नभएमा भुक्तानी नगर्ने कुरामा निर्णय गर्ने वातावरण हामीले बनाएका छौं ।

आज हंगामाको ओटीटीमा तपाईंले प्राविधिक रूपमा एक हप्ताको लागि प्याक किन्न सक्नुहुन्छ । त्यसैले, एक हप्ताको लागि तपाईंले हामीलाई चाहे जति हेर्न सक्नुहुन्छ र त्यसपछि हामीलाई भुक्तानी गर्न बन्द गर्न सक्नुहुन्छ ।

त्यसैले, हामीले एनसेलसँग पनि यस्तै शैलीमा काम गर्न गैरहेका छौं । एनसेलसँग हामी दैनिक, मासिक र त्रैमासिक प्याक बनाउनेछौं । यसले नेपाल र भारतजस्ता विकासशील बजारमा उपभोक्तालाई थोरै रकम तिर्न र सामग्री अनुभव गर्न सक्षम हुने मौका दिन्छ । यदि उनीहरूले चाहन्छन् भने उनीहरूले सेवाको लागि थप भुक्तानी गर्न जारी राख्न सक्छन् ।

हंगामाले प्रयोगकर्ताको संलग्नता र अवधारणा बढाउन एआई, डेटा एनालिटिक्स वा त्यसलाई वैयक्तिक तुल्याउन कसरी काम गर्छ ?

यो सबै हंगामाको सुविधा र प्लेटफर्ममार्फत ल्याइएको हो । जब तपाईं हाम्रो ओटीटीको सामग्री उपभोग गर्नुहुन्छ, हामी अनुभवलाई व्यैक्तिक तुल्याउँछौं । तपाईंको अनुभव मेरोभन्दा फरक हुनेछ । जब तपाईं मेरो एपमा आउनुहुन्छ र एप उपभोग गर्न थाल्नुहुन्छ, पछाडिको भागमा बसेर मैले तपाईंको उपभोग बानी कस्तो छ भनेर सिक्दैछु । त्यसैले, तपाईंको होम पेज मेरो होम पेजभन्दा धेरै फरक छ । तर मेरो होम पेज उपभोग बानी फरक हुन सक्छ । यहाँ एआई र डेटा एनालिटिक्स आउँछन् ।

हामीलाई थाहा छ कि नेपाल सरकारले सम्पूर्ण अर्थतन्त्रलाई डिजिटलाइज गर्न जोड दिइरहेको छ । यसले निश्चित रूपमा डिजिटल उपभोगलाई मद्दत गर्नेछ । त्यो कथाको एउटा भाग हो । दोस्रो कुरा, हामीसँग युवा जनसंख्या छ ।

हामी यसलाई व्यापक रूपमा प्रयोग गर्छौं ताकि हामी ‘कार्ट कन्जुमर’लाई बढीभन्दा बढी कन्टेन्ट विक्री गर्न र त्यतातिर आकर्षित गर्न सकौं । यसले धेरै रोचक वैयक्तिक यात्राको अनुभव दिलाउँछ ।

हंगामाले यसमा असाधारण ढंगले काम गरिरहेको छ । अहिले हंगामाका सेवामा २५० भन्दा बढी खण्ड छन् जुन हामी डेटा विश्लेषणमार्फत गर्छौं । उदाहरणका लागि तपाईंले अपराध कार्यक्रम हेर्नुभयो भने तपाईंले के हेर्नुहुन्छ, भन्ने कुरा थाहा हुन्छ ।

तपाईं एक ग्राहक हुनुहुन्छ र क्राइम सम्बन्धी कार्यक्रम मात्र हेर्नुहुन्छ भने तपाईंले ‘स्क्रिन स्क्रोल’ गर्दा अपराध कार्यक्रमका नोटिफिकेसन पाउनुहुन्छ । तपाईं त्यो सूचना पाउने पहिलो व्यक्ति हुनुहुन्छ । म रोमान्टिक कन्टेन्ट हेरिरहेको हुन सक्छु, मैले त्यो सूचना पाउने छैन । त्यसैले हामीले उपभोक्ताको उपभोग बानी सिक्न र तपाईंलाई टिकाइराख्न एआईको प्रयोग गर्छौं ।

तपाईं दक्षिण एसियाली डिजिटल मनोरञ्जनको भविष्य कसरी कल्पना गर्नुहुन्छ र नेपाल त्यो कथामा कहाँ फिट हुन्छ ?

मलाई लाग्छ नेपालमा ठूलो अवसर छ । भारतमा जस्तै विगत ५/६ वर्षमा हामीले हाम्रो भुक्तानी प्रणालीमा भएको सम्पूर्ण डिजिटलाइजेसन देख्यौं । तपाईंलाई थाहा छ कि आज हामीसँग युपीआई छ । सबै कुरा डिजिटल छ । भारतमा तपाईं आफ्नो फोन प्रयोग गरेर कागती किन्न जान सक्नुहुन्छ ।

मलाई लाग्छ नेपाल जस्ता बजारमा पनि त्यही अनुभव आउन थाल्नेछ । हामीलाई थाहा छ कि नेपाल सरकारले सम्पूर्ण अर्थतन्त्रलाई डिजिटलाइज गर्न जोड दिइरहेको छ ।

यसले निश्चित रूपमा डिजिटल उपभोगलाई मद्दत गर्नेछ । त्यो कथाको एउटा भाग हो । दोस्रो कुरा, हामीसँग युवा जनसंख्या छ । हामीलाई थाहा छ कि यो जनसंख्या मनोरञ्जन उपभोग गर्न चाहन्छ । कनेक्टिभिटी छ । धेरै डेटा उपलब्ध छ । आज भारत, नेपालजस्ता बजारमा विश्वकै सबैभन्दा सस्तो डेटा उपलब्ध छ ।

यसले उपभोक्तालाई धेरै भन्दा धेरै डेटा उपभोग गर्न अनुमति दिइरहेको छ । त्यसैले, मेरो लागि अवसर अपार छ । हंगामा ओटीटीजस्ता कम्पनी नेपालमा आउन सक्छन्, स्थानीय सामग्री सिर्जनाकर्तासँग काम गर्न सक्छन्, प्लेटफर्म साझेदार र एनसेलजस्ता टेलिकम कम्पनीसँग काम गर्न सक्छन् र एउटा इकोसिस्टम सिर्जना गर्न सक्छन् जहाँ हामी सबैले लाभ उठाउन सकौं । जहाँ उपभोक्ताले उत्कृष्ट स्थानीय उत्पादन स्थानीय सेवा पाउँछन् किनभने त्यहाँ स्थानीय कथा छन् जुन हामी भन्न खोजिरहेका छौं ।

एनसेलजस्ता प्लेटफर्म कम्पनीले आफ्नो डेटा नेटवर्कमा धेरै मनोरञ्जन र भिडियो खपत भइरहेको देख्छन् । त्यसैले डेटा र डिजिटलाइजेसनमा वृद्धि भइरहेको छ र नेपाल बाहिर नेपाली कथा हेर्ने ठूलो उपभोक्ता रहेको तथ्य यो हो ।

हामी कसरी नेपाल बाहिरका सम्पूर्ण नेपाली डायस्पोरामा पुग्न सक्छौं र उनीहरूलाई पनि यो सामग्री उपभोग गर्न लगाउन सक्छौं । त्यसैले, धेरै उत्साहित छु । मलाई लाग्छ यो एउटा ठूलो अवसर हो । नेपालमा यहाँ आउनु र यो अवसरलाई सँगै निर्माण गर्ने सोच्नु यो एउटा राम्रो समय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?