+

अपिल कमिटीले उल्टायो निर्णय, थ्री स्टार रेलिगेसनमा

२०८२ असार  ५ गते २०:२९ २०८२ असार ५ गते २०:२९
अपिल कमिटीले उल्टायो निर्णय, थ्री स्टार रेलिगेसनमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघको अपिल कमिटीले एपीएफ क्लबको पक्षमा निर्णय गरेपछि उसले ए डिभिजनमै रहने निर्णय गरियो।
  • विभागीय टोली एपीएफ क्लबले ए डिभिजन क्लबको हैसियत कायम राख्ने भएको हो।
  • थ्री स्टार क्लब भने बी डिभिजनमा घटुवा हुने भएको छ।

५ असार, काठमाडौं । विभागीय टोली एपीएफ क्लबले ए डिभिजन क्लबकै हैसियत पाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको अपिल कमिटीले एपीएफको पक्षमा निर्णय गरेपछि एपीएफ ए डिभिजनमै रहने भएको हो ।

यस्तै थ्री स्टार क्लब भने बी डिभिजनमा घटुवा हुने भएको छ ।

पछिल्लो पटक भएको शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले जावालखेल युथ क्लब विरुद्ध भिसा अवधि सकिएको विदेशी खेलाडी खेलाएको भन्दै एपीएफले एन्फाको अनुशासन कमिटीमा उजुरी हालेको थियो ।

अनुसान कमिटीको निर्णय चित्त नबुझेपछि एपीएफ अपिल कमिटीमा गएको थियो । यो विषयमा लामो समयसम्म निर्णय हुन सकेको थिएन । तर ढिलै भएपनि एन्फाको अपिल कमिटीले एपीएफको पक्षमा निर्णय गर्दा एपीएफले ए डिभिजन हैसियत जोगाएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस विषयमा आधिकारिक धारणा भने सार्वजनिक गर्न बाँकी नै छ । तर क्लब स्रोतले भने एन्फा अपिल कमिटीले यस विषयमा क्लबहरुलाई जानकारी गराएको जनाएको छ ।

अपिल कमिटीले एपीएफको पक्षमा निर्णय गरेपछि एपीएफ थ्री स्टार भन्दा अघि रहँदै ए डिभिजनमै रहने भएको हो । अन्तिम स्थानमा रहेको खुमलटारसँगै थ्री स्टार रेलिगेसनमा पर्ने भएको हो ।

जावलाखेल विरुद्ध जितको नतिजा उल्टिएपछि थ्री स्टारको २६ खेलबाट २९ अंक हुनेछ र १३औं स्थानमा रहनेछ । यसअघि थ्री स्टारले ३२ अंकसहित नवौं स्थानमा लिग सकाएको थियो ।

२६ खेलबाट ३० अंक जोडेको एपीएफ भने अब १२औं स्थानमा रहेर रेलिगेसनबाट जोगिएको हो ।

पछिल्लो पटक भएको ए डिभिजन लिगबाट विभागीय टोली एपीएफ र खुमलटार युथ क्लब अन्तिम दुई स्थानमा रहेर बी डिभिजनमा घटुवा भएको थियो । तर थ्री स्टारले जावलाखेल युथ क्लब विरुद्ध जित हात पार्दा भिसा नभएको खेलाडी खेलाएको भन्दै उक्त खेलको नतिजा जावलाखेलको पक्षमा दिनुपर्ने भन्दै एपीएफले एन्फाको अनुशासन कमिटीमा उजुरी गरेको थियो ।

एपीएफले थ्री स्टारको अंक खोसिँदा आफू ए डिभिजन लिगमै रहने दावी थियो । तर एन्फाले थ्री स्टारलाई कारवाही गर्दै ५० हजार जरिवाना लगाएपनि अंक भने खोसेन ।

यो निर्णयपछि एपीएफ पुन: एन्फाको अपिल कमिटीमा गएको थियो । अनुशासन कमिटीको निर्ण चित्त नबुझेको भन्दै थ्री स्टार पनि पुनरावेदन समितिमा गएको थियो । एन्फा अपिल कमिटीको संयोजकमा अशोक कुमार पोखरेल छन् ।

यो विषयमा लामो समयसम्म निर्णय नहुँदा एन्फाले यसअघि गर्ने भनेको एन्फा कप नकआउट फुटबलमा पनि एपीएफलाई ए डिभिजन क्लबकै हैसियत दिएर समावेश गर्ने निर्णय गरेको थियो । तर उक्त प्रतियोगिता हुन सकेन ।

यस्तै केही समयअघि एन्फाले यो विषय विचारधिन नै रहेकोले एन्फा यू-१६ युथ लिगमा एपीएफलाई सहभागी नगराउने भन्दै छलफलमा बोलाएको थिएन

फिफाको नियमअनुसार एन्फाले निर्णय गरेको भन्दै एपीएफले यसको स्वागत गरेको छ ।

थ्री स्टार र जावालखेलबीचको खेलमा थ्री स्टारले भिसा नभएको दुई विदेशी खेलाडी खेलाएको भन्दै त्यो खेलमा थ्री स्टारको १-० को जितको नतिजालाई रद्द गरेको र जावलाखेलको पक्षमा नतिजा दिँदै थ्री स्टारको ३ अंक घटाएपछि एपीएफ ए डिभिजनमै रहने निर्णय भएको एपीएफ स्रोतले जनाएको छ ।

एन्फाले अपिल कमिटीको निर्णय आज बिहीबार सम्बन्धित क्लबहरुलाई पठाएको थियो । थ्री स्टार क्लबले पनि यो निर्णय पाएपछि यस विषयमा अहिले क्लबको छलफल भइरहेको जनाएको छ ।

के भएको थियो ?

गत जेठ २८ गते दशरथ रंगशाालामा भएको जावालखेल युथ क्लब विरुद्ध लिगको अन्तिम खेल थ्री स्टारका लागि जित्नै पर्ने अवस्था थियो । उक्त खेलमा पराजित भएमा थ्री स्टार रेलिगेसनमा पर्ने थियो ।

यही खेलको नतिजाको आधारमा एपीएफको पनि ए डिभिजनमै रहने वा रेलिगेसनमा पर्ने भन्ने तय हुने थियो ।

उक्त खेल थ्रीस्टारले १-० ले जित्यो र ए डिभिजनमै कायम रह्यो । एपीएफ भने क्लब इतिहासमा पहिलो पटक रेलिगेसनमा पर्‍यो । डबल राउण्ड रोविनका आधारामा चलेको लिगमा अन्तिम खेल जितेपछि थ्री स्टार २६ खेलबाट ३२ अंकसहित नवौँ स्थानमा रह्यो ।

२६ खेलबाट ३० अंक जोडेको एपीएफ भने अन्तिमबाट दोस्रो अर्थात १२औं स्थानमा रहेपछि रेलिगेसनमा परेको थियो ।

त्यसपछि थ्री स्टारले दुई विदेशी खेलाडीलाई बिना भिसा खेलाएको भन्दै एपीएफले एन्फामा उजुरी हालेको थियो । जावलाखेल युथ क्लबविरुद्ध थ्री स्टारले भिसा अवधि सकिएका दुई विदेशी खेलाडी खेलाएको भन्दै एपीएफले उक्त खेलमा जावलाखेललाई विजेता घोषित गरियोस भनेर उजुरी गरेको थियो ।

त्यही उजुरीका आधारमा एन्फाको अनुशासन कमिटीले छानबिन गरी थ्री स्टारले गर्दै गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो । तर त्यसमा एपीएफले चित्त बुझाएन ।

थ्रीस्टार क्लब
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय