+

यू-१६ लिग फुटबलको छलफलका लागि एपीएफलाई बोलाइएन

२०८२ जेठ  १५ गते १२:५८ २०८२ जेठ १५ गते १२:५८
यू-१६ लिग फुटबलको छलफलका लागि एपीएफलाई बोलाइएन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फाले आगामी असारमा सुरु हुने यू-१६ लिगको छलफलका लागि एपीएफ क्लबलाई बोलाएको छैन।
  • एन्फाले एपीएफलाई बी डिभिजन क्लबको रूपमा संकेत गरेको र उजुरीको कारण छलफलमा नबोलाउने निर्णय गरेको हो।
  • एन्फाले एपीएफ र खुमलटारलाई ए डिभिजनकै हैसियतमा राख्ने निर्णय गर्न सकेको छैन।

१४ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी असारमा सुरु गर्ने तयारी रहेको एन्फा यू-१६ लिग फुटबको छलफलका लागि एपीएफलाई बोलाएको छैन ।

एन्फाले शीर्ष डिभिजन लिगको क्लब सहभागि हुने यस युथ लिगको छलफलका लागि यही जेठ १६ गते ए डिभिजन क्लबहरूलाई पत्र पठाउँदै बैठकमा बोलाएको छ ।

जसमा पछिल्लो समयम सम्पन्न ए डिभिजन लिगका शीर्ष १२ टोलीलाई बोलाइएको छ । तर पूछार रहेका दुई टोली एपीएफ क्लब र खुमलटार युथ क्लबलाई बोलाइएको छैन ।

भर्खरै सम्पन्न शहीद स्मारक बी डिभिजन लिगबाट बढुवा भएका प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लबलाई भने छलफलमा बोलाइएको छ ।

एन्फा महासचिव किरण राईले हस्ताक्षर गरेर बुधबार ए डिभिजन क्लबहरूलाई पठाइएको पत्रमा एपीएफको नाम उल्लेख नभएपछि एन्फाले एपीएफलाई बी डिभिजनकै क्लबको रुपमा रहेको संकेत गरेको छ ।

पछिल्लो पटक २०८० सालमा सम्पन्न ए डिभिजन लिगको अन्तिम दुई स्थानमा रहँदै एपीएफ र खुमलटार बी डिभिजनमा घटुवा भएको थियो ।

तर रेलिगेसनबाटै बच्न संघर्ष गरेको थ्री स्टार भिसा अवधि सकिएको विदेशी खेलाडी खेलाएको भन्दै एपीएफले एन्फामा उजुरी हालेको थियो ।

हाल एपीएफ र थ्री स्टार दुवैको उजुरी एन्फा अपिल कमिटीमा रहेकोले अर्को निर्णय नआउँदा सम्म एपीएफलाई बी डिभिजनकै हैसियत दिने तर्फ एन्फाको संकेत देखिएको छ ।

‘थ्री स्टार र एपीएफ दुवैको उजुरी अपिल कमिटीमा रहेको र त्यहाँबाट कुनै निर्णय नआएकोले हाललाई एपीएफलाई छलफलमा नबोलाउने निर्णय भएको छ’ एन्फा प्रवक्ता सुरेश शाहले भने । शाहले लिगको साइकल पूरा भइसकेकोले अहिले सबै डिभिजनमा निश्चित क्लब संख्या रहेको बताए ।

पछिल्लो पटक भएको लिगबाट अंकका आधारमा एपीएफ र खुमलटार बी डिभिजनमा घटुवा भएको थियो । तर थ्रीस्टारले जावालखेलविरुद्ध अवैधानिक खेलाडी खेलाएको र उक्त खेलको नतिजा रद्द गर्दै जावलाखेलको पक्षमा दिनुपर्ने माग गर्दै एन्फामा उजुरी दायर गरेपछि उत्पन्न भएको विवाद अझसम्म साम्य भएको छैन ।

त्यसैले पनि एपीएफको हैसियत कुन डिभिजनमा भन्ने निर्णय हुन सकेको छैन । थ्री स्टारले जावलाखेल युथ क्लबविरुद्ध जित हात पार्दा भिसा नभएको खेलाडी खेलाएको भन्दै उक्त खेलको नतिजा जावलाखेलको पक्षमा दिनुपर्ने भन्दै एपीएफले एन्फाको अनुशासन कमिटीमा उजुरी गरेको थियो । ए

पीएफले थ्रीस्टारको अंक खोसिँदा आफू ए डिभिजन लिगमै रहने दाबी थियो । तर एन्फाले थ्रीस्टारलाई कारवाही गर्दै ५० हजार जरिवाना लगाएपनि अंक भने खोसेन । यो निर्णयपछि एपीएफ पुन: एन्फाको अपिल कमिटीमा गएको थियो । अनुशासन कमिटीको निर्ण चित्त नबुझेको भन्दै थ्रीस्टार पनि अपिल कमिटीमा गएको थियो । तर यो विषयमा एन्फाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।

यो विषय अपिल कमिटीमा रहेको भन्दै एन्फाले अहिलेका लागि एपीएफलाई छलफलमा नबोलाउने निर्णय गरेको छ । तर उजुरी गर्ने अर्को क्लब थ्री स्टारलाई भने बोलाउने जनाएको छ ।

अपिल कमिटीको निर्णय समयमा नआउँदा अन्योलको स्थिती बनेको छ । यसले एपीएफ मात्र नभएर समग्र नेपाली फु६बलको सिस्टमलाई नै असर गरिरहेको छ ।

केही समयअघि एन्फाले आयोजना गर्ने तयारी गरेको एन्फा कप नकआउट फुटबल प्रतियोगितामा भने एन्फाले एपीएफ र खुमलटार सहित समावेश गरेर खेलाउने निर्णय गरेको थियो ।

त्यतिखेर शहीद स्मारक बी डिभिजन लिग सञ्चालन भइरहेकोले एन्फाले एपीएफ र खुमलटारलाई पनि ए डिभिजनकै हैसियतमा एन्फा कपमा सहभागी गराउने निर्णय गरेको थियो । तर अधिकांश ए डिभजन क्लबले उक्त प्रतियोगिता नखेल्ने निर्णय गरेपछि एन्फा कप आयोजना हुन सकेन ।

एन्फाले भविष्यमा एन्फा कप नकआउट फुटबल गर्ने तयारी भने भने गरिरहेको छ ।

एपीएफ फुटबल क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय