
२ असार, काभ्रे । काठमाडौं उपत्यकामा तरकारीको निर्यात गर्ने पाँचखालको तरकारीमा धेरै विषादी हुने चर्चा हुन्थ्यो ।
विषादी धेरै भएको प्रचारका कारण तरकारी नबिकेर सडकमै फाल्नुपरेका घटना पनि छन् । कति तरकारी खेतबारीमै कुहिएर जाने गरेको थियो । तर, विगत तीन वर्षदेखि पाँचखालका तरकारीमा विषादी कम मात्र हैन ‘सेमी अर्ग्यानिक’को रुपमा निर्यात भइरहेको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीका प्राविधिकहरुले कृषकका खेतबारीमै पुगेर परीक्षण गरेको रिपोर्ट सार्वजनिक भएपछि पाँचकालको तरकारी ढुक्कले खान सकिने प्रमाणित भएको हो ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीका प्राविधिकहरुद्वारा सङ्कलित विभिन्न १५ जातका तरकारी परीक्षण गर्दा विषादीको मात्रा प्रतिशत निकै कम देखिएको हो ।
प्रयोगशालाको रिपोर्ट अनुसारनै पाँचखालको तरकारी तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । कार्वानेट र अर्गानोफोस्पेड दुवै विषादी जाँचमा ०.३ देखि ३२ प्रतिशतभन्दा कम विषादी देखाएको छ ।
प्राविधिक टोलीले कार्वानेट र अर्गानोफोस्पेड परीक्षणका लागि पाँचखालका कृषकको खेतबारीमै पुगेर उत्पादित भण्टा, घिरौला, गालेभेंडा, बुलेट खुर्सानी, बन्दा, हरियो फर्सी, भेंडे खुर्सानी, रायोको साग, लौका, तुनेबोडी, काँक्रो, हरियो धनियाँ, भिण्डी, तितेकरेला, सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरेको थियो ।
ती तरकारीमा कार्वानेट परीक्षण गर्दा सरदर ०.२१ देखि १२.२४ प्रतिशत दर देखिएको थियो भने तिनै तरकारीहरुको अर्गानोफोस्पेड जाँचमा ०.३ देखि ३२.३ प्रतिशत दरसम्म देखाएको छ ।
कार्वानेट परीक्षणका क्रममा बन्दामा शून्य दशमलव २१, घिउसिमिमा शून्य दशमलव २१, भण्टामा १ दशमलव ०७, घिरौलामा ५ दशमलव ६, गालेभेंडामा ३ दशमलव ५, बुलेट खुर्सानीमा शून्य दशमलव ३६, हरियो फर्सीमा ४ दशमलव ७ , भेंडे खुर्सानीमा २ दशमलव २, रायोको सागमा १ दशमलव २, तुनेबोडीमा २ दशमलव ९, काँक्रोमा ३ दशमलव ५ हरियो धनियाँमा २ दशमलव ६ प्रतिशत भेटिएको छ । भिण्डीमा २ दशमलव ३, तितेकरेलामा शून्य दशमलव ४ र लौकामा १२ दशमलव २४ प्रतिशत दर विषादी देखिएको छ ।
यस्तै अर्गानोफोस्पेड परिक्षणका क्रममा बन्दामा ४ दशमलव ४, घिउसिमिमा २६, भण्टामा १ दशमलव ३, घिरौलामा ५ दशमलव ६, गालेभेंडामा १ दशमलव २, बुलेट खुर्सानीमा शून्य दशमलव ९, हरियो फर्सीमा ३ दशमलव १ , भेंडे खुर्सानीमा ६ दशमलव ३, रायोको सागमा १ दशमलव ५, तुनेबोडीमा १ दशमलव ५, काँक्रोमा ६ दशमलव २ हरियो धनियाँमा ० दशमलव ३, भिण्डीमा ५ दशमलव ६, तितेकरेलामा ७ दशमलव ६ र लौकामा ३२ दशमलव ३ प्रतिशत दर विषादी देखिएको छ ।
विषादीको प्रतिशतलाई हेर्ने हो भने ३५ प्रतिशतभन्दा कम विषदीलाई खान योग्य मानिने पाँचखाल नगरपालिका कृषि शाखाका प्रविधिक सहायक ज्ञानेन्द्र दाहालले जानकारी दिए ।
विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ ले पनि मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख छ ।
पाँचखालभित्रका तरकोरीको परीक्षणलाई विश्लेषण गर्ने हो भने सेमी आर्गानिकको रुपमा प्रयोग गर्न सकिन्छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीबाट प्राविधिकहरूको टिमले पाँचखाल नगरपालिकामा स्थलगत अनुगमनमा आइरहेको पनि प्रविधिक सहायक दाहालले जानकारी दिए ।
नगरलाई विषदीरहित तरकारी उत्पादनको लागि पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पहिलो कार्याकल देखिनै कार्ययोजना बनाएर पाँचखालमा विषादीरहित ताजा तरकारी उत्पादन र स्वच्छ पिउने पानीलाई पहिलो प्राथमिकता राखेको बताउँदै आएका थिए ।
