News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको कालिका नगरपालिकाले २०८२/०८३ का लागि ९५ करोड ७ लाख २० हजारको बजेट प्रस्तुत गर्यो।
 - बजेटमा संघीय र प्रदेश सरकारबाट विभिन्न अनुदान र आन्तरिक आय समेटिएको छ।
 - नगरपालिकाले कृषिजन्य उत्पादन, सडक मर्मत, शिक्षा र सीप विकासलाई प्राथमिकता दिएको छ।
 
४,असार, चितवन । चितवनको कालिका नगरपालिकाले आव २०८२/०८३ का लागि नीति तथा कार्यक्रमका साथै बजेट ल्याएको छ । जिल्लाका ७ पालिका मध्ये कालिका नगरपालिकाले सबैभन्दा पहिले नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।
नगर उपप्रमुख विमला तामाङ्गले आगामी आर्थिक वर्षका लागि ९५ करोड ०७ लाख २० हजारको बजेट पेश गरेकी छन् ।
बजेटमा संघीय सरकारतर्फ समानीकरण अनुदान १३ करोड ८५ लाख, सशर्त अनुदान २५ करोड ५८ लाख, विशेष अनुदान २ करोड ८५ लाख, समपुरक अनुदान ७३ लाख र राजश्व बाँडफाँटबाट १२ करोड ४६ लाख ९४ हजार रहेको छ ।
यस्तै वागमती प्रदेश सरकारतर्फ समानीकरण अनुदान १ करोड ४० लाख १६ हजार, सशर्त अनुदान २ करोड ५५ लाख २५ हजार, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान २ करोड ३२ लाख, राजश्व बाँडफाँटबाट ५ करोड ७६ लाख ८५ हजार, आन्तरिक आय ७ करोड, जनसहभागिताबाट १ करोड ५० लाख, सडक वोर्डबाट ४० लाख, मालपोत रजिष्ट्रेशन वापत ५ करोड र नदीजन्यवाट २ करोड र चालु वर्षको जिम्मेबारी सर्ने ११ करोडसमेत गरेर सो बजेट प्रस्तुत गरिएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राख्दा चालु आर्थिक बर्षको जेठसम्म जम्मा ४ करोड ६७ लाख मात्रै राजश्व संकलन भएको छ । चालु आव मा ६ करोड राजश्व संकलन हुने अनुमान नगरपालिकाको थियो ।
चालु आर्थिक वर्षको जेठसम्म चालु खर्च ४९करोड ७१ लाख अर्थात ७२.३४ प्रतिशत र पूँजीगत ४३ करोड २६ लाख ९ हजार अर्थात ४२.७७ प्रतिशत पुगेको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए । नगरपालिकको कुल खर्च ५८.८५ प्रतिशत पुगेको छ ।
नगर प्रमुख विनोद रेग्मीले नगरसभामा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका मुख्य कृषिजन्य उत्पादन मह, च्याउ, केरा, कोदो, फापर, पिडालु र तोरी उत्पादनलाई प्राथमिकतामा राखिएको बताए ।
उनले पालिका भित्र हुने विषादीको प्रयोगलाई घटाउन ठोस कदम चाल्ने भन्दै ‘कालिकाको सान, विषादीमुक्त खानपान’ भन्ने नारालाई जोड दिइने बताए । नगरपालिकाले नगरभित्र बिग्रने सडकलाई तत्काल मर्मत गर्न सडक मर्मत कोष स्थापना गर्ने नीति लिएको छ ।
पालिकाको दुर्गम वडाका सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई पढ्ने सहजताका लागि छात्राबासको प्रबन्ध गर्ने, छात्राबास तथा विद्यालयहरूमा निःशुल्क खाना, वस्न र पठनपाठनको व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिने, नगरक्षेत्रभित्रको सीप कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नको लागि कालिका कला केन्द्रको विकास तथा प्रवद्र्धन गर्ने योजना बजेटमा समेटिएको छ ।
प्रत्येक शुक्रबार विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप र परियोजना कार्य सञ्चालन गरी शुक्रबारलाई विद्यालयमा किताब विहिन दिन बनाउने, महिला, बालबालिका, एकल महिला अपाङ्गता भएका व्यक्ति, विपन्न असहाय, दलित आदिवासी, जनजाती तथा सिमान्तकृत समुदायका महिलाहरुलाई टेवा सहित सीपमुलक कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्ने नीति नगरपालिकाले लिएको नगरप्रमुख रेग्मीले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4