+
+
Shares

विकासका लक्ष्य हासिल गर्न सरकार दृढ : अर्थमन्त्री

लगानीको आवश्यकता पूरा गर्न सरकराले वैकल्पिक विकास, वित्त परिचालन सम्बन्धी विधेयक संसदमा पेश गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास र विकास लक्ष्य हासिल गर्न ठूलो लगानी आवश्यक भएको बताए।
  • वैकल्पिक विकास र वित्तीय विधेयक संसदमा पेश गरी विकास वित्तको आवश्यकता पूरा गर्न प्रयास भइरहेको उनको भनाइ छ।
  • उनले नेपाललाई हरित अर्थतन्त्र विकास गर्न र विश्व समुदायको सहयोग आवश्यक रहेको बताए।

५ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्ने दिशामा सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्न ठूलो मात्रामा लगानीको आवश्यकता रहेको पनि बताए ।

लगानीको आवश्यकता पूरा गर्न सरकराले वैकल्पिक विकास, वित्त परिचालन सम्बन्धी विधेयक संसदमा पेश गरेको उनको भनाइ छ ।

‘पछिल्लो समय विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृत्ति र संरचनागत समस्याहरूलाई समेत दृष्टिगत गरी सरकारले विकास वित्तको आवश्यकता पूरा गर्न उक्त विधेयक ल्याएको हो,’ अर्थमन्त्री पौडेलले भने ।

सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशिक सहायता परिचालन नीति २०८२ जारी गरिएको र लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानुन सुधार तथा परिमार्जन गरिएको उनले जानकारी दिए ।

यसबाट वैदेशिक लगानी आप्रवाह तथा निजी लगानी विस्तार भई पूर्वाधार निर्माण आर्थिक क्रियाकलाप विस्तार हुने अपेक्षा रहेको उनको भनाइ छ ।

पौडेलले अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्नुपर्ने उल्लेख गर्दै यसको लागि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधीकरण, बौद्धिक सम्पत्ति संरक्षण र प्रवर्द्धन, दुईपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता एवं प्रभावकारी कार्यान्वयन जोड दिन आवश्यक रहेको धारणा राखे ।

उनले हरित अर्थतन्त्र विकास गर्न जलवायु सम्बन्धी विश्वव्यापी कोषहरूमा पहुँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए । यसका लागि आवश्यक पर्ने उच्च लागत र प्राविधिक दक्षताको लागि नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग र साझेदारी पनि उत्तिकै आवश्यक रहेको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?