नगरपालिकाले विगत ३३ वर्ष देखि पाँचखाललाई केन्द्र बनाएर विकास निर्माण साथै हरियाली विस्तार कार्यमा निरन्तर रुपमा कार्य गर्दै आएको लव ग्रीन नेपाल नामक संस्थासँग सहकार्य गरेर पाँचखाल नगरमा उत्पादन हुने ताजा तरकारीमा विषादीरहित बनाउने अभियानमा जुटेको थियो ।
नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिव चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायतका बाली अर्गानिक हुँदै गएका हुन् ।
शाखाका अनुसार पछिल्ला केही वर्षदेखि विषादी प्रयोग कम तथा जैविक विषादीको प्रयोगदर बढ्दै जानुले पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत घट्दै गएको हो ।
यसअघिका वर्षमा पाँचखालको तरकारीमा सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको थियो । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले कृषकलाई जैविक विषादी निर्माणार्थ नियमित तालिम, तरकारी तथा अन्य बालीमा जैविक विषादीको प्रयोग र विद्यालयस्तरदेखिनै विषादीविरुद्धको चेतनामुलक कार्यक्रम, नगरले माटो परीक्षण, माटोको क्षमता सुधारका लागि चुन वितरण लगायतका कार्यक्रमले गर्दा पाँचखाल नगर क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग न्यून बन्दै गएको जानकारी दिए ।
उनको अनुसार पाँचखालको विभिन्न स्थानमा दर्जनौं कृषक पाठशालाको व्यवस्था गरी कृषकहरूलाई आईपीएम तरिकाबाट खेती गराइएको थियो ।
हालसम्म नगरका एक हजार दुई सय अगुवा कृषकले विभिन्न चरणमा उक्त कृषक पाठशालामा अध्ययन गरिसकेका छन् ।
तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै पाँचखाल नगरको सबै क्षेत्रमा जैविक विषादी प्रयोगतर्फ लैजान उनीहरुलाई समय र मौसमको तालिका मिलाएर २२ थरीका आईपीएम प्रविधि पढाईएको थियो ।
‘पाँचखालवासीको मुहारमा खुसी ल्याउनु मेरो प्रमुख उद्देश्य हो, कृषि र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरे, कृषिमा पनि सुखद् रिजल्ट आइरहेको छ भने खानेपानीको काम अन्तिम चरणमा पुगेको छ’, नगरप्रमुख खरेलले भने ।
पाँचखाल जस्तो उर्वरा भूमिमा उत्पादन भएको तरकारी कुनै जमानामा विकेन सडकमा फाल्नु पर्यो भन्ने सुन्दा निकै पिडा भयो । ‘पाँचखालमा उत्पादन भएको तरकारीमा विषादीको मात्रा छ भन्ने दुस्प्रचारले तरकारी नविकेको भन्ने सुन्दा धेरै पिडा भयो, त्यसपछि पाँचखालमा उत्पादन हुने तरकारीमा विषादी रहित बनाउने अभियान लिए, यसमा लव ग्रीन नेपालसंग सहकार्य गरेर अगाडि बढ्दै गर्दाको परिणाम पाँचखालवासीको लागि सुखद् हुन पुग्यो’, नगरप्रमुख खरेलले भने, ‘पाँचखालको तरकारी प्रमुख व्यापारिक केन्द्रहरुमा खोजी-खोजी किन्ने गरेको पछिल्लो अवस्था हाम्रो सफलता हो, नगरवासिको हित हो ।’
पाँचखालको तरकारीमा विषादीको मात्रा कम भएको तीन वर्षदेखि निरन्तर रुपमा पुष्टि भएको छ ।
आगामी कार्य भनेको पाँचखालमा उत्पादन भएको तरकारीको पाँचखालमै नियमित रुपमा परिक्षण गरि ग्रेडिङ्ग‚ लेवलिङ र प्याकेजिङ गरि बजारमा पुर्याउने कार्यलाई अगाडि बढाउनु रहेको खरेलको भनाइ छ ।
यसका लागि आगामी बजेटबाट सुरुवात गर्ने बताए । ‘यसो गर्दा उपभोक्ताले ढुक्कका साथमा उपभोग गर्न पाउनेछन् भने कृषकले उचित दाममा तरकारी बेच्न पाउने छन् । जसले गर्दा पाँचखाल नगरवासिलाई आम्मनिर्भरको लागि बल पुग्नेछ’, खरेलले भने ।
विषादीमुक्त पाँचखाल बनाउने अभियान अन्तर्गत नगरपालिका र लवग्रिन नेपालले विद्यालय तहदेखिनै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित पाँचखाल नगरका १३ सामुदायिक तथा सात निजी माध्यमिक विद्यालयका विद्यार्थीलाईसमेत सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
विद्यार्थीलाई कक्षामै अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यायवरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराउँदै आएको लवग्रिन नेपालका निर्देशक नारायण ज्ञवालीले बताए ।
प्रतिक्रिया 4