+
+
Shares

संसद्‌मा माओवादी लक्षित रास्वपाको नारा : फासफुस सम्झौता चाहिँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसदहरूले सत्तापक्ष र माओवादीबीच भएको दुई बुँदे सम्झौतालाई ‘फासफुस सम्झौता’ भनेका छन्।
  • उनीहरूले नारा लगाइरहेका छन्, ‘फासफुस सम्झौता चाहिँदैन । चाहिँदैन, चाहिँदैन।’

२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको वेल घेराउ र नारावाजी चलिरहेको छ । त्यसक्रममा उनीहरूले विभिन्न नारा लगाइरहेका छन् । एउटा हो– फासफुस सम्झौता चाहिँदैन ।

नेकपा माओवादी केन्द्रले प्रतिपक्षमा रहेका दलहरूको नेतृत्व गर्दै संसद्‌मा भिजिट भिसा प्रकरणको विषय प्रवेश गराएको थियो । जेठ १३ गतेदेखि जेठ ३० गतेसम्म प्रतिपक्षमा रहेका दलहरूले एक भएर संसद्‌मा अवरोध गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय उजागर गरेको थियो । त्यसपछि माओवादी सहितका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गरेका थिए ।

यो विषयमा संसदीय छानविन समिति गठन हुनुपर्ने वा उच्च स्तरीय न्यायीक छानविन समिति गठन हुनुपर्ने उनीहरूको माग थियो । यी माग पूरा भएपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र त्यसपछि मात्रै संसद्‌को अवरोध खोल्ने अडान विपक्षमा रहेका दलहरूको थियो ।

यी माग र अडान राखेर १८ दिनसम्म संसद्लाई कार्यसूचीमा प्रवेश गर्न नदिएको माओवादी केन्द्र सत्तापक्षसँग २ बुँदे सम्झौता गरेर सदनको कामकारबाहीमा सरिक भएको छ ।

२ बुँदे सम्झौतामा एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् । त्यसअनुसार सरकारले काम गर्ने प्रतिबद्धता गृहमन्त्री रमेश लेखकले जनाएका छन् ।

सहमतिको पहिलो बुँदामा भिजिट भिसामा हुने अनियमितता र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियारले गरिरहेको अनुसन्धानलाई सरकारले आवश्यक सहयोग गर्ने भनिएको छ ।

दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाको सम्बन्धमा देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक अध्ययन एवं छानविन गर्ने प्रतिवद्धता छ । छानविनपश्चात् नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त ठोस पहल गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ ।

यस्तो २ बुँदे सम्झौताले आफूहरूले उठाएका माग सम्बोधन नगरेको भनेर रास्वपा भने आन्दोलनमै छ ।

यो सहमतिमा आउन माओवादीले रास्वपालाई आग्रह समेत गरेको थियो । तर, रास्वपाले मानेन । बरु आन्दोलन छाड्ने गरी माओवादी केन्द्रले गरेको २ बुँदे सहमतिलाई रास्वपाका सांसदहरूले ‘फासफुस सम्झौता’को संज्ञा दिएका छन् । उनीहरूले नारा लगाइरहेका छन्, ‘फासफुस सम्झौता चाहिँदैन । चाहिँदैन, चाहिँदैन ।’

यसबाहेक संसद्‌मा रास्वपाका सांसदहरूले ‘हाम्रो आन्दोलन जारी छ, मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई संरक्षण बन्द गर, झुटो कति बोलेको ? जनताले छ सुनेको’ भन्ने नारा समेत लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